एक महिनादेखि टिंकर सडक निर्माण बन्द

0
12

दार्चुला, फागुन १६ गते ।
नेपाली सेनाबाट निर्माण भइरहेको दार्चुला (तुषारपानी)–टिंकर सडक निर्माण एक महिनादेखि बन्द रहेको छ । सडक निर्माणका लागि छुट्याइएको बजेट सकिएपछि सडक निर्माण कार्य बन्द भएको हो ।
सरकारले चालू आर्थिक वर्षमा टिंकर सडक निर्माणका लागि एक करोड रुपैयाँ मात्रै बजेट छुट्याएको छ । टिंकर सडकका लागि सेनालाई ६ करोड ३१ लाख बजेट विनियोजन गरिएकोमा यसमध्ये सडक निर्माण कार्यका लागि १ करोड रुपैयाँ मात्रै बजेट राखिएको थियो ।
एक करोड बजेट खर्च भइसकेको र सडक निर्माण कार्य माघ १८ गतेदेखि बन्द रहेको व्यास गाउँपालिका–२ का स्थानीय जनक सिंह धामीले बताउनुभयो । टिंकर सडकमा विनियोजन गरिएको बाँकी बजेटले मेसिन उपकरण खरिद गर्ने र व्यासको छाङरुमा सेनाको क्याम्प निर्माण गर्ने लक्ष्य राखिएको छ ।
नेपाली सेनाले मेसिन उपकरण खरिद गर्ने कार्य स्थगित गरी विनियोजित बजेटको ठूलो हिस्सा सडक निर्माणमा खर्च गर्न प्रस्ताव गरेको छ । सेनाले गरेको प्रस्ताव भौतिक पूर्वाधार मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगे पनि स्वीकृत भएको छैन ।
सेनाले चालू आवको विनियोजित बजेटमध्ये ४ करोड रुपैयाँ सडक निर्माणमा खर्च गर्न बजेट संसोधनको प्रस्ताव गरेको स्रोतले बतायो । तर अर्थले बजेट संसोधनमा स्वीकृत दिन बाँकी छ । बजेट संसोधनको प्रस्ताव दुई महिनाअघि नै मन्त्रालयमा पुगे पनि अर्थले स्वीकृत गरिसकेको छैन ।
सेनाको प्रस्तावअनुसार बजेट संसोधन नहुँदा सडक निर्माण कार्य ठप्प बनेको छ । व्यास गाउँपालिकाको माल र दुम्लिङ क्षेत्रका वासिन्दाले सडक निर्माणमा रोजगारी पाइरहेकोमा निर्माण कार्य बन्द हुँदा अहिले बेरोजगार हुनुपरेको स्थानीय बताउँछन् ।
नेपाली सेनाको सुचना तथा जनसम्पर्क निर्देशनालयले चालू आवको साउनदेखि पुष मसान्तसम्मको अवधिमा टिंकर सडकअन्तर्गत १ हजार २ सय मिटर लामो सडकको ट्रयाक निर्माण भएको जनाएको छ । यसैगरी, छ महिनाको अवधिमा ५ सय ९० मिटर लामो सडकको स्तरोन्नती पनि गरिएको सेनाको भनाई छ ।
पुष मसान्तसम्मको अवधिमा व्यास गाउँपालिका–२ आतुङती र कल्जुक्षेत्र जोड्नेगरी सडकको ट्रयाक खोलिएको छ । यसक्षेत्रमा सडक निर्माण भएपछि व्यासको छाङरु जोड्ने पैदलबाटो पनि सञ्चालनमा आएको छ ।
सेनाको प्रस्तावअनुसार बजेट संसोधन भएपछि चालू वर्षमा ४ करोड बजेट खर्च गरेर १ हजार ४ सय मिटर ट्रयाक निर्माण र १ हजार २ सय मिटर सडक स्तरोन्नती गर्ने लक्ष्य राखिएको छ ।
नेपाली सेनाले व्यास गाउँपालिका–२ राङथल र दुम्लिङक्षेत्रबाट दुईतर्फी रुपमा सडक खुलाउन एक्जाभेटर मेसिन प्रयोग गरेको थियो । तर बजेट संसोधन समयमै नभएपछि राङथलदेखि दुम्लिङसम्मको सडक खुलाउने प्रयास रोकिएको छ । तुसारपानीदेखि राङथलसम्मको ८ किलोमिटर लामो क्षेत्रमा अहिले गाडी गुडिरहेका छन् ।
यो वर्ष दुम्लिङसम्मको सडक खुलाएर गाडी सञ्चालन गराउने लक्ष्य सेनाले राखेको छ । सरकारले टिंकर सडकमा पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा विनियोजित बजेटमै आवश्यक संसोधन गर्न समेत ढिलाइ गरेको भन्दै सिमाक्षेत्रका वासिन्दा आक्रोसित बनेका छन् ।
टिंकर सडकमा आवश्यक बजेट विनियोजन नहुँदा गतवर्ष हेलिकोप्टरमार्फत छाङरुमा पुर्याइएको एक्जाभेटर मेसिन प्रयोगविहिन बनेको छ । सडक निर्माणमा बजेट नै नभएपछि छाङरुमा सेनाको टोली कामविहिन भएको छ ।
चालू वर्षमा छाङरुमा सेनाको क्याम्प भने निर्माण हुने भएको छ । क्याम्प निर्माणका लागि टेण्डर खोली ठेक्का सम्झौतासमेत भइसकेको छ । आगामी चैत्र महिनादेखि क्याम्पको संरचना निर्माण सुरु गरेर असारभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हाल छाङरुको गागामा सेनाको टोली घरभाडामा लिएर बस्दैआएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here