दार्चुला,जेठ ३२ गते ।
दुहुँ गाउँपालिका वडा नम्वर २ मा रहेको धार्मिक पर्यटकीय क्षेत्र ब्रह्मदह तालको पानी सुकेको छ । लामो समय सम्म पानी नपर्दा सैतीस सय मिटर उचाइमा रहेको ब्रह्मदह तालको पानी सुकेको हो । स्थानीयका अनुसार परम्परा देखि देवताहरु ब्रह्मदहमा स्नान गरी कैलाश यात्रामा निस्कन्थ्ये । पवित्र कुण्डमा निलो रङको पानी हुने र श्रावणको महिनामा निराहार व्रत बसी ब्रह्मदहमा दिपबत्ती बाली पुजाआजा गर्ने चलन रहिआएको छ । स्थानीय जानाकारहरुका अनुसार ब्रह्मदह तालमा पानी सुके राष्ट्रमा ठुलो सङ्कट र विपत्ति आइपर्ने भनाइ रहेको छ । कहिल्यै पानी नसुक्ने ब्रह्मदहमा पानी सुकेपछि चिन्ता थपिएको ब्रह्रमदेवताका पुरोहित मोहनदत्त जोशीले बताएका छन । ‘पहिलेका वर्षहरुमा पनि अलि–अलि ताल सुक्ने गरेको थियो । तर अहिले भने एक्कासी पुरै ताल सुकेको देखिएको छ । तालको वरिपरी पानीको मुल नभएकोले लामो समय सम्म पानी नपर्दा तालकाे पानी सुकेको अनुमान गरिएको छ ।