दार्चुला, माघ २५ गते ।
दार्चुलामा आचारसंहिता अनुगमन अधिकृतहरुले कर्मचारी र शिक्षकहरुमाथि निगरानी सुरु गरेका छन् । केही स्थानबाट कर्मचारी र शिक्षकहरुले राजनीतिक दल र उम्मेदवारहरुसंग उठबस गरेको, प्रचारमा सहयोग हुनेगरी प्रस्तुत भएको र आचारसंहिता विपरितको अवस्था देखिएको मौखिक गुनासो आएपछि निगरानी बढाएको जनाइएको छ ।
जिल्लाभरीका सबै कर्मचारी र शिक्षकहरुबाट आचारसंहिता उलंघनको कार्य नहोस् भनेर आफुहरु सक्रिय रहेको आचारसंहिता अनुगमन अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी विनोद दाहालले बताउनुभयो । कर्मचारी र शिक्षकहरुबारे केही मौखिक गुनासा आएपछि आइतवार मात्रै जिल्लास्तरमा सरोकारवालाहरुसंग छलफल गरिएको छ ।
कर्मचारी र शिक्षकका ट्रेड युनियनका प्रतिनिधिहरुसंग छलफल गरेर कडाइका साथ आचारसंहिता पालना गर्न गराउन सहयोग मागिएको छ । पदीय जिम्मेवारी र आचारणविपरित कहिकतै प्रचारप्रसारमा संलग्नता देखिए सम्बन्धित कर्मचारी र शिक्षकमाथि कारवाही हुने जानकारी दिइएको दाहालले बताउनुभयो ।
सरकारी कोषबाट सुविधा पाएका जुनसुकै व्यक्तिबाट पनि आचारसंहिताविपरितका कार्य नहोऊन् भन्नेबारे आफुहरुले सम्बन्धित क्षेत्रमा सन्देश दिन खोजेको उहाँले बताउनुभयो । जिल्लाभरीको आचारसंहिता अनुगमनको प्रशासनिक जिम्मेवारी सहायक प्रजिअ र आर्थिक पाटोको अनुगमनको जिम्मेवारी कोष नियन्त्रकलाई दिइएको छ ।
आइतवारको छलफलमा सहायक प्रजिअ दाहालका साथै कोष नियन्त्रक हरिदत्त पाण्डेसहित कर्मचारी र शिक्षक प्रतिनिधिहरुको सहभागिता थियो । छलफलमा सबैले आचारसंहिताको पालनामा सक्रिय हुने र पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएको सहायक प्रजिअ विनोद दाहालले बताउनुभयो ।
केही कर्मचारी र शिक्षकबारे मौखिक गुनासो प्राप्त भए पनि अहिलेसम्म आचारसंहिता उलंघनको कुनै पनि उजुरी दर्ता नभएको आचारसंहिता अनुगमन अधिकृत एवं सहायक प्रजिअ दाहालले बताउनुभयो ।
फेसबुकलगायतका सामाजिक सञ्जालको प्रयोगबारे पनि कर्मचारी र शिक्षकहरुमाथि निगरानी गरिने उहाँको भनाई छ ।








