गौरापर्वमा मदिरा नियन्त्रण गरिदै

0
116

दार्चुला, भदौं ७ गते ।
दार्चुला जिल्लाभरी गौरापर्वमा मदिरा नियन्त्रण गरिने भएको छ । भदौ ५ गते जिल्ला प्रशासन कार्यालय दार्चुलामा आयोजित सर्वपक्षिय बैठकले गौरापर्वको अवधिभर मदिरा नियन्त्रण गर्ने निर्णय गरेको हो ।
स्थानीय ठाउँ र परिवेशअनुसार मदिरा नियन्त्रण सम्बन्धि आवश्यक निर्णय गरी कार्यान्वयन गर्न गराउन स्थानीय तह र सबै वडाहरुलाई अनुरोध गरिएको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको अध्यक्षतामा भएको बैठकमा जिल्ला समन्वय समिति प्रमुख महादेव बडू कश्यप लगायत जनप्रतिनिधिहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
गौरालगायतका चाँडपर्वहरु मर्यादित र व्यवस्थित बनाउन आवश्यक रहेको दार्चुलाका प्रहरी प्रमुख डिएसपी शिववहादुर सिंहले बताउनुभयो । चाँडपर्वका बेला धेरैजसो घटनाहरु मदिराका कारण हुनसक्ने भएकाले मदिरा नियन्त्रण गर्र्नुपर्ने ठहर बैठकले गरेको छ ।
मदिरा नियन्त्रणका लागि वडास्तर र पालिकास्तरमा समयसिमा तोक्ने र गौरापर्व हुने स्थानमा मदिरा निषेध गर्न जिल्ला प्रशासन कार्यालयबाट पत्राचार समेत गरिएको छ । तोकिएको गौरापर्व स्थलमा मदिरा विक्रीवितरण र सेवन गर्नेलाई तत्काल प्रहरीले कारवाहीको प्रक्रियामा ल्याउन पनि भनिएको छ ।
सदमुकाम क्षेत्रमा बेलुकी ८ बजेपछि भीडभाड गर्न नदिइने भएको छ । स्थानीय परम्परा र डेउडा खेलका नाममा बेलुकी ८ बजेपछि कुनै पनि कार्यक्रम गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो ।
जिल्लाभरीका प्रहरी युनिटहरुलाई गौरापर्वमा शान्तिसुरक्षा गर्न सक्रिय र परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयस्तरको गौरापर्व हुने स्थानको शान्ति सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन हुनेछन् । थप सुरक्षा सतर्कताका लागि सबै युनिटहरुलाई निर्देशन दिइएको डिएसपी शिववहादुर सिंहले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here