दार्चुला, वैशाख १३ गते ।
भारतको विदेश मन्त्रालयले कैलाश–मानसरोवर यात्राको घोषणा गरेको छ । गलवान घटना र कोभिड महामारीका कारण बन्द रहेको कैलाश–मानसरोवर यात्रा ५ वर्षपछि खोलिएको हो ।
विदेश मन्त्रालयले शनिवार प्रेस विज्ञप्तिमार्फत कैलाश–मानसरोवर यात्रा खोलिएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार यो वर्ष जुनदेखि अगस्ट महिनाको अवधिमा यात्रा सञ्चालन हुनेछ ।
लिपुलेक नाकाबाट ५० जना तिर्थयात्रीका ५ टोली र नाथुला पासबाट ५० जना तिर्थयात्रीका १० टोलीमार्फत कैलाश मानसरोवर यात्रा गराइने मन्त्रालयले जनाएको छ । कैलाश मानसरोवर यात्रा गर्न इच्छुक यात्रुले अनलाइनमार्फत आवेदन दिनसक्ने र कम्प्युटर प्रणालीमार्फत निस्पक्ष रुमा यात्रुको छनोट गरिने विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
भारतका केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले पहलगाममा आतंकवादी हमलाको घटना भए पनि अमरनाथ यात्रा पनि अघि बढ्ने बताएका छन् । अमरनाथ यात्रा जुलाइमा सुरु हुनेछ ।