टिंकर सडकअन्तर्गत राप्लाको राङथलमा गाडी पुग्यो

0
383

दार्चुला, जेठ २० गते ।
व्यास गाउँपालिकाको वडा नम्बर २ राप्लाको राङथल वस्तीसम्म गाडी पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी–टिंकर सडकअन्तर्गत मालगाउँभन्दा अगाडिको कोठधार, सगनाडी र राङथल वस्तीसम्मको ट्रयाक खुलेको हो ।
मंगलवार पहिलोपटक राङथलसम्म टेक्टर र नेपाली सेनाको जीप पुगेको स्थानीय लोकेन्द्र सिंह धामीले बताउनुभयो । नेपाली सेनाले यसअघि गत माघ महिनाको अन्तिममा तुसारपानीदेखि मालगाउँसम्मको क्षेत्रमा गाडी पुगाएको थियो ।
तुसारपानीको जिरो पोइन्टदेखि मालगाउँसम्मको ५ किलोमिटर लामो सडक क्षेत्रमा गाडी सञ्चालनमा छ । अब कोठधार, सगनाडी हुँदै राङथलसम्मको करिब ८ किलोमिटर लामो सडकमा गाडी सञ्चालन हुनेछ ।
मंगलवार पहिलोपटक सिमेन्ट बोकेको टेक्टर राङथल क्षेत्रमा पुगेको मालगाउँका स्थानीय लोकेन्द्र सिंह धामीले बताउनुभयो । मंगालवार दिउसो नेपाली सेनाको जीप पनि उक्त क्षेत्रमा पुगेको छ ।
दार्चुला–टिंकर सडक आयोजनाका प्रमुख समेत रहेका सेनाका कर्णेल राजेश कटवालले मंगलवार राङथल क्षेत्रमा पुगेर सडक निर्माणको अवलोकन गरेको स्रोतले बतायो । आयोजना प्रमुख कटवाल व्यास गाउँपालिकाको वडा नम्बर १ छाङरुस्थित सेनाको अस्थायी क्याम्पबाट नेपालकै बाटो भएर फर्किएका हुन् । व्यास गाँउपालिकाको कुन्तिसाउ, बुँदी, दोपाखे र थिइक्षेत्र हुँदै कर्णेल कटवाल आयोजना कार्यालय रहेको सुन्सेरा फर्किएको स्रोतको भनाई छ । आयोजना प्रमुख कटवाल केही हप्ताअघि अस्थायी क्याम्प स्थापना र सडक निर्माणको सिलसिलामा व्यासको छाङरु पुगेका थिए ।
हाल नेपाली सेनाले तुसारपानीदेखि तम्बाकुसम्मको क्षेत्रमा करिब १५ किलोमिटर लामो सडक निर्माण गरिरहेको छ । यसमध्ये तुसारपानीदेखि राङथलसम्मको करिब ८ किलोमिटर लामो सडकमा गाडी पुगेको छ ।
तुसारपानीदेखि राङथलसम्मको क्षेत्रमा साढे ३ किलोमिटर लामो सडक स्तरोन्नती गरिएको छ । सडक स्तरोन्नती कार्यअन्तर्गत ९ मिटरसम्म चौडा सडक बनाइएको छ । हाल टेक्टर र जीप सञ्चालन हुने गरी सडकको ट्रयाक खुलाउने कार्य भइरहेको छ । मालगाउँदेखि अगाडिको सडक खुलाउने कार्य एक हप्ताअघि मात्रै सुरु गरिएको थियो ।
राङथलभन्दा अगाडि फुलचिमधार हुँदै दुम्लिङसम्मको सडक पनि सञ्चालनमा ल्याउन सकिने अवस्था छ । तर, बजेट अभावले दुम्लिङमा चालू आर्थिक वर्षभित्रै गाडी पुग्नसक्ने सम्भावना नरहेको स्रोतले बतायो । आगामी असोज–कार्तिकसम्ममा भने दुम्लिङसम्म टेक्टर गुडाउनेगरी सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको स्रोतले बतायो ।
आर्थिक वर्ष २०८२÷८३ का लागि ल्याइएको नयाँ बजेटमा टिंकर सडकमा ६ करोड ३१ लाख मात्रै बजेट छुट्याइएको छ । सेनाले निर्माण गरिरहेको अन्तर्राष्ट्रिय सिमाक्षेत्र र रणनीतिक महत्वको टिंकर सडकलाई सरकारले उपेक्षा गरेकोमा सिमाक्षेत्रका वासिन्दा आक्रोसित छन् ।
नेपाली सेनाले सडक निर्माण गरिहेको टिंकर सडकलाई उच्च महत्व र प्राथमिकता दिएर पर्याप्त बजेट उपलब्ध गराउनुपर्ने स्थानीय जनताको माग छ । न्युन बजेट विनियोजनका कारण सडक निर्माण सुस्त हुनेमा स्थानीयले चिन्ता समेत व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here