दार्चुला, वैशाख २९ गते ।
नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–टिंकर सडकमा रक्षामन्त्रीसहित संसदीय समितिको निरीक्षण भ्रमणको तयारी र चर्चा भएको दुई हप्ता बिते पनि भ्रमण हुनसकेको छैन । वैशाख १७ गते हुने भनिएको निरीक्षण भ्रमणको मिति मात्रै चार पटक सारिएको छ ।
वैशाख ७ गते आयोजित संसदको सुशासन तथा राज्यव्यवस्था समितिको बैठकमा दार्चुला–टिंकर सडकबारे छलफल भएको थियो । त्रिदेशीय सिमाक्षेत्रमा निर्माण भइरहेको र राष्ट्रिय स्वाभिमान पनि जोडिएको सडक भएकोले यसको निर्माणले तिब्रता नपाएकोबारे बैठकमा छलफल गरिएको छ ।
संसदीय समितिमा सदस्यसमेत रहनुभएका दार्चुलाबाट निर्वाचित सांसद दिलेन्द्रप्रसाद बडूले यो विषयलाई महत्वका साथ उठाएका थिए । राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालगायत समितिका अन्य सदस्यहरु, रक्षामन्त्री हरिप्रसाद उप्रेती र प्रधानसेनापति प्रभुराम शर्माले पनि टिंकर सडक निर्माणलाई प्राथमिकता दिनुपर्नेमा ऐक्यवद्धतासहित भनाई राखेका थिए ।
राज्यव्यवस्था समितिको बैठकले निकट भविष्यमा दार्चुला–टिंकर सडकलगायत नेपाली सेनाबाट निर्माण भइरहेका सडकहरुको स्थलगत निरीक्षण गर्ने निर्णय गरेको छ । साथै, अर्को निर्णयमा दार्चुला–टिंकर सडकको नामनै उल्लेख गरी सेनाबाट निर्माण भइरहेका सबै सडकहरुमा पर्याप्त बजेट विनियोजन गर्न सरकारलाई समितिले निर्देशन दिएको छ ।
संसदीय समितिको वैशाख ७ गतेको निर्णयअनुसार महाकाली कोरिडोरअन्तर्गतको दार्चुला–टिंकर सडक खण्ड र कर्णाली कोरिडोरमा एकैपटक निरीक्षण भ्रमण गर्ने तयारी थालिएको थियो । वैशाख १७ गते निर्धारण गरिएको भ्रमण स्थगित गरेर वैशाख २३ गते हुने भनियो ।
रक्षामन्त्रीसहितको भ्रमणको तयारी भए पनि सडक निर्माणको विभागिय जिम्मेवारी हेर्ने भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठको सहभागिता भने निश्चित भइसकेको थिएन । महासेठ एमालेबाट नेतृत्व गर्दै सरकारमा उपप्रधानमन्त्री पनि छन् ।
वैशाख १७ गतेको भ्रमणमा रक्षामन्त्री हरिप्रसाद उप्रेतीले पूर्वमन्त्री एवं एमाले नेता गणेश सिंह ठगुन्नालाई पनि संगै ल्याउन खोजेका थिए । तर, पूर्वमन्त्री ठगुन्नाले टिंकर सडक निर्माणमा पर्याप्त बजेट विनियोजन गर्ने सुनिश्चिता भएपछि मात्रै आफु भ्रमणमा संगै जाने बताएको स्रोतको भनाइ छ । ‘टिंकर सडकमा वर्षेनि बजेट घटिरहने तर नेताहरुले हेलिकोप्टर चढेर अनुगमनको नाटक गरिरहनु ठिक नभएको पूर्वमन्त्री ठगुन्नाको भनाई थियो’ स्रोतले भन्यो ।
टिंकर सडकमा पर्याप्त बजेट विनियोजन नहुने तर हेलिकोप्टरमा निरीक्षण टोली घुमिरहने अवस्थामा दार्चुलाका जनताले आफुलाई प्रश्न गर्ने भन्दै पूर्वमन्त्री ठगुन्नाले वैशाख १७ गतेको भ्रमण बहिस्कार गरेको स्रोतको भनाई छ । आफ्नै पार्टीका रक्षामन्त्रीसंग असन्तुष्टि र गुनासो राख्दै नेता ठगुन्ना पार्टी उपमहासचिव प्रदीप ज्ञवालीसंग काठमाण्डौंबाट धनगढीसम्मको हवाइयात्रा र महेन्द्रनगरबाट बनबासा–पिथौरागढ–धारचुलाको मोटरयात्रा गर्दै गृहजिल्ला आएका थिए ।
एमालेइतरको वृतमा भने वैशाख १६ र १७ गते काठमाण्डौंमा लगानी सम्मेलन भएकोले वैशाख १७ गतेको निरीक्षण भ्रमण स्थगित भएको सन्देश प्रवाह गरिएको थियो । १७ गतेको भ्रमण स्थगित हुँदा अर्को भ्रमण तिथि वैशाख २३ गते तोकिएको थियो । जिल्लास्थित प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा संयन्त्रलाई समेत भ्रमणबारे जानकारी गरिएकोमा २३ गतेको भ्रमण पनि हुन सकेन ।
दार्चुला–टिंकर सडक निर्माण भइरहेको साइटमा निरीक्षण भ्रमणको तयारी गरिएको थियो । सेनाका प्राविधिक अधिकृतहरुले वैशाख २१ र २२ गते सडक निर्माण भइरहेको तुषारपानी र फतङगाडक्षेत्रमा पुगेर उच्चस्तरीय भ्रमणको तयारी थालेका थिए । सुन्सेरास्थित दार्चुला–टिंकर सडक आयोजना हेडक्वाटरमा हेलिकोप्टर ल्याण्ड गरेर भिआइपीहरुलाई सडक निर्माण भइरहेको स्थल तुषारपानी र फतङगाड क्षेत्र देखाउने तयारी गरिएको थियो ।
वैशाख २३ गतेको भ्रमण भोलिपल्ट अर्थात वैशाख २४ हुने अर्को अनौपचारिक खबर प्रवाह भयो । देशभर आगलागी र तुवालोले हेलिकोप्टर उड्न नसकेकोले भ्रमण सरिरहेको अनुमान पनि गरियो । तर वैशाख २५ गते एकाएक गृहसचिवसहित तीनवटा सुरक्षा अंगका प्रमुखहरुले हेलिकोप्टरमार्पmत दार्चुला र व्यासक्षेत्रको भ्रमण गरे । सेनाकै हेलिकोप्टरबाट गृहसचिवको टोलीले सिमाक्षेत्रमा भ्रमण गरिरहदा रक्षामन्त्रीसहितको संसदीय टोलीको भ्रमण भने अनिश्चित भइरह्यो ।
वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकले एक सय दरका नयाँ बैंकनोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेको सार्वजनिक यसैबेला भयो । लगत्तै राज्यव्यवस्था समितिका सभापति रहेका काग्रेस नेता रामहरि खतिवडाले सामाजिक सञ्जालमा सरकारको यो निर्णयप्रति असन्तुष्टि व्यक्त गरे । अनुपयुक्त समयमा यस्तो निर्णय गरिएको र यो निर्णयले छिमेकीलाई जिस्काउने कार्य भएको प्रतिक्रिया खतिवडाको छ ।
टिंकर सडकको निरीक्षण भ्रमणका लागि निर्णय गर्ने र पहल गर्ने समितिका सभापतिको यो प्रतिक्रियाले निरीक्षण भ्रमण हुन नसकेको अर्को कारणतर्फ संकेत गरेको छ । सरकारको निर्णयप्रति असन्तुष्ट सभापति खतिवडा यो निर्णय भएको पृष्ठभूमिमा सिमाक्षेत्रको सडक निरीक्षण गर्न अनिच्छुक भएका हुन सक्छन् । सभापति मात्रै होइन, रक्षामन्त्री र सबैजसो सांसद र सरकारी अधिकारीहरु पनि टिंकर सडकको निरीक्षण भ्रमण गर्न हच्किएको धेरैको बुझाइ छ ।
नयाँ नक्सासहितको नोट छाप्ने निर्णयप्रति भारत सरकारको प्रतिक्रिया आएको छ । नेपालभित्रै पनि केही नेता र पात्रहरुले सरकारी निर्णयको विरोध गरेपछि त्यसको असर सिमाक्षेत्रमा निर्माण भइरहेको टिंकर सडकको भ्रमणमा परेको अनुमान छ ।
वैशाख २४ का लागि प्रस्तावित भ्रमण वैशाख २८ गते हुने अर्को तिथि निर्धारण गरियो । तर वैशाख २८ गतेदेखि संसदको बजेट अधिवेशन सुरु भएको, केन्द्रमा संसद अवरोधको अवस्था रहेको आदि कारणले रक्षामन्त्री र सांसदहरुको टोली निरीक्षण भ्रमणका लागि पश्चिमको सिमाक्षेत्रमा पुग्ने अवस्था थिएन । वैशाख २९ मा पनि भ्रमण हुनसक्ने आकलन थियो तर निरीक्षण भ्रमण हुनेबारे निश्चित जानकारी जिल्लास्तरमा प्राप्त नभएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो ।
‘टिंकर सडकको निरीक्षण भ्रमण हुनेबारे अनौपचारिक जानकारी मात्रै प्राप्तभइरहेको थियो, अहिलेसम्म भ्रमण भएको छैन’ प्रजिअ जोशीले भन्नुभयो । चारपटक भ्रमण मिति सारिएपछि अब कहिले निरीक्षण भ्रमण हुन्छ भन्नेबारे स्पष्ट जानकारी जिल्लास्तरमा कसैसंग छैन ।
पछिल्लो समय नयाँ बजेटको तयारीमा सरकार जुटेको छ । नयाँ बजेटमा दार्चुला–टिंकर सडकका साथै महाकाली कोरिडोरमा बजेट घटिरहेको सुचना नेताहरुले पाएका छन् । दार्चुलाका सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडू र अर्का नेता एवं पूर्वमन्त्री गणेश सिंह ठगुन्ना दुबैले टिंकर सडक र महाकाली कोरिडोरमा आगामी वर्षको बजेट घट्ने पूर्वजानकारी पाइसकेको दुबै नेतानिकट स्रोतले बतायो । बजेट घट्ने अवस्थामा निरीक्षण भ्रमणलाई मात्रै महत्व दिइरहनुको अर्थ नहुने भन्दै दुबै नेता आ–आफ्नो च्यानलमार्फत पर्याप्त बजेट विनियोजनका लागि प्रयासरत रहेको दुबै नेतानिकटका स्रोतको भनाई छ ।