ओली, देउवा, अर्थमन्त्री र भौतिकमन्त्रीको गृहजिल्लामा एक अर्ब ७७ करोडका नयाँ सडक, टिंकर सडकमा भने ६ करोड

0
273

दार्चुला, जेठ २२ गते ।
त्रिदेशीय सिमाक्षेत्र, राष्ट्रिय स्वाभिमान र सामरिक महत्व बोकेको टिंकर सडकमा ६ करोड ३१ लाख बजेट विनियोजन गर्ने गठबन्धन सरकारले झापा, तेह्रथुम, डडेल्धुरा र रुपन्देही जिल्लाका ४ वटा नयाँ सडक योजनामा भने १ अर्ब ७७ करोड बजेट छुट्याएको छ ।
प्रधानमन्त्री ओली र भौतिक योजना तथा यातायात मन्त्री देवेन्द्र दाहालको गृहजिल्ला झापामा सबैभन्दा बढी बजेट ६९ करोडको नयाँ सडक योजना थालिएको छ । झापाको दमक–गौरादह–गौरीगञ्ज लिंक सडकमा नयाँ बजेट शीर्षकसहित यो रकम छुट्याइएको छ ।
प्रधानमन्त्री ओली जन्मिएको तेह्रथुमदेखि ताप्लेजुङ जिल्ला जोड्नेगरी तेह्रथुम–ताप्लेजुङ वाइपास निर्माण गर्न ३० करोड बजेटसहित अर्को नयाँ योजना राखिएको छ ।
अर्थ मन्त्रालयले जेठ १९ गते सार्वजनिक गरेको रातो किताबमा सबै सडक योजनाहरुको विवरण राखिएको छ । काग्रेस सभापति शेरवहादुर देउवाको गृहजिल्लामा डडेल्धुरा लिंक रोडका लागि नयाँ बजेट शीर्षकसहित ४८ करोड रुपैयाँ राखिएको छ । डडेल्धुरा सदरमुकाम क्षेत्रमा ५ किलोमिटर लामो सडक चौडा बनाउन यो बजेट छुट्याइएको हो । देउवा प्रधानमन्त्री भएकोबेला २०७८ सालमै डडेल्धुरा बजारक्षेत्रमा सडक चौडा बनाउन मुआब्जा वितरणको निर्णय गरि कार्य थालिएको थियो ।
सडक डिभिजन कार्यालय डोटीमार्फत आर्थिक वर्ष २०७९÷८० र २०८०÷८१ मा ६५ करोड रुपैयाँ डडेल्धुरा बजार क्षेत्रमा मुआब्जा वितरण गरिएको छ । डडेल्धुराको बागबजारदेखि पोखरासम्मको ५ किलोमिटर लामो क्षेत्रमा १५ मिटर चौडा सडक निर्माण गर्न मुआब्जा वितरण गरिएको डिभिजन सडक कार्यालय डोटीले जनाएको छ । सडक निर्माणका लागि सडकको केन्द्रदेखि १५÷१५ मिटर दाया र बायातर्फको जमिन अधिग्रहण गरिएको छ । सडक छेउमा बनाइएका घरटहरा र जमिनको मुआब्जा वितरण गरिएको छ ।
नयाँ बजेटमा डडेल्धुरा लिंक रोड शीर्षकमा छुट्टै बजेट राखिएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको गृहजिल्ला रुपन्देहीस्थित सिद्धार्थ राजमार्गको स्तरोन्नती गर्न ३० करोड बजेट विनियोजन गरिएको छ । बेलहिया–भैरहवा–बुटवल–बर्तुङ–राम्दी–स्याङ्जा–पोखरा खण्ड उल्लेख गरी नयाँ बजेट शीर्षकसहित ३० करोड रुपैयाँ राखिएको छ ।
सरकारले आर्थिक वर्ष २०८२÷८३ को बजेटमा ८ वटा नयाँ बजेट शीर्षकमा रकम राखेको छ । नयाँ शीर्षक पाएका योजनामध्ये तेस्रो पुल सुधार तथा सम्भार आयोजनामा २७ करोड ७० लाख, घुर्मी–चतरा सडकमा १० करोड, ललितपुरको लेले–ठूला दुर्लुङ सडकमा २५ करोड बजेट छ । यसैगरी, महाकाली कोरिडोरअन्तर्गतको तुसारपानी–टिंकर खण्डमा ६ करोड ३१ लाख बजेट राखिएको छ । नयाँ बजेट शीर्षक दिइएका ८ वटा सडक योजनाहरुमध्ये सबैभन्दा न्युन बजेट टिंकर सडकमा राखिएको छ ।
चुच्चे नक्साको भूगोलछेउ जोडिने टिंकर सडक निर्माणमा लाजमर्दो अंकमा बजेट राखिएको भन्दै सिमाक्षेत्रमा सरकारको आलोचना भइरहेको छ । चुच्चे नक्साको नाममा राजनीति गर्ने तर टिंकर सडक निर्माणलाई उपेक्षा गर्ने भन्दै प्रधानमन्त्री ओली र गठबन्धन सरकारप्रति आक्रोस व्यक्त भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here