चालू बजेटमै नेपालबाट व्यास आवतजावत गर्ने व्यवस्था गर्न माग

0
205

दार्चुला, साउन ३१ गते ।
प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति दिपकवहादुर सिंहले चालू बजेटमै नेपालबाट व्यासक्षेत्र आवतजावतको व्यवस्था गर्न माग गरेका छन् । साउन २९ गते मंगलवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले सरकारसंग यस्तो माग गरेका हुन् ।
‘अपी हिमालको मुनि बस्ने दार्चुलावासीहरुले आफ्नो देशभित्र आवतजावत गर्न पनि छिमेकी देशको सडक सहायता लिनुपर्छ’ प्रतिनिधिसभाको रोस्टममा बोल्दै उहाँले भन्नुभयो,– ‘हामीले चालू बजेटबाट तत्कालै उनीहरुलाई नेपालभित्रबाट आवतजावत गर्ने, परम्परागत गोरेटो बाटो सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्छ ।’
दार्चुलाको मार्मा गाउँपालिका जन्मस्थान भएका सांसद सिंह मकवानपुरबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद हुन् । नेकपा एमालेको समर्थनमा उम्मेदवार बनेका शक्तिशाली नेता कमल थापालाई हराएर सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । संसदीय समितिको सभापतिको हैसियतमा बोल्दै सांसद सिंहले दार्चुलाको सिमाक्षेत्रको पीडादायी अवस्थाबारे ध्यानाकर्षण गराएका हुन् ।
सांसद सिंहले व्यासक्षेत्रको सडक र बाटोको मात्रै कुरा उठाएनन् । महाकालीको सिमाक्षेत्रले भोगिरहेको झोलुंगेपुलको अभाव र तुइनको जोखिमपूर्ण यात्राको विषय पनि उठाएका छन् । ‘तुइन चुडिएर, तुइनमा अडकिएर भएका मृत्युहरु अबका दिनमा समाचार नबनोस् । हामीले शीघ्र, चाँडो से चाँडो तुइनलाई विस्थापित गरी झोलुंगे पुल निर्माण गर्नको लागि (र, यो हाम्रो प्रधानमन्त्री ज्यूको पनि सपना थियो) अनुरोध गर्न चाहन्छु ।’
तुइन विस्थापन कार्यक्रम थालेको प्रसंग निकालेर प्रधानमन्त्री र सरकारको थप ध्यानाकर्षण गराउने प्रयास पनि सांसद सिंहले गरेका छन् । तुइन विस्थापित गरी झोलुंगे पुल निर्माण गर्ने प्रधानमन्त्री ज्यूको पहिलेदेखिको सपना रहेको प्रसंग उल्लेख गरेर सांसद सिंहले महाकालीमा अझै पनि तुइनको जोखिमपूर्ण यात्रा भइरहेकोबारे ध्यानाकर्षण गराएका छन् ।
प्रतिवेदन पेश गर्नेक्रममा उठाइयो सडक, बाटो र तुइनको विषय
सांसद सिंहले पूर्वाधार विकास समितिको सभापतिको हैसियतमा प्रतिनिधिसभाको बैठकमा समितिको वार्षिक प्रतिवेदन पेश गर्ने क्रमममा महाकालीको सिमाक्षेत्रको सडक, बाटो र तुइनको विषय उठाएका हुन् ।
सभामुख देवराज घिमिरेले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन–२०८० पेश गर्न समय उपलब्ध गराएका थिए । प्रतिवेदनसहित संसदको रोस्टममा पुगेका सांसद सिंहले प्रतिवेदनमा राखिएको समिति सभापतिको मन्तव्य पढ्न थाले ।
आफुलाई पूर्वाधार विकास समितिको सभापतिमा निर्विरोध निर्वाचित गरेकोमा समितिका सबै सदस्यप्रति कृतज्ञता प्रकट गरे । ‘सबैको राजनीतिक आग्रह पूर्वाग्रहरहित साथ चाहिन्छ । सोका लागि पनि अनुरोध गर्दछु । यो देशले जित्ने काम हो । यसमा हामी राजनीतिक स्वार्थभन्दा माथि उठ्नु सबैको धर्म र जनताप्रतिको दायित्व पनि हो’ सांसद सिंहको भनाइ थियो ।
प्रतिवेदन हेरेर मन्तव्य राख्न थालेपछि धेरैजसो सांसदमा अन्यौलता देखियो । सभापति सिंहले मन्तव्य सुरु गरेको ५ मिनेट भइसकेको थियो तर धारावाहिक रुपमा बोलिरहेका सिंहले थप समय लिने देखेपछि एक महिला सांसदले उभिएर प्रतिवेदन पेश गर्नुपर्नेमा वाचन भइरहेको भन्दै ध्यानाकर्षण गराउनुभयो ।
सिंहले प्रतिवेदनमा राखिएको सभापतिको भनाइ पढेर सुनाइरहेका थिए । संसदीय समितिको भूमिका, महत्व र सरोकारवालाहरुबीचको समन्वयबारे भनाइ राखिरहदा एक महिला सांसदले नियमापत्ति गरे । ‘प्रतिवेदन पढेर, वाचन गरेर सिध्याउने हो कि ? के हो यो ? पेश मात्रै गर्ने होइन र ?’ ती महिला सांसदको प्रश्न थियो ।
सभामुख घिमिरेले ‘प्रतिवेदन पेश गर्नलाई समय दिएको हो । उहाँले मन्तव्य राख्दै हुनुहुन्छ । मन्तव्य सायद सकिन लाग्यो होला । बसौ माननीय ज्यू । प्रतिवेदन पढ्या होइन, उहाँले मन्तव्यसहित प्रतिवेदन टेबुल गर्दै हुनुहुन्छ’ भनेपछि सांसद सिंहको मन्तव्य पुनः अगाडि बढेको थियो ।
‘यो प्रतिवेदन सभामुखको अगाडि, यहाँहरुको अगाडि पेश गर्दाखेरी मैले यहीभित्र मन्तव्य पनि राखेको छुँ । यही मन्तव्य माननीय ज्यूहरुको समक्ष मैले राख्न गइराखेको छुँ’ सांसद सिंहले भद्र तरिकाले ती महिला सांसदलाई जवाफ पनि दिए । मन्तव्य लम्बिदै गएपछि सभामुखले ‘माननीय सदस्य धेरै लामो छ ?’ भनेर प्रश्न गरे । सांसद सिंहले ‘अब सिद्धिन थाल्यो’ भन्दा सांसदहरुबीच हासो उठ्यो । ‘होइन, वक्तव्य त लामै भयो नि त ?’ भन्दै सभामुखले प्रतिक्रिया दिए ।
सभामुखको ध्यानाकर्षणपछि मन्तव्य छोट्याउने दबावमा परेका सांसद सिंहले त्यसपछि दार्चुलाको प्रसंग निकाले– ‘देशको भौगोलिक विकट र विषयअनुसार सडक लगायतका पूर्वाधार समानुपातिक वितरणमा हुन सकेको छैन । अथवा हामीले हाम्रो विकास बजेटलाई दुर्गम र लक्षित समुदायसम्म पुगाउन सकेका छैनौं । उदाहरणको रुपमा अपिहिमालको मुनि बस्ने दार्चुलावासीहरुले ….’
मन्तव्यको अन्तिमतिर सांसद सिंहले भन्नुभयो– ‘समितिका बैठकमा माननीय मन्त्रीज्यूहरुबाट भएको सहभागिता, समन्वय र सहकार्य ज्यादै नै सम्झनायोग्य छ । अन्तमा, यस समितिको कार्यसम्पादनलाई निरन्तर मार्गदर्शन गर्नुहुने सम्माननीय सभामुख ज्यू, माननीय उपसभामुखज्यू, समितिका माननीय सदस्यज्यूहरु, संघीय संसदमा महासचिव, प्रतिनिधिसभाका सचिव, नेपाल सरकार र सम्बन्धित मन्त्रालय एवं निकायका सचिव तथा पदाधिकारीहरु, यस समितिको कार्यक्षेत्रका विषय सहयोग पुगाउनुहुने विज्ञसमूहको अथक मिहिनेत र परिश्रमको सराहना गर्दछु ।’
सभामुख र सांसदहरुलाई लामो र अनाकर्षक लागेपछि सांसद सिंहले भद्र र शालिन तरिकाले आफ्ना कुरा राखेका छन् । पूर्वाधार विकासमा भइरहेको गलत अभ्यास र सिमाक्षेत्रको अवस्थाबारे उजागर गरेका छन् । प्रतिनिधिसभाको रोस्टममा सांसद सिंहले करिब १२ मिनेट बोलेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here