‘टिंकर सडकमा बजेट देऊ, कि चुच्चे नक्सा फिर्ता लेऊ’

0
196

दार्चुला, जेठ २२ गते ।
नेपाली काग्रेस दार्चुलाका नेता–कार्यकर्ताहरुले टिंकर सडकमा न्युन बजेट विनियोजनप्रति आक्रोस पोखेका छन् । टिंकर सडकमा बजेट थप्न माग गर्दै बजेट थप नगरे चुच्चे नक्सा फिर्ता गर्न समेत उनीहरुले माग गरेका छन् ।
काग्रेस जिल्ला सभापति ललितसिंह बोहराको नेतृत्वमा विहिवार जिल्ला प्रशासन कार्यालयमा नारासहित सांकेतिक धर्ना दिइएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक योजनामन्त्री र जिल्लाबाट निर्वाचित आफ्नै पार्टीका सांसद दिलेन्द्रप्रसाद बडूलाई पनि ज्ञापनपत्र पठाइएको छ ।
सरकारले जेठ १५ मा प्रस्तुत गरेको नयाँ बजेटमा दार्चुला–टिंकर सडकमा ६ करोड ३१ लाख रुपैयाँ मात्रै बजेट राखेको छ । न्युन बजेट विनियोजनको विरोधमा काग्रेसको जिल्ला पार्टी आफ्नै पार्टी सम्मिलित सरकारको विरोधमा उत्रिएको हो ।
जिल्ला प्रशासन कार्यालय अगाडि नारा र ब्यानरसहित काग्रेसका नेता–कार्यकर्ताहरुले सरकारको विरोध गरेका छन् । ‘कि त सरकार बजेट देऊ, कि त नक्सा फिर्ता लेऊ’ भन्दै काग्रेस नेता–कार्यकर्ताले आक्रोसपूर्ण नारा लगाएका छन् । ‘चुच्चे नक्सा करायो, ओलीको राष्ट्रवाद हरायो’, ‘टिंकर सडकमा यथेष्ट बजेट व्यवस्था गर’, ‘दार्चुला जिल्लालाई अन्याय भयो’, ‘दार्चुलालाई हेर्ने सौतेली व्यवहार बन्द गर’ जस्ता नारा काग्रेसका नेता–कार्यकर्ताहरुले लगाएका छन् ।
नेपाली सेनाबाट निर्माण भइरहेको महाकाली कोरिडोरको तुसारपानी–टिंकर सडक खण्डमा न्युन बजेट विनियोजन भएपछि जिल्लास्तरमा आक्रोस बढिरहेको छ । सर्वाधिक जनसरोकारको विषय भएकोले आफुहरुले यसबारे आवाज उठाएको काग्रेस दार्चुलाका सभापति ललितसिंह बोहराले बताउनुभयो ।
यसअघि बुधवारमात्रै काग्रेस जिल्ला कार्य समितिको बैठक बसी टिंकर सडकबारे संघर्ष गर्ने निर्णय गरिएको थियो । बैठकले सेनामार्फत निर्माण भइरहेको टिंकर सडकलाई सरकारले चरम उपेक्षा गरेको ठहर गर्दै संघर्षका कार्यक्रम तय गरेको जिल्ला सचिव पुलेन्द्रवहादुर कार्कीले बताउनुभयो ।
विहिवार सांकेतिक धर्नापछि प्रजिअमार्फत ज्ञापनपत्र बुझाइएको छ । तत्काल टिंकर सडकमा पर्याप्त बजेट उपलब्ध गराउनुपर्ने आफुहरुको एकसुत्रिय माग रहेको काग्रेसका जिल्ला नेता पुष्करराज जोशीले बताउनुभयो ।
आफ्नै पार्टीको सरकारविरुद्ध संघर्षमा उत्रिनुपर्ने दुखद अवस्था आएको काग्रेस सभापति ललित सिंह बोहराको भनाई छ । ‘टिंकर सडकमा न्युन बजेट विनियोजनको दोष हाम्रो पार्टीले पनि लिनुपर्ने अवस्था आएको छ । प्रधानमन्त्री, अर्थमन्त्री, भौतिकमन्त्री, रक्षामन्त्री एमालेको भए पनि हाम्रो पार्टी पनि सरकारमा छ । तसर्थ यसलाई सच्याएर पर्याप्त बजेट विनियोजनमा सिंगो पार्टीको ध्यानाकर्षण गराउछौं’ ज्ञापनपत्र बुझाएपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा जिल्ला सभापति बोहराले भन्नुभयो ।
टिंकर सडक खण्डमा छुट्टै बजेट शीर्षक निर्धारण गर्ने माग बजेटबाट सम्बोधन भए पनि बजेट अंकले सबैको शिर निहुरिएको काग्रेस दार्चुलाको ठहर छ । टिंकर सडकमा पर्याप्त बजेटको माग सम्बोधन नभएसम्म चरणवद्ध संघर्षका कार्यक्रम गरिने जिल्ला सचिव पुलेन्द्रवहादुर कार्कीको भनाई छ । ‘सरकार र पार्टीभित्र पनि यसका लागि संगसंगै संघर्ष गरिने’ सभापति ललितसिंह बोहराले बताउनुभयो । ‘माग सम्बोधन नभएमा पार्टीको कार्यसमितिको जिम्मेवारीबाट राजिनामा दिनेसम्मको तयारी गरिएको’ उहाँको भनाई छ ।
सुदूरपश्चिम प्रदेश सरकारले पनि सांकेतिक रुपमा टिंकर सडकमा दुई÷चार करोड बजेट विनियोजन गरेर संघीय सरकारलाई दबाव दिनुपर्ने काग्रेस दार्चुलाको ठहर छ । ‘यसका लागि हामी प्रदेश सरकारसंग छलफल गर्छौ र दबावमूलक अवस्था निर्माण गर्छौ’ सभापति बोहराको भनाई छ ।
विहिवारको सांकेतिक धर्ना र ज्ञापनपत्र बुझाउने कार्यक्रममा काग्रेसका नेताहरु करवीरवहादुर कार्की, हरक सिंह विष्ट, सन्तोषकुमार ऐतवाल, पुष्करराज जोशी, राजु अवस्थी, ईश्वरी जोशी, दिपक सिंह खातीलगायत नेताहरुको सहभागिता थियो । व्यास गाउँपालिकाका पूर्व अध्यक्ष दिलिपसिंह बुढाथोकी, वडा नम्बर २ का वडाअध्यक्ष धिरन सिंह बुढाथोकी, काग्रेसका व्यास गाउँपालिका सभापति नरेन्द्र भट्ट पनि सांकेतिक धर्ना र ज्ञापनपत्र बुझाउने कार्यक्रममा सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here