जेनजी आन्दोलनमा काग्रेस कार्यालयबाट ६५ हजार नगद हरायो, साढे १८ लाखको क्षति

0
36

दार्चुला, कार्तिक २३ गते ।
जेनजी आन्दोलनका क्रममा नेपाली काग्रेस दार्चुलाको जिल्ला कार्यालयबाट ६५ हजार रुपैयाँ नगद हराएको छ भने हराएको नगदसहित १८ लाख ६४ हजार ८ सय रुपैयाँको क्षति भएको छ ।
नेपाली काग्रेसले तयार गरेको क्षतिको विवरण अनुसार जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीबाट कार्यालयभित्रका फर्निचर लगायतका सामानहरु क्षतिग्रस्त भएका छन् ।
आइतवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सहभागी एक कार्यक्रममा काग्रेस पार्टी कार्यालयको क्षति ६५ हजार रुपैयाँ मात्रै भनिएकोमा क्षतिको रकम १८ लाख ६४ हजार ८ सय रुपैयाँ रहेको काग्रेस जिल्ला सभापति ललितसिंह बोहराले बताउनुभयो ।
मुख्यमन्त्री सहभागी कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका तर्फबाट प्रस्तुत गरिएको विवरणमा काग्रेस पार्टी कार्यालयको क्षति ६५ हजार रुपैयाँ बराबर भएको उल्लेख थियो । प्राविधिक त्रुटीका कारण जिल्ला प्रशासन कार्यालयको विवरणमा ६५ हजार रुपैयाँ उल्लेख हुन गएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो ।
काग्रेस पार्टीका तर्फबाट क्षतिको सम्पूर्ण विवरण जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा बुझाइ सकिएको सभापति बोहराले बताउनुभयो । काग्रेस पार्टी कार्यालयमा फर्निचरका साथै ल्यापटप र प्रिन्टर लगायतका सामग्रीमा पनि क्षति पुगेको छ ।
क्रियासिल सदस्यता शुल्कबाट संकलन गरिएको ६५ हजार रुपैयाँ नगद कार्यालयबाट हराएको सभापति बोहराको भनाई छ । ‘पार्टीको बैंक खातामा दाखिला गर्नुपर्ने रकम हो, जेनजी आन्दोलनको क्रममा त्यो रकम कार्यालयबाट हराएको छ’ सभापति बोहराले भन्नुभयो ।
जेनजी आन्दोलनका क्रममा नेकपा (एमाले) दार्चुला जिल्ला कमिटी कार्यालयमा १९ लाख ७६ हजार रुपैयाँ बराबरको क्षति भएको छ । यसैगरी, नेकपा माओवादी केन्द्रको जिल्ला कार्यालयमा ९९ हजार रुपैयाँ बराबरको क्षति भएको विवरण छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here