दार्चुला, असार १५ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर–दक्षिण सडक कोरिडोरहरुको निर्माण गरिनु महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । सरकारले सडक कोरिडोरहरु निर्माण गरेको विषय ‘सानो उपलब्धि नभएको’ उहाँको भनाई छ ।
जननेता मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा शनिवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल अब ‘दुर्गम नरहेको’ बताएका छन् । ‘… कोशी कोरिडोर देखिलिएर तमोर कोरिडोर, अरुण कोरिडोर अनेक कोरिडोरहरु बने यसै छोटो अवधिमा । यो सानो कुरा होइन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
‘अहिलेको सरकार बनेपछि कर्णालीमा पुल बनेको छ । अब पुल तयार भएको छ । म स्पेनबाट २० गते फर्किन्छु त्यसको दुईचार दिनभित्र त्यो पुल उद्घाटन हुन्छ । त्यसमाथिबाट गाडी चल्छ’ प्रधानमन्त्रीको भनाई छ ।
निर्माणाधिन कर्णाली कोरिडोरअन्तर्गत हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित चुवाखोलामा नेपाली सेनामार्फत बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री ओलीले यही पुलको उद्घाटन आफुले गरेपछि हुम्ला जिल्ला सडक सञ्जालमा जोडिने बताएका हुन् ।
‘हुम्ला सदरमुकाम गाडी चढेर, रारा घुम्न मोटरचढी कहिले घुम्न जाने हो ? भनेर गीत गाउथे साथीहरु । अब रारा मात्रै होइन हुम्लाको सदरमुकाम मोटर चढेर अब घुम्न जाने हो’ प्रधानमन्त्री ओलीले भनेका छन् । ‘कहिले जाने होइन, अब घुम्न जाने हो, मोटर चढेर । हिल्सासम्म जाने हो मोटर चढेर’ उहाँको भनाई छ ।
नेपालको कुनै पनि सदरमुकाम अब दुर्गम नरहेको र नेपाल पनि दुर्गम नरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘नेपाललाई सुगम देशको रुपमा हामीले परिणत गरेका छौं । यो जबजको सफलता होइन ?’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
देशभर ९८ प्रतिशत मानिसहरुलाई विद्युत पुर्याएको र ९० प्रतिशतभन्दा बढी जनतालाई खानेपानी सुविधा पुर्याएको प्रधानमन्त्रीले बताउनुभयो । ‘टनेल युगमा प्रवेश गरेका छौं । तुइन हामीले देख्नै सकेनौं, लखेटेर वंश विनाश गरेर छोड्यौं । यो सफलता होइन ?’ प्रधानमन्त्री ओलीको भनाई छ ।
सरकारले उच्च प्राथमिकता दिएर सडक कोरिडोरहरु निर्माण गरिरहेको छ । आर्थिक वर्ष २०८२÷८३ को बजेटमा कर्णाली कोरिडोरमा सबैभन्दा बढी १ अर्ब २७ करोड विनियोजन गरिएको छ । कर्णाली कोरिडोरको ट्रयाक खोल्ने कार्य सम्पन्न भइसकेको छ भने मोटरपुलहरु निर्माण भइरहेका छन् । सडक चौडा बनाउने र स्तरोन्नती कार्यलाई प्राथमिकता दिइएको छ ।
देशभरका अन्य कोरिडोरलाई महत्व र प्राथमिकता दिइए पनि कर्णालीभन्दा पश्चिमको महाकाली कोरिडोरमा सबैभन्दा न्युन बजेट राखिएको छ । महाकाली कोरिडोरअन्तर्गत ब्रह्मदेव–झुलाघाट–तुसारपानी खण्डमा २४ करोड ४७ लाख र नेपाली सेनाबाट निर्माण भइरहेको तुसारपानी–टिंकर सडक खण्डमा ६ करोड ३१ लाख रुपैयाँ मात्रै नयाँ बजेट विनियोजन गरिएको छ ।
सेनाबाट निर्माण भइरहेको तुसारपानी–टिंकर खण्डमा विनियोजित ६ करोड ३१ लाखमध्ये पनि सडक निर्माण कार्यका लागि १ करोड रुपैयाँ मात्रै राखिएपछि सिमाक्षेत्रमा यसबारे विरोध र आलोचना भइरहेको छ । चुच्चे नक्साको भूगोल नजिक भएर भारत र चीनको अन्तर्राष्ट्रिय सिमाक्षेत्र जोड्नेगरी निर्माण भइहेको महाकाली कोरिडोरमा सबैभन्दा न्युन बजेट विनियोजन भएपछि ओली नेतृत्वको सरकारको आलोचना भइरहेको छ ।