दार्चुला, कार्तिक २३ गते ।
जेनजी आन्दोलनका क्रममा नेकपा (एमाले) दार्चुला जिल्ला कमिटी कार्यालयमा १९ लाख ७६ हजार रुपैयाँ बराबरको क्षति भएको छ । मदन–आश्रित स्मृति प्रतिष्ठानको नाममा रहेको पार्टी कार्यालय गत भदौं २४ गते तोडफोड गरिएको थियो ।
सम्बन्धित पार्टीले पेश गरेको विवरणको आधारमा स्थानीय प्रशासन र प्रहरीले क्षतिको विवरण तयार गरेको छ । आइतवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सहभागी एक कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले क्षतिको विवरण प्रस्तुत गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट भएको क्षतिको विवरण प्रस्तुत गरिएको छ । एमाले पार्टी कार्यालयमा झ्यालढोका, फर्निचर, दराज, कुर्सी, टेबुलसहितका सामग्री तोडफोड गरिएको थियो । पार्टी कार्यालयभित्रका धेरैजसो कागजपत्रहरु समेत सडकमा फ्याकिएका थिए । कतिपय कागजपत्र र दस्तावेजहरु च्यातिएर नष्ट समेत भएका छन् ।
जिल्ला प्रशासन कार्यालयको विवरण अनुसार नेपाली काग्रेसको जिल्ला कार्यालयमा ६५ हजार रुपैयाँ बराबरको क्षति भएको छ । काग्रेस पार्टी कार्यालयमा ल्यापटप, प्रिन्टर र फर्निचर लगायतका सामग्रीमा क्षति पुगेको छ ।
नेकपा माओवादी केन्द्रको जिल्ला कार्यालय रहेको सहिद प्रतिष्ठान भवनमा जेनजी आन्दोलनमा ९९ हजार रुपैयाँ बराबरको क्षति भएको विवरण छ । माओवादी केन्द्रको पार्टी कार्यालयमा पनि फर्निचर तोडफोड गरिएका थिए ।
घटनाको केही दिनपछि जिल्ला प्रहरी कार्यालयले तिनवटै पार्टी कार्यालयमा पुगेर घटनास्थल मुचुल्का तयार गरेको थियो । प्रहरीबाट तयार गरिएको र सम्बन्धित पार्टीले पेश गरेको विवरणको आधारमा क्षति विवरण संकलन गरिएको प्रशासनको भनाई छ ।
जेनजी आन्दोलनकै क्रममा गोकुलेश्वर अस्पतालमा २० हजार रुपैयाँ बराबरको क्षति भएको विवरण छ । यसैगरी, जेनजी आन्दोलनपश्चात जेनजीको नाममा केही दिनपछि दुहुँ गाउँपालिकाको वडा नम्बर ३ को कार्यालयमा आगजनी हुँदा आंशिक क्षति भएको विवरण छ ।
शैल्यशिखर नगरपालिकाको वडा नम्बर २ को कार्यालयमा पनि आंशिक क्षति भएको र लेकम गाउँपालिका वडा नम्बर ५ स्थित रेडियो लोकदर्पणमा पनि क्षति पुर्याइएको स्थानीय प्रशासनले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा जिल्ला कारागार दार्चुलाबाट ७१ जना कैदी–बन्दी फरार भएकोमा ६५ जनालाई कारागार ल्याइएको छ । बाँकी ६ जना फरार रहेका छन् । फरारमध्ये एक जना दार्चुला जिल्लावासी र ५ जना दार्चुला जिल्लाबाहिर स्थायी ठेगाना रहेका छन् । फरारहरुको खोजीकार्य भइरहेको समेत प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो । कैदी–बन्दी फरार हुनेक्रममा जिल्ला कारागारमा सामान्य भौतिक क्षति समेत भएको विवरण छ ।
मुख्यमन्त्री सहभागी कार्यक्रममा प्रजिअ पौडेलले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य र नियन्त्रणमा रहेको बताएका छन् । भ्रष्टाचार नियन्त्रण र जनगुनासो सम्बोधन कार्यलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिएको जिल्ला प्रशासन कार्यालयको भनाई छ । साथै, सार्वजनिक सम्पत्तिको सुरक्षामा ध्यान पुर्याइएको पनि प्रशासनले जनाएको छ ।








