एमालेको चुनावी प्रचारको प्राथमिकतामा मालिकार्जुन गाउँपालिका

0
12

दार्चुला, माघ २० गते ।
नेकपा (एमाले) दार्चुलाले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार कार्यक्रम तालिका सार्वजनिक गरेको छ । माघ २० देखि फागुन १८ गतेसम्मको अवधिमा जिल्लाभरीको भूगोलमा उम्मेदवारसहितको टोली पुग्नेगरी कार्यक्रम तालिका बनाइएको छ ।
झण्डै एक महिना अवधिको चुनावी प्रचारप्रसार कार्यक्रमअन्तर्गत मालिकार्जुन गाउँपालिकालाई उच्च प्राथमिकता दिइएको छ । उम्मेदवारी दर्ता लगत्तै मालिकार्जुन गाउँपालिकास्थित मालिकार्जुन राष्ट्रिय धामबाट एमालेले भेटघाट कार्यक्रम थालनी गरेको थियो ।
माघ १९ गते सार्वजनिक गरिएको प्रचार कार्यतालिकाअनुसार मंगलवार व्यास गाउँपालिका केन्द्र सुन्सेरामा गाउँपालिकास्तरीय भेटघाट कार्यक्रम राखिएको छ । एमाले जिल्ला कमिटी सचिव उमेशराज जोशीद्वारा हस्ताक्षरित प्रचारप्रसार कार्यक्रम तालिकाअन्तर्गत मालिकार्जुन गाउँपालिकाको भूगोलमा उम्मेदवार गणेश सिंह ठगुन्नाको टोली पाँच पटक भ्रमण गर्नेछ ।
दार्चुलाका नौवटै स्थानीय तहमध्ये सबैभन्दा बढी पटक उम्मेदवारसहितको टोलीले भ्रमण गर्ने पालिका मालिकार्जुन रहेको छ । मालिकार्जुन गाउँपालिकामा माघ २२ गते उम्मेदवार ठगुन्नाको टोलीले भेटघाट कार्यक्रम गर्नेछ । मालिकार्जुन धाममा माघ २२ देखि शिवपुराण महायज्ञ समेत सुरु हुने भएकोले उम्मेदवारसहितको टोली त्यहाँ पुग्ने तयारी छ ।
प्रचार कार्यक्रमअन्तर्गत उम्मेदवारसहितको टोली फागुन ३ गते दोस्रो पटक मालिकार्जुन गाउँपालिकाको भूगोलमा पुग्नेछ । मालिकार्जुन गाउँपालिकाका वडा नम्बर १, २, ३ र ८ मा भेटघाट गर्ने कार्यतालिका राखिएको छ । महाकाली लोकमार्ग र ग्रामिण सडकअन्तर्गत गाडीमा उम्मेदवारसहितको टोलीले एकै दिन चार वडाहरुमा भ्रमण गर्नेछ ।
तेस्रो पटक उम्मेदवार ठगुन्नासहितको टोली फागुन ८ गते मालिकार्जुन गाउँपालिकाको भूगोलमा पुग्नेछ । महाकाली नदी किनारको क्षेत्रमा रहेका वडा नम्बर ७ र ६ मा उम्मेदवार ठगुन्नाको टोली फागुन ८ गते भ्रमण गर्नेछ । विहान र दिउसो यी दुइ वडाहरुमा भेटघाट गरेर बेलुकी लेकम गाउँपालिकाको वडा नम्बर ३ लालीमा पुग्ने कार्यतालिका छ ।
चौथो पटक फागुन १२ गते एमालेका उम्मेदवार ठगुन्ना मालिकार्जुन गाउँपालिका प्रवेश गर्नेछन् । फागुन १२ मा वडा नम्बर ५ डाडाकोट र वडा नम्बर ४ हुनैनाथमा भेटघाटको कार्यक्रम राखिएको छ ।
प्रचारप्रसारको कार्यक्रमअन्तर्गत एमाले उम्मेदवारको टोली मालिकार्जुन गाउँपालिकामा पाँचौ तथा अन्तिम पटक फागुन १७ गते पुग्नेछ । फागुन १७ गते विहान १० बजे महाकाली नगरपालिकाको खलंगामा आमसभा आयोजना गरी सोही दिन दिउसो १ बजे मालिकार्जुन गाउँपालिका केन्द्र शंकरपुरमा आमसभा कार्यक्रम गरिनेछ । एमालेका उम्मेदवार गणेश सिंह ठगुन्नासहितका नेताहरु उक्त आमसभामा सहभागी हुनेछन् ।
एमालेको प्रचारप्रसार कार्यक्रमअन्तर्गत शैल्यशिखर नगरपालिकाको भूगोलमा उम्मेदवारको टोली चार पटक पुग्नेछ । फागुन १८ गतेसम्मको कार्यतालिकाअनुसार उम्मेदवारको टोली लेकम, नौगाड, मार्मा र अपिहिमालमा तीन÷तीन पटक पुग्नेछ भने व्यास र दुहुँमा दुई÷दुई पटक पुग्नेछ । सदरमुकाम रहेको महाकाली नगरपालिका क्षेत्रमा एक दिनको भेटघाट र फागुन १७ मा आमसभा गरिने कार्यतालिका छ ।
प्रचारप्रसारका क्रममा आवश्यकताअनुसार उम्मेदवारको टोलीले महाकाली नगरपालिकासहितका क्षेत्रमा थप भ्रमण गर्न सक्ने एमाले जिल्ला सचिव उमेशराज जोशीले बताउनुभयो । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेका उम्मेदवार एवं केन्द्रीय सदस्य गणेश सिंह ठगुन्नाको संयोजकत्वमा विशेष निर्वाचन परिचालन कमिटी बनाइएको छ भने जिल्ला अध्यक्ष ज्ञानेन्द्र घर्तिको संयोजकत्वमा जिल्ला निर्वाचन परिचालन कमिटी बनाइएको सचिव जोशीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here