दिपक खाती
हिन्दु धर्मावलम्बीहरुको पवित्र धार्मिक तिर्थस्थल कैलाश–मानसरोवरको प्रवेशद्वार, वेद पुराण उपनिषद्को रचना गरिएको ब्याँस ऋषिको तपोभूमि, त्रिदेशिय सिमानाकाबाट कालापानी लिपुलेक लिम्पियाधुराभन्दा फराकिलो र अपिनाम्पा हिमाल भन्दा अग्लो बधाई र शुभकामना केपी बा– देशको ४५औं र आफ्नो जिवनको चौथोपटक देशको प्रधानमन्त्री नियुक्त हुनु भएकोमा ।
म तपाईंको कार्यकर्ता भन्दा नि तपाईंको नागरिक, अझ भनौं तपाईंको नेतृत्वको सरकारले जारी गरेको चुच्चे नक्साको भूगोलको नागरिकको हैसियतले तपाईलाई शुभकामनाका गुच्छा अर्पण गर्दै तपाईबाट चुच्चेनक्साको भूगोलका नागरिकको प्रतिनिधिमूलक आशा र अपेक्षाका पोका तपाईलाई पठाउदैछु ।
यो मुलुकमा कतिबेला कस्को सरकार बन्छ ? को प्रधानमन्त्री बन्छ पत्तो हुँदैन । महिना, बर्ष दिनमा फेरिने सरकार त्यसमा पनि तिनै दल (काङ्ग्रेस, एमाले, माओवादी) र नेताहरू (देउवा, प्रचण्ड, ओली) घुमिफिरी सत्तामा आउँदा कार्यकर्ता बाहेक बिरलै रूपमा आमनागरिकको मनमा आशाको संचार हुन्छ । कारण– सत्ता बाहिर हुँदा सबैले जनताका समस्या देख्ने, भ्रष्टाचारविरुद्ध आवाज बुलन्द पार्ने तर सत्तामा पुग्दा आफै भ्रष्टाचार गर्ने, जनताको समस्या नदेख्ने नेताहरूको प्रवृत्ति विद्यमान छ । तर मैले अहिलेसम्म देखेका प्रधानमन्त्रीहरुमध्ये तपाईको आँट, साहस, हिम्मत, अध्ययन, वाककला, कुटनीति आदिले गर्दा र बर्षौदेखि भारतको अधीनमा रहेको दार्चुलाका कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र समेटेर नयाँ राजनैतिक नक्सा जारी गर्ने ऐतिहासिक काम तपाईको प्रधानमन्त्रीत्व कालमा भएको हुँदा म चुच्चे नक्साको भूगोलको नागरिक भएकाले तपाईबाट ब्याँस क्षेत्र र सिमाक्षेत्रको समग्र विकासको लागि अरुभन्दा तपाईबाट केहि हुन्छ भन्ने आशाको दियो मनमा बालेको छु । हरेक राजनीतिक दलले कालापानीलाई सत्तामा जाने भर्याङ बनाए तर कुटनैतिक रूपमा भारतसंग कालापानीको बिषयमा कसैले गम्भीर छलफल, बहस गरेनन् । विगतमा दुई तिहाईको शक्तिशाली प्रधानमन्त्री भएकोबेला संसदमा रहेका सम्पूर्ण राजनीतिक दललाई एक ठाउँमा ल्याएर बर्षौ पहिलेदेखि भारतको कब्जामा रहेको नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ राजनैतिक नक्सा जारी गर्ने ऐतिहासिक काम जसरी गर्नुभयो ईतिहासले आज तपाईलाई फेरि दुईतिहाईको शक्तिशाली प्रधानमन्त्री बनाएको छ । यद्यपि तपाईंको प्रधानमन्त्री नियुक्तिको बिषयमा अदालतमा मुद्दा परेको छ ।
चुच्चे नक्सा जारी गरेपछि करिब १ बर्ष जति तपाईकै नेतृत्व सरकार थियो, त्यसैबेला सिमानाकामा थुप्रै सशस्त्र प्रहरीका युनिटहरु स्थापना गरिए जसमध्ये दार्चुलामा कालापानी भन्दा १२ किलोमीटर तल छाङरु गागामा सशस्त्र गुल्म स्थापना गरियो । गुल्मको शिलान्यासको लागि छाङरु आएर एक रात छाङरुमै बसेका तपाईंको सरकारका गृहमन्त्री रामबहादुर थापाले सिमा क्षेत्रको समग्र विकास र सिमानामा बस्ने नागरिकको जिवनस्तर माथि उठाउन र ब्याँसमा भारतीय परनिर्भरता हटाउन सरकारले ब्याँसको लागि गर्नुपर्ने कामको योजना सहितको ब्याँस कार्ययोजना बनाउने भन्नुभयो । ब्याँस कार्ययोजना बन्यो पनि, तर विडम्बना तपाईकै नेतृत्वको सरकारले २०७८÷०७९ को बजेट ल्याउदा ब्याँस कार्ययोजना समावेश भएन । चुच्चे नक्सा जारी गरेपछि कत्तिले तपाईलाई राष्ट्रवादी नेता भन्दै तपाईंको प्रसंसाले सामाजिक संजाल, पत्रपत्रिका रंग्याए भने कत्तिले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयललाई राती आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर भारतको प्रभावमा चुच्चे नक्सा सहितको पाठ्यपुस्तक प्रकाशनमा रोक लगाएको र २०७६ असोजमा भारतले आफ्नो राजनैतिक नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेपछि भारतको उक्त कदमको सडक सदनमा आवाज उठाए सडक र सदनमा उठेका राष्ट्रवादी आवाज दबाउन मात्रै चुच्चे नक्सा जारी गरेको आरोप पनि लगाए ।
चुच्चे नक्सा सस्तो लोकप्रियताको लागि ल्याएको होईन, केपी ओलीको राष्ट्रियता सस्तो छैन, केपी ओली कुनै शक्तिसंग झुक्दैन र साच्चिकै केपी ओली राष्ट्रवादी हो भन्ने प्रमाणित गर्न ईतिहासले दोस्रोपटक दुईतिहाईको शक्तिशाली सरकारको नेतृत्व गर्न दिएको यो अवसरको सदुपयोग गरि ब्याँसमा भारतीय परनिर्भरता हटाउन सके मात्र चुच्चे नक्साको भूगोलको माटो र नागरिक प्रति न्याय हुनेछ ।
केपी बा २०७९ को संघीय चुनावमा तपाईले आफ्नो पहिलो आमसभा कालापानीको माटो दार्चुलामा सुरु गर्दा कालापानीको माटो उपहार लिएर जानु भो र लिम्पियाधुराबाट बग्ने पवित्र महाकाली गंगाको तटमा देवभूमि दार्चुलाको माटो र दार्चुलेली जनतालाई साक्षी राखेर भन्नू भो– आफू प्रधानमन्त्री भए चुच्चे नक्साको भूगोल फिर्ता ल्याउछु । तपाईले यसो भन्दा कस्ले के सोचे, के बुझे तर मैले एमालेको सरकार बने भूगोल फिर्ता ल्याउछु भन्ने कुरा खोक्रो राष्ट्रवाद हो जस्तो लाग्यो । चुच्चे नक्साले ओगटेकोको भूगोल (गुन्जी, नाभी, कुटी) मा भारत सरकारले वर्षेनि ठूलो लगानी गरिरहेको छ । त्यस क्षेत्रमा बसोबास गर्ने नागरिकलाई भारतले सरकारले हरेक क्षेत्रमा (शिक्षा, स्वास्थ्य, रोजगारी, व्यापार आदि) विशेष सुविधा दिदै आएको छ । भारतले गुन्जी, नाभी, कुटी सम्म २ लेनको कालोपत्रे सडक बनाएको छ ।
यता, अन्तर्राष्ट्रिय सिमाक्षेत्रमा रहेका दुइ गाउँ छाङरु र तिङकर पुग्न नेपाल तर्फबाट पैदलमार्ग समेत छैन । त्यसैले भूगोल फिर्ता ल्याउछु भन्नू सजिलो छ तर फिर्ता ल्याउन असम्भव छ । किनकि बिपि कोइरालाको बिचार मान्ने हो भने भूगोल मात्रै राष्ट्रियता होइन त्यो भूगोलमा बस्ने नागरिकको भावना पनि हो । सेवा सुविधा खोज्ने मानवीय स्वभाव नै हो । त्यसकारण कालोपत्रे सडकमा गुडेर घर जान पाउने र सम्पन्न जीवन बाचेका गुन्जी, नाभी, कुटीका नागरिक कदापि नेपाली बन्न चाहदैनन् । राजनीतिक कारणले समेत असम्भव भएकोले कालापानी फिर्ता ल्याउछु भन्नूभन्दा कालापानी क्षेत्रमा नेपालको थप भूगोल अतिक्रमण हुनबाट जोगाउन र ब्याँसमा भारतीय परनिर्भरता हटाउन सरकारले तत्काल देहायका काम गर्नुपर्छ ।
पुर्वाधार क्षेत्र ः
केपी बा, भारतले नेपालको अतिक्रमित क्षेत्र कालापानी र लिम्पियाधुरासम्म दुइलेनको कालोपत्रे सडक पुगाएको तर नेपालको सामरिक महत्वको, त्रिदेशिय सीमा क्षेत्र जोड्ने तथा कालापानी क्षेत्र जोड्ने सडक दार्चुला तिङकर सडकको वि.सं. २०६५ मा निर्माणकार्य सुरु गरि १० बर्षमा सम्पन्न गर्ने लक्ष्य लिए पनि निर्धारित समयमा सम्पन्न हुन सकेको थिएन । यस पृष्ठभूमिमा द्रुतगतिमा टिंकर सडक निर्माण गर्न तपाईकै पालामा मिति २०७७÷१÷२४ गते नेपाल सरकारले नेपाली सेनालाई ब्याँसको तुसरपानीदेखि तिंकरसम्म सडक निर्माण गर्ने जिम्मा दिए पनि बजेट अभावको कारण सुस्त गतिमा निर्माण भईरहेको छ । त्यसैले उक्त सडकमा यथेष्ट बजेट बिनियोजन गरेर, टिंकर सडक निर्माणमा आधुनिक र पर्याप्त मेसिन–उपकरणको प्रयोग गरेर, ब्याँसको वडा नम्बर १ छाडरुमा र बुदिमा सेनाको क्याम्प स्थापना गरेर छाङरुदेखि तल र माथि दुबैतर्फ एकसाथ सडक निर्माणको कार्य सुरु गर्न अनुरोध छ । (आ.ब २०७८÷७९ मा छाडरुमा सेनाको क्याम्प राख्ने भनिए पनि हालसम्म नराखेको र नेपालीले सेनाले भारतीय सडक मार्ग हुँदै नेपालको सितापुलमा निर्माण मेसिन जेसिभी ढुवानी गर्न भारतको सहमतिको लागि रक्षा र परराष्ट्र मन्त्रालयमार्फत पत्रचार गरे पनि भारत सरकारबाट सहयोग प्राप्त भएको छैन ।)
सामाजिक क्षेत्र ः
भारत सरकारले नेपालको अतिक्रमित भूमि गुन्जी, नाभी, कुटी गाउँमा बस्ने नागरिकलाई सस्तोमा गुणस्तरीय खाद्यान्न दिने, व्यवस्थित औषधि उपचार दिने, उच्च शिक्षा अध्ययनको लागि भारतको विभिन्न सहरमा छात्रवृत्ति दिएर पढ्न पठाउने गरेको तथा सरकारी जागिरको लागि विशेष कोटा निर्धारण गरेको र अरबौ बजेटको भाइब्रेंट भिलेज योजना सञ्चालन गरेको छ । गुन्जी र आसपासका गाउँहरुमा विभिन्न विकास निर्माणको पुर्वाधार तयार गरिरहेको अवस्था छ । यता, नेपाल सरकारले २०७७ सालमा ब्याँस गाउँपालिकाको समग्र विकास र जनताको जिवनस्तर माथि उठाउन एकीकृत बिकास योजना (ब्याँस विशेष) को कार्ययोजना बनाए पनि उक्त कार्ययोजना कार्यान्वयन नभई अलपत्र परेको छ । साथै सुदुरपश्चिम सरकारले आ.व २०७९÷०८० मा ३ करोड रुपैयाँको ब्याँस विशेष कार्यक्रम बनाए पनि कार्यान्वयन नभई फ्रिज गरिएको छ । सिमानाको गाउँपालिका ब्याँसको बिकास र ब्याँसमा भारतीय परनिर्भरता अन्त्यको लागि ब्याँस विशेष कार्ययोजना लागु गर्न अनुरोध छ ।
पर्यटन क्षेत्र ः
चुच्चे नक्साले ओगटेको भुमि नाभी, गुन्जी, कुटी गाउँमा विशेष प्राथमिकता दिएर अरबौ बजेट खर्चेर छिमेकी भारतले पुर्वाधारका विभिन्न संरचना निर्माण गरिरहेको र कुटी नजिकको जोलिडकाङ (छोटी कैलाश) लाई धार्मिक पर्यटकिय क्षेत्रको रूपमा विकास गरि लाखौंको संख्यामा पर्यटक भित्र्याइरहेको छ । गुन्जीमा ७० करोड भारु लागतमा पाचौं धामको रूपमा शिवधाम निर्माण गरिरहेको छ, साथै भारत उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिह धामीले हाम्रो चुच्चे नक्साले ओगटेको भूगोललाई अन्तर्राष्ट्रिय पर्यटन हबका रूपमा विकास गर्न प्रधानमन्त्री नरेन्द्र मोदीसंग छलफल गरेको छ । तर नेपालले हिन्दु धर्मावलम्बीको पवित्र धार्मिक ग्रन्थ वेद, पुराण, उपनिषद् रचना गरिएको ब्याँस ऋषिको तपोभूमि, ७१३२ (सात हजार एक सय बत्तीस) मिटर अग्लो अपि हिमाल, ६७५७ (छ हजार सात सय सन्ताउन्न) मिटर अग्लो नाम्पा हिमाल जस्ता प्रचुर प्राकृतिक तथा सांस्कृतिक सम्पदा भएको र ब्याँसको तिङकर नाका प्रयोग गरि चीनको तिब्बत ताक्लाकोटसम्म व्यापार गर्न तथा कैलाश मानसरोवर दर्शन गर्न सजिलो हुने हुँदा ब्याँस गाउँपालिकालाई कैलाश मानसरोवरको प्रवेशद्वारा तथा पर्यटकिय पालिकाको रूपमा विकास गर्ने र चीनसंग जोडिएको तिडकर नाका सुचारु गरि सदरमुकाममा रहेको सिमा प्रशासन कार्यालयलाई अध्यागमन कार्यालयमा रुपान्तरण गरि वर्षभरी नै बस्ने गरि छाडरुमा स्थापना गर्न अनुरोध छ ।
सीमा सुरक्षा सम्बन्धमा ः
केपी बा, भारत सरकारले धारचुला बजारदेखि चुच्चे नक्साले ओगटेको भूमि कालापानी, लिम्पियाधुरा क्षेत्रसम्म ५–५ कि.मि को दुरिमा हजारौंको संख्यामा सुरक्षा फौज तैनाथ गरेको छ तर नेपालतर्फ सुरक्षाको उपस्थिति नहुदा नेपालले चुच्चे नक्सा जारी गरेपछि भारतले अतिक्रमित भूमि कालापानीमा आफुले कायम गरेको सिमानाभन्दा थप ३०० मिटर यता सुरक्षाकर्मीको बङ्कर निर्माण गरेर भुमि कब्जा गरेको र भारतले धारचुलादेखि अतिक्रमित भूमि कालापानी, लिम्पियाधुरा क्षेत्र जोड्ने सडक निर्माण गर्दा नेपाल सरकारको अनुमति बिना मनोमानी ढंगले ब्याँस गाउँपालिकाको तम्बाकु खोलादेखि बुदीसम्म ६ वटा स्थानमा नेपाली भुमिमा १६ कि.मि सडक बनाएर आधा दर्जन मेसिन (स्काईभेटर) तारेको साथै ब्याँसको वडा नम्बर १ मा पर्ने कौवा, बुदी र पोलामा भारतीयले गत हिउँदमा नेपालबाट करोडौंको काठ तस्करी गरेको छ । सिमानामा हुने चोरी तस्करी नियन्त्रणको लागि सुरक्षाको उपस्थिति अनिवार्य र मजबुद हुनपर्छ । त्यसैले २०२८ सालमा ब्याँसको कौवामा प्रहरीको दरबन्दी सहित स्वीकृत भएको ब्याँस प्रहरी चौकी हालसम्म स्थापना नभएको हुँदा तत्काल कौवामा प्रहरी चौकी स्थापना गर्नुपर्ने र २०७७÷४÷१३ गते दार्चुलाको जिल्ला सुरक्षा समितिले कौवामा सशस्त्र प्रहरीको बिओपी राख्ने निर्णय गरे पनि कौवा भन्दा ८ कि.मि वर गागामा सशस्त्रको गुल्म स्थापना भएको हुँदा तत्काल कौवामा र पोलामा सशस्त्र प्रहरीको बिओपी स्थापना गर्न हुन अनुरोध गर्दछौं । साथै तिंकरको छियालेकमा रहेको इलाका प्रहरी कार्यालयको भवन मर्मत गरि सिमा क्षेत्रमा बर्षभरी नै सुरक्षाकर्मी बस्न मिल्ने पुर्वाधार निर्माण तथा सिमानामा खटिने सुरक्षाकर्मीको मनोबल बढाउन थप सेवा सुविधा दिन अनुरोध छ ।
केपी बा, आकाशमा उड्ने चरीलाई समुद्रको गहिराई थाहा हुदैन भनेझैं काठमाडौको बालुवाटारमा बसेर कालापानीको बारेमा चर्को आवाज गर्दा कालापानी नजिक ब्याँसका स्थानीयलाई कस्तो असर पर्छ कसैले बुझ्दैन । भारतकै बाटो प्रयोग गरेर गाउँ जानुपर्ने बाध्यता, भारतकै नुनतेल, खाद्यान्न र औषधि उपचारमा बाचेर ब्याँसका नागरिकलाई कालापानीको बिषयमा बोल्दा घरको चुलो बल्दैन कि भन्ने डर छ । तपाईकै पालामा छाङरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना भयो तर छाङरुमा बस्ने सशस्त्र प्रहरीहरुले समेत भारतकै बाटो प्रयोग गरेर आवतजावत गर्नुपर्ने र भारतकै राशनको भर पर्नुपर्ने बाध्यता छ । तपाईले काठमाडौमा चुच्चे नक्सा जारिगरेपछि भारतीय सेनाले कालापानी क्षेत्रमा थप ३०० मिटर जमिन अतिक्रम गरेको छ । त्यसैले तपाईलाई विनम्रता साथ अनुरोध छ– कि ब्याँसमा भारतीय परनिर्भरता हटाऊ कि चुच्चेनक्सा फिर्ता लैजाऊ ।