काठमाडौँ, साउन २३ गते ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उहाँका भारतीय समकक्षी पियुष गोयलसंग खाद्य सामग्रीकाे आपूर्ति सहज बनाउन आग्रह गरेका छन् ।
बुधबार नयाँदिल्लीमा दुई देशका मन्त्रीबीच भेटवार्ता भएको छ ।
सो अवसरमा उनीहरुबीच द्विपक्षीय व्यापार एवं आर्थिक सहकार्यका विविध विषयमा छलफल भएको थियो ।
भेटमा मन्त्री भण्डारीले खाद्य सामग्रीको आयात सहज बनाउनुपर्ने विषयमा समकक्षी गोयलको ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ । चामल तथा चिनीलगायत खाद्य सामग्री नेपाल–भारत सिमानामै पाइने मूल्यमा नेपाललाई उपलब्ध गराउन आग्रह गर्दै मन्त्री भण्डारीले उद्योग एवं व्यापारका क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
मन्त्रीहरूबीच सचिवस्तरीय बैठक राख्ने विषयमा छलफल भएको छ । दुई साताभित्र उक्त बैठक आयोजना गर्ने सहमति भएको छ । नेपालबाट सिमेन्ट, जुत्ता, प्लाइउड निर्यात गर्दा व्यवसायीले खेप्नुपरेको कागजी प्रक्रियाको अवरोधलाई हटाउने विषयमा पनि मन्त्री भण्डारीले भारत सरकारको ध्यानाकर्षण गराएका थिए ।
भारतका वाणिज्य तथा उद्योगमन्त्री गोयलले नेपाल–भारतबीचको व्यापारमा देखिएका समस्या समाधान गर्न आफ्ना कर्मचारीहरूलाई निर्देशन दिएका छन् । त्यसैगरी बुधबारै मन्त्री भण्डारी र भारतका पेट्रोलियममन्त्री हरिजित सिंह पुरीबीच पनि भेटवार्ता भएको छ ।
केपी ओली नेतृत्वको सरकारमा पछिल्लो जिम्मेवारी पाएपछि उद्योग मन्त्री भण्डारी पहिलोपटक भारत भ्रमणमा निस्केका हुन् ।