टिंकर सडकमा अर्थले बजेट घटायो ः भौतिक मन्त्री दाहाल

0
123

दार्चुला, असार १२ गते ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाली सेनाबाट निर्माण भइरहेको टिंकर सडक खण्डमा आफ्नो मन्त्रालयले प्राथमिकतासहित बजेट प्रस्ताव गरे पनि अर्थ मन्त्रालयले बजेट घटाएको बताएका छन् ।
असार ९ गते बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा विभागिय मन्त्रीले यस्तो जवाफ दिएका हुन् । मन्त्री दाहाललाई दार्चुलाका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारको नीतिका कारण नभई नियतका कारण टिंकर सडकमा बजेट घटाइएको भन्दै स्पष्टिकरण प्रश्न गरेका थिए ।
मन्त्री दाहालले आफ्नो मन्त्रालयको तर्फबाट टिंकर सडकलाई प्राथमिकता दिएर बजेट प्रस्तव गरिएको बताएका छन् । ‘अर्थ मन्त्रालयबाट आर्थिक चापको कारणले प्रस्ताव गरेजति बजेट छुट्याइएको छैन’ भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालको भनाई छ ।
‘अहिलेका लागि रकम थोरै नै भएको हो । त्यसलाई म स्वीकार गर्दछु । तर हामी काम गर्छौ’ टिंकर सडकबारे जवाफ दिनेक्रममा मन्त्री देवेन्द्र दाहालले भनेका छन् । नेपाली सेनालाई सडक निर्माणको जिम्मा दिइएको र बजेट अभाव हुन नदिने मन्त्रीको भनाई छ ।
आफुले टिंकर सडक खण्डको अवलोकन गरेकोले स्थानीय जनताको दुःख दर्द बुझेको पनि मन्त्री दाहालले बताएका छन् । आफ्नो पहलले टिंकर सडक खण्डलाई छुट्टै बजेट शीर्षक निर्धारण गरिएको बताउदै विभागिय मन्त्री दाहालले बजेट थप्ने प्रतिवद्धता गरेका छन् ।
बजेटमाथिको छलफल गर्दै सांसद बडूले टिंकर सडक खण्ड निर्माणका लागि नेपाली सेनाले ५० करोड बजेट मागेकोमा सरकारले अत्यन्तै न्युन ६ करोड ३१ लाख बजेट विनियोजन गरेकोमा आक्रोश पोखेका थिए ।
बजेटमाथिको छलफलका क्रममा राखिएको सांसद बडूको स्पष्टिकरण प्रश्न र मन्त्री दाहालको जवाफ यस्तो छ ः
सांसद दिलेन्द्रप्रसाद बडू ः
मैले छलफलको क्रममा एउटा विषय भनेको थिए । दार्चुला टिंकर सडक जो नेपाली सेनाले बनाइरहेको छ र यसमा प्रगति हुन सकेन । मलाई लागिरहेको थियो, मैले भनेको थिए यो सडक सरकारको नीतिका कारणले होइन नियतका कारणले समस्या भएको छ । र हाम्रो माननीय मन्त्रीजी, म, सेना प्रमुख हामी सबै त्यो क्षेत्रमा गयौं, त्यहाँ स्थलगत अध्ययन पनि गरेर गरेर आयौं र वहाले भन्नुभयो, त्यहाँ दार्चुलामा पनि र यहाँ (काठमाण्डौं) आएर मसित पनि, यो अत्यन्त महत्वपूर्ण सडक छ । यसमा चालू वर्षको भन्दा दोब्बर बजेट हाल्छौं, घटन दिदैनौं उहाँले भन्नुभएको थियो ।
मैले सबैकुरा गम्भीरपूर्वक छलफलमा उठाए । तर आज आफ्नो जवाफमा उहाँले त्यो दार्चुला टिंकरको नाम लिनु भएन । कारण के ? म त्यो जान्न चाहन्छु र उहाँलाई भन्न चाहन्छु यसपटक यो सडकमा सेनाले ५० करोड मागेको थियो र यो २०८२÷८३ आर्थिक वर्षभित्र छाडरुसम्म ३ मिटर चौडा ट्रयाक खोल्दै थियो । तर आज के भयो ? यसबारे जवाफ दिनुपर्यो । किन छुट्यो ? यसको जवाफ चाहिन्छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल ः
दिलेन्द्रप्रसाद बडू माननीयजीले उठाउनुभएको प्रश्नको हकमा यहाँ मेरो छुटेको मात्रै हो । यसमा उहाँलाई भन्न चाहन्छु । महाकाली म आफै पनि गएको थिए । उहाँ पनि जानुभएको थियो । हामी दुबैजना गएर टिंकर साइडमा हामीले अवलोकन गरेका थियौं । त्यहाको जनताको दुःख दर्द हामीले बुझेका थियौ । हामीले मन्त्रालयको तर्फबाट यसलाई प्राथमिकता दिएर बजेट प्रस्ताव गरेका थियौ । पछि अर्थ मन्त्रालयबाट सायद मलाई लाग्छ आर्थिक चापको कारणले गर्दा होला त्यसमा हामीले भनेजति बजेट छुट्याएको छैन । तर हामी अहिले पनि के प्रतिवद्धता गर्न चाहन्छु भने नेपाली सेनालाई सडक बनाउन दिएका छौं, बजेटको अभाव हुन नदिइकन काम गर्छौ ।
त्यसमा म माननीयजीलाई स्पष्ट पार्न चाहन्छु, एस्योर (विश्वस्त) गर्न चाहन्छु । यहाँले अस्ति पनि प्रश्न उठाउनुभएको थियो । त्यहाँ नाराजुलुस गर्ने भन्दा पनि काम गरौ । छुट्टै बजेट शीर्षक त मेरै पहलमा भएको हो नि मानननीय ज्यू । त्यहाँ शीर्षक नै एउटा थियो, अब छुट्टै शीर्षक नै बनाएर काम गर्न थालिएको छ ।
यसमा प्रतिवद्धता जनाएन भन्नुभयो तर प्रतिवद्धता नै छ । अहिलेका लागि रकम थोरै नै भएको हो । त्यसलाई म स्वीकार गर्दछु । तर हामी काम गर्छौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here