कैलाश यात्रीलाई आदि कैलाश दर्शनको पनि अवसर

0
77

दार्चुला, असार १० गते ।
भारत सरकारको व्यवस्थापनमा सञ्चालन हुने कैलाश–मानसरोवर यात्रामा सहभागी तिर्थयात्रुहरुले आदि कैलाश दर्शनको अवसर पनि पाउने भएका छन् । कोभीड महामारीका कारण पाँच वर्षदेखि बन्द रहेको कैलाश–मानसरोवर यात्रा यो वर्षदेखि पुनः सञ्चालन हुँदैछ ।
दिल्लीबाट टनकपुर हुँदै कैलाश–मानसरोवर यात्रुहरु लिपुलेक नाकाबाट तिब्बत प्रवेश गर्नेछन् । आगामी जुन ३० (असार १६)देखि यात्रा सञ्चालन हुँदैछ । जुलाई १० (असार २६) मा गुरुपूर्णिमाको अवसरमा पहिलो टोलीले कैलाश–मानसरोवरको दर्शन गर्नेछ ।
यसपटकदेखि कैलाश–मानसरोवर यात्रीहरुलाई आदि कैलाश दर्शनको अवसर पनि उपलब्ध गराइने तयारी छ । कुमाउँ मण्डल विकास निगमका एमडी विनित तोमरले यात्रीहरुले गुञ्जीमा दुई दिन विश्राम गर्ने तालिका रहेको जानकारी दिएका छन् । दुई दिनसम्म गुञ्जीमा विश्राम गर्दा इच्छुक यात्रीहरुले आदि कैलाशको दर्शन गर्नसक्ने बताइएको छ ।
भारतले महाकाली मुहान क्षेत्र नजिकको क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरिरहेको छ । लिम्पियाधुरा नजिकको क्षेत्र जोलिङकाङ, पार्वती सरोवर, गौरी कुण्ड, आदि कैलाश, गणेश हिमाल लगायतको प्रचारप्रसार र प्रवद्र्धन भइरहेको छ ।
लिपुलेक नाकाबाट यो वर्ष ५ वटा टोलीले कैलाश–मानसरोवर यात्रा गर्नेछन् । यसका लागि भारतको परराष्ट्र मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ । भारत–तिब्बत सिमा पुलिसलाई कैलाश–मानसरोवर यात्राको सुरक्षा व्यवस्थापनको जिम्मेवारी दिइएको पिथौरागढका डिएम विनोद गोस्वामीले बताएका छन् ।
यो वर्षको पहिलो कैलाश–मानसरोवर यात्री टोली जुलाइ ५ (असार २१ गते) मा धारचुला पुग्ने तालिका छ । धारचुलाबाट मोटरमार्ग भएर यात्रीहरुको टोली गुञ्जी पुग्नेछ र त्यहाँ दुई रात विश्राम गर्नेछ । गुञ्जीमा सबै यात्रीहरुको स्वास्थ्य परीक्षण गरिने र उच्च हिमालय क्षेत्रमा यात्रा गर्नका लागि फिटनेशको अभ्यास गराइने छ ।
अठार हजार उचाईको लिपुलेक नाका पार गरेर यात्रा गर्नुपर्ने भएकोले सबै यात्रुहरुलाई गुञ्जीमा दुई दिन विश्राम गराएर आवश्यक तयारी गरिने तालिका छ । लिपुलेक नाकाबाट ५ टोली र नाथुला नाकाबाट १० वटा टोलीलाई कैलाश–मानसरोवर यात्रा गराउनेबारे भारत र चीनका अधिकारीहरुबीच सहमति गरिएको छ ।
पाँच वर्षअघिसम्म कैलाश–मानसरोवर यात्रीहरुले धारचुलाको तावाघाट र गर्वाधारभन्दा माथिल्लो क्षेत्रमा पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो । पछिल्लो समय भारत सरकारले सिमाक्षेत्रको सडक निर्माणलाई उच्च प्राथमिकता दिएर गाडीको सुविधा विस्तार गरेको छ । धारचुलाबाट गुञ्जी हुँदै कालापानी र नाभीढागसम्म सडक सुविधा उपलब्ध गराइएको छ । यो वर्ष पहिलोपटक कैलाश यात्रीहरुले गुञ्जी र नाभीढागसम्म गाडीमार्फत यात्रा गर्न पाउनेछन् ।
गुञ्जीदेखि आदि कैलाश क्षेत्रको जोलिङकाङसम्म पनि सडक सुविधा भएकोले इच्छुक कैलाश–मानसरोवर यात्रीहरुलाई आदि कैलाश दर्शन गराउने तयारी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here