दार्चुला, भाद्र १२ गते । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं २ मा विहिबार शेरबहादुर चन्दको हत्या गर्ने गंगादत्त भनिने गोविन्द भट्टलाई प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।
मृतक चन्दका २० बर्षिय छोरा नविन चन्दले इलाका प्रहरी चौकी गोकुलेश्वर मार्फत जिल्ला प्रहरी कार्यालय दार्चुलामा घटनाको उजुरी दिएका छन् । प्रहरीले घटना स्थलको मुचुल्का तयार पारि शब परिक्षण लगायतको प्रारम्भीक अनुसन्धान कार्य पुरा गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख एबं डिएसपी पदम बहादुर विष्टले बताउनुभयो । लाशको पोष्टमार्टम भइसकेकाले अन्तीम संस्कारका लागि आफन्तको जिम्मा लगाउने काम भइरहेको उहाँको भनाई छ ।
विहिबार दिउसो तिन बजेको समयमा स्थानिय गंगादत्त भनिने ३४ बर्षिय गोविन्द भट्टले सोहि ठाउँका ४५ बर्षिय शेर बहादुर चन्दको धारीलो हतियार हसिया ( बनास) प्रयोग गरि हत्या गरेका थिए ।
अभियुक्त भट्ट सामाजिक रुपमा पनि असहज ब्यक्ति भएको प्रहरीको अनुमान छ । भट्टका दुई वटा विहे भएपनि उनिसंग दुबै श्रीमती नबस्ने र बालबच्चाहरु पनि नबस्ने भएकाले भट्टको ब्यवहार ठिक नहुन सक्ने प्रहरीको अनुमान छ ।
यसरी भएको थियो घटना
गोविन्द भट्ट सोहि ठाउँमा पसल ब्यवसाय गर्दै आइरहेका थिए । विहिबार दिउसो ३ बजेको समयमा मृतक चन्द अभियुक्त भट्टको पसलमा आएको बुझिएको छ । प्रहरीका अनुसार भट्ट पसल बन्द गरेर सुतिरहेको अवस्थामा चन्द आएर पसलको ढोका ढक्ढक्याउदा भएको विवादले उग्ररुप लिएपछि अभियुक्त भट्टले हसिया ( बनास) ले शेरबहादुर चन्दको घाटिमा प्रहार गरि गम्भीर घाइते बनाएका थिए । भट्टले पसलमा मदिराको ब्यापार पनि गर्ने गरेका थिए । चन्दले गौराको बेला पनि सार्वजनिक स्थानमा पसल राखेर बन्द गरि सुत्ने भनि बारम्बार ढोका ढकक्याएका थिए । दुबै जनाले रक्सी सेवन गरेको अवस्था भएकाले घटना भएको प्रहरीको भनाई छ । चन्दलाई गम्भीर घाइते बनाएर अभियुक्त गोविन्द भट्ट फरार रहेका थिए । चन्द गम्भीर घाइते भएपछि करिब डेढ घण्टा पछि अस्पत्ताल लैजाने क्रममा बाटोमै उहाँको मृत्यु भएको प्रहरीको भनाई छ । पत्रकार सम्मेलनमा अभियुक्त गोविन्द भट्टले आफुले एक चोटी मात्रै हसिया प्रहार गरेको बताए । डेढ घण्टा पछि शैल्यशिखर नगरपालिका वडा नं २ का वडा सदस्य सुमन ओडले प्रहरीलाई घटनाको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी पदम बहादुर विष्टले जानकारी दिनुभयो । मृतक चन्दको शब विहिबार नै पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल पुगाइएको थियो ।
मृतक चन्द र हत्याका अभियुक्त भट्टविच पहिले पनि राम्रो सामाजिक सम्बन्ध नरहेको प्रहरीको भनाई छ ।
प्रहरीलाई यसरी मिल्यो सफलता
अभियुक्त गोविन्द भट्ट फरार भएपछि प्रहरी अर्लट गरिएको र तिन प्रहरी टोली अभियुक्तको खोजतलामा खटिएको डिएसपी पदम बहादुर विष्टले जानकारी दिनुभयो ।
इलाका प्रहरी चौकी गोकुलेश्वर बाट प्रहरी निरिक्षक खगेन्द्र बहादुर साउदको नेतृत्वमा प्रहरी टोली खटिएको थियो भने नौगाड प्रहरी चौकीबाट असई भुवन चन्द र इलाका प्रहरी चौकी लटिनाथबाट प्रहरी निरीक्षक कमल विष्टको नेतृत्वमा घटना स्थल घेर्ने गरि प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरिक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो । प्रहरी टोली विहिबार राती अभियुक्तको खोजतलासमा सो क्षेत्रका गाउँहरु र खर्कहरुमा खटिएको थियो । शुक्रबार विहान सवा दश बजे तिर शैल्यशिखर नगरपालिका वडा नं २ को तारुलि जंगलमा भागिरहेको अवस्थामा प्रहरी निरिक्षक खगेन्द्र बहादुर साउदको टोलीले अभियुक्त गोविन्द भट्टलाई पक्राउ गर्न सफल भएको थियो । हत्याकाण्डका अभियुक्त भट्टलाई प्रहरी निरिक्षक साउदको टोलीले शुक्रबार बेलुका जिल्ला प्रहरी कार्यालय दार्चुलालाई बुझाएको छ ।
घटनामा प्रत्यक्षदर्शी दुई जना रहेको प्रहरीले जनाएको छ । घटना हुदाँ अभियुक्त भट्टले हसिया प्रहार गरिहालेकाले प्रत्यक्षदर्शीहरुलाई प्रहार गर्न रोक्ने अवस्था नभएको प्रहरीको भनाई छ ।
हत्या जघन्य अपराध भएकाले हदै सम्मको कैद माग गरि अदालमा मुद्धा दर्ता गरिने डिएसपी विष्टको भनाई छ । प्रचलित कानुन अनुसार हत्याको घटनामा जन्म कैदको ब्यवस्था भएकाले जन्मकैद हुन सक्ने उहाँको भनाई छ ।
