एमाले महाकालीको घोषणापत्रः केबलकार सञ्चालन देखि सुविधा सम्पन्न नगर अस्पताल बनाउने

0
781

दार्चुला, बैशाख १९ गते । 


नेपाल कम्युनिष्ट पार्टी एमालेले दार्चुलाको महाकाली नगरपालिकामा केबलकार सञ्चालन गर्नेदेखि सुविधा सम्पन्न नगर अस्पताल सञ्चालन गर्ने प्रतिवद्धता गरेको छ । स्थानीय तह निर्वाचन २०७९ का लागि सार्वजनिक गरेको नेकपा एमाले महाकाली नगरपालिकाको घोषणा पत्रमा नगरक्षेत्रको विकासका लागि विभिन्न कार्यगर्ने एमालेले प्रतिवद्धता गरको छ ।

स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवार विजयी भएमा माध्यमिक तह सम्मको शिक्षा निःशुल्क गर्ने प्रतिबद्धता गरिएको छ । नगरपालिका क्षेत्रका केही विद्यालयहरुमा अझै पनि सहयोगका नाममा शुल्क लिने काम भइरहेकाले एमालले जितेमा माध्यमिक तह सम्म शिक्षालाई निःशुल्क गरिने एमाले दार्चुलाका प्रचार प्रसार विभाग प्रमुख खडक बडालले बताउनुभयो । त्यसैगरी नगरपालिका क्षेत्रमा  अत्याधुनिक उपकरण र दक्ष जनशक्ति सहित सुविधा सम्पन्न नगर अस्पतालको स्थापना गरिने एमाले महाकाली नगरपालिकाको घोषणापत्रमा उल्लेख छ ।
नागरिकहरुको स्वास्थ्य सुविधाका लागि प्रत्येक वडाहरुमा एमविविएस डाक्टर सहितको नियमित स्वास्थ्य शिविर सञ्चालन गर्ने, फोहोरलाई मोहोरमा परिणत गर्ने, नगरपालिका भित्रका हरेक घरमा शुद्ध र सर्वसुलभ खानेपानीको व्यवस्था गर्ने, निर्माणधीन सडकहरुको कार्य तत्काल सम्पन्न गरि ५ वर्ष भित्र कालोपत्रे गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई नगर रोजगार कार्यक्रम संग जोडी एक घर एक रोजगार उपलब्ध गर्ने एमाले महाकाली नगरपालिकाले घोषणा पत्रमा उल्लेख गरेको छ ।
त्यसैगरि पर्यटनको विकासका लागि वडा नं १ को छापरी, वडा नं २ को दल्लेख, वडा नं ३ को डुङरी मन्दिर, वडा नं ५ को खिरकोट, वडा नं ९ को बालशिखर र  वडा नं ४ र १ को सीमाना लास्कु खोला देखि डुङरी मन्दिर सम्म तथा वडा नं ४ र १ को सीमाना लास्कु देखि छापरी डाँडामा केबलकार सञ्चालन गर्न सकिने घोषणा पत्रमा उल्लेख छ ।
त्यसैगरि नगरपालिका क्षेत्रमा घर नभएकालाई आवासको व्यस्था मिलाइने, एकल पुरुषलाई भत्ताको व्यवस्था, आगामी २ बर्ष भित्र नगरपालिकाको आफ्नै भवन निर्माण गर्ने र भवन नभएका वडाहरुको भवन बनाइने एमाले महाकाली नगरपालिकाले प्रतिबद्धता गरेको छ । महाकाली नगरपालिकामा नगरप्रमुखका लागि नरसिह चैसिर र उपप्रमुखका लागि दुर्गा विष्ट चुनावी मैदानमा छन् । त्यसैगरि नेपाली काङ्ग्रेसबाट हंशराज भट्ट मेयरमा र सुना बोहरा उपमेयर पदमा चुनावी मैदानमा छन् ।