दार्चुला, असार ४ गते ।
नेकपा (एकीकृत समाजवादी) दार्चुलाले दार्चुला-टिंकर सडकमा बजेट थप्न सरकारसंग माग गरेकाे छ । नयाँ बजेटमा आवश्यक रकम विनियोजन नभएको भन्दै मंगलबार सार्वजनिक विज्ञप्तिमार्फत बजेट थपकाे माग गरिएको हाे ।
विगतमा न्यून बजेट विनियोजन भएकोमा नयाँ बजेटले पनि टिंकर सडक निर्माणलाई उपेक्षा गरेकाे नेकपा एसकाे आराेप छ । `वामपन्थीहरूकाे संलग्नतामा बनेकाे सरकारले समेत आवश्यकभन्दा कम बजेट विनियोजन गर्नु दुखद भएको´ नेकपा एसकाे भनाइ छ ।
सरकारमा रहेका पहुचवाला नेताले आफ्नो गृहजिल्लामा व्यापक बजेट राखे पनि अन्तर्राष्ट्रिय सिमाक्षेत्रमा निर्माण भइरहेको टिंकर सडकलाई प्राथमिकता नदिइएको सार्वजनिक विज्ञप्तिमा उल्लेख छ ।
व्यासक्षेत्रका साैका समुदायले भारतिय मार्ग भएर आवतजावत गर्नुपरेकाे अवस्थामा टिंकर सडक निर्माणलाई प्राथमिकताका साथ बजेट दिनुपर्ने नेकपा एसकाे भनाइ छ । कैलाश-मानसरोवरकाे यात्रा समेत सञ्चालन गर्न सकिने भएकोले टिंकर सडक निर्माणमा न्यून बजेट विनियोजनकाे दुखद अवस्थाप्रति ध्यानाकर्षण गराइएको छ ।
नेकपा एसका दार्चुला जिल्ला सहइन्चार्ज गणेशकुमार जाेशी र जिल्ला अध्यक्ष किशन सिंह धामीकाे संयुक्त हस्ताक्षरबाट सार्वजनिक विज्ञप्ति निकालिएको छ । पार्टी कार्यालयमा मंगलवार पत्रकार सम्मेलन आयाेजना गरि विज्ञप्ति सार्वजनिक गरिएको छ ।
केही महिनाअघि तत्कालीन भाैतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासंग लिखित रूपमा टिंकर सडकलाई छुट्टै याेजना बनाइ पर्याप्त बजेट विनियोजन गर्न माग गरिएको जिल्ला सहइन्चार्ज जाेशीकाे भनाइ छ । सरकारमा विभागिय मन्त्री हेरफेर भएपछि आफुहरूकाे माग सम्बाेधन हुन नसकेको र नयाँ बजेटले थप निराश बनाएको उहाँले बताउनुभयो ।
नेकपा एसकाे दशाैं महाधिवेशनमा टिंकर सडक ओझेलमा पारिएको मुद्दा उठाएर पार्टीमार्फत देशकै ध्यानाकर्षण गराउने काममा आफुहरू सक्रिय हुने नेकपा एसका जिल्ला अध्यक्ष किशन सिंह धामीले बताउनुभयो ।