एमालेको अग्रता भएका पालिकामा काग्रेस केन्द्रीत

0
58

दार्चुला, फागुन १२ गते ।
नेकपा (एमाले)को बलियो पकड ठानिएका स्थानीय तहमा केन्द्रीत भएर नेपाली काग्रेसले चुनावी प्रचारप्रसार गरिरहेको छ । विगतको निर्वाचनमा एमालेले बढी मत प्राप्त गरेको भूगोलमा केन्द्रीत भएर जनमत आफुतिर तान्ने रणनीतिमा काँग्रेसका उम्मेदवार धर्मानन्द जोशी छन् ।
आफ्नो गृहक्षेत्र समेत रहेको शैल्यशिखर नगरपालिकामा उम्मेदवार जोशीले आधा दर्जनभन्दा बढी पटक भ्रमण गरिसकेका छन् । आफ्नो चुनावी प्रतिज्ञापत्र समेत जोशीले शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा औपचारिक कार्यक्रम गरी सार्वजनिक गरेका छन् ।
आफ्नो गृहक्षेत्रबाटै एमालेलाई कमजोर पार्दै जनमत आफ्नो पक्षमा पार्ने काग्रेसका उम्मेदवार जोशीको प्रयास छ । आफ्नो वाल्यकालदेखिका साथीभाई, छिमेकी, इष्टमित्र र शुभचिन्तकको साथ समर्थन बटुल्न जोशी लागिपरेका छन् । पार्टीको सैद्धान्तिक मतमा व्यक्तिगत र पारिवारिक सम्बन्धमा मत थपिदा जोशीले चुनाव जित्न सकिने आकलन गरिएको छ ।
शैल्यशिखर नगरपालिकाका साथै उम्मेदवार जोशीका आफन्त र शुभचिन्तकको बढी बसोबास रहेको लेकम गाउँपालिकालाई काँग्रेसले महत्व दिएको छ । शैल्यशिखर नगरपालिका र लेकम गाउँपालिकाबाट एमालेलाई उछिनेर मत ल्याउने काग्रेसजनको आकलन छ ।
मालिकार्जुन गाउँपालिकाबाट समेत काग्रेसको जनमत बढाउन सकिने स्थानीय नेता–कार्यकर्ताहरुको दावी छ । तुलनात्मक रुपमा काग्रेसभन्दा एमालेको राम्रो पकड मानिएको शैल्यशिखर, लेकम र मालिकार्जुन गाउँपालिकामा सुधार गर्न सकिए चुनावी नतिजा आफ्नो पक्षमा आउने काग्रेसजनले जिल्लास्तरमै आकलन गरेका छन् ।
मार्माक्षेत्रका तीनवटै पालिका अपिहिमाल, नौगाड र मार्मा गाउँपालिकामा काँग्रेसलाई कमजोर ठानिए पनि त्यसक्षेत्रबाट समेत राम्रो जनमत आउने काग्रेसका केन्द्रीय प्रचार समिति सदस्य गणेशराज भट्टले बताउनुभयो । ‘समग्र मार्मा क्षेत्रबाट हामी पहिलो वा दोस्रो स्थानमा आउछौं, हामी कमजोर छैनौं’ उहाँले भन्नुभयो ।
महाकाली नगरपालिका र दुहुँ गाउँपालिकामा विगतदेखि नै काग्रेसको जनमत बढी रहेकोले अग्रता हुने काग्रेसको आन्तरिक विश्लेषण छ । व्यास गाउँपालिकामा एमालेसंगको कडा प्रतिस्पर्धाबीच एक÷डेढ सय मतको अग्रता हुने अनुमान पनि गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here