टिंकर सडकमा बजेट छुट्याउदैछौं ः प्रधानमन्त्री

0
93

दार्चुला, वैशाख ३१ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दार्चुला सदरमुकामदेखि उत्तरतर्फ निर्माण भइरहेको टिंकर सडक सरकारको प्राथमिकतामा रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले नयाँ बजेटमा टिंकर सडकलाई प्राथमिकता दिइने संकेत गरेका छन् ।
आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनेक्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् । सांसदहरुका स्पष्टिकरण प्रश्नहरुको उत्तर दिनेक्रममा प्रधानमन्त्री आफैले टिंकर सडकको प्रसंग निकालेका छन् । स्पष्टिकरण प्रश्न सोध्नेक्रममा कुनै पनि सांसदले यसबारे प्रश्न गरेका थिएनन् ।
देशको अन्य भूगोलका सडकहरुबारे जानकारी दिनेक्रममा प्रधानमन्त्रीले मध्यपहाडी लोकमार्गको प्रसंग निकालेका थिए । ‘जुलाघाटबाट सोझै चिवाभञ्ज्याङ पहाडै–पहाड भित्रैभित्र पुग्न सकिन्छ’ प्रधानमन्त्रीको भनाई छ ।
मध्यपहाडी लोकमार्गसंगै प्रधानमन्त्रीले टिंकर सडकको प्रसंग पनि आफै निकालेका छन् । ‘महाकालीको खलंगासम्म त (सडक) पुगिसक्यो त्यहाँबाट माथितिर जाने (टिंकर सडक) पनि हामी बजेट छुट्याइ राख्या छौं’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
टिंकर सडकको नाम नलिइकन प्रधानमन्त्रीले दार्चुला सदरमुकामभन्दा माथिको सडक भनेका छन् । टिंकर सडक निर्माणको पछिल्लो अवस्थाबारे पनि प्रधानमन्त्री ओली अपडेट देखिन्छन् । संसदमा बोल्ने क्रमममा टिंकर सडक निर्माणको काम भइरहेको र डोजर थपिदै गरेको प्रसंग पनि निकालेका छन् । ‘अहिले पनि त्यहाँ काम भइराख्या छ, डोजरहरु जादैछन्, यसरी काम भइराख्या छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
दार्चुलाबाट निर्वाचित सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले पनि सोमबार सामाजिक सञ्जालमार्फत टिंकर सडकमा छुट्टै बजेट शीर्षक र पर्याप्त बजेट विनियोजन गर्न माग गरेका छन् ।
विगत केही वर्षदेखिको प्रयासस्वरुपमा छाङरुमा स्काइभेटर मेसिन ढुवानी गरी सडक निर्माण कार्य सुरु हुन लागेकोमा पनि बडूले खुशी व्यक्त गरेका छन् । टिंकर सडक निर्माणमा दार्चुला र त्यसक्षेत्रका जनतामा आशा र भरोसा जागेको नेता बडूको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here