आफ्नो ‘समानुपातिक मत’ सुरक्षित राख्ने एमालेको रणनीति

0
84

दार्चुला, फागुन १२ गते ।
दार्चुलामा आफ्नो समानुपातिक मत सुरक्षित राख्ने रणनीति नेकपा (एमाले)ले लिएको छ । २०७९ को निर्वाचनमा प्राप्त २४ हजार ८ सय ८३ मतलाई सुरक्षित राख्न सक्दा सहजै चुनाव जितिने एमालेको आकलन छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा विगतको भन्दा जनमत घट्ने आन्तरिक आकलन पनि एमालेमा गरिएको छ । केही मत घटे पनि पुरानो जनमतलाई सुरक्षित गर्दै चुनाव जित्ने तयारीमा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्ना छन् ।
२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काग्रेस–माओवादी गठबन्धनका उम्मेदवार दिलेन्द्रप्रसाद बडूसंग एमाले उम्मेदवार ठगुन्ना २ हजार १ सय ३४ मतको अन्तरले पराजित भएका थिए । यसपटक सबै पार्टीहरु एक्लाएक्लै चुनावी प्रतिस्पर्धिामा भएकोले सहज रुपमा चुनाव जितिने एमालेको विश्लेषण छ ।
उम्मेदवारी दर्तादेखि नै उम्मेदवार गणेशसिंह ठगुन्नाले जित सुनिश्चित भएको तर ‘फराकिलो अन्तर र शानदार मत ल्याएर चुनाव जित्नुपर्ने’ भन्दै आएका छन् । पार्टीका नेता–कार्यकर्ताहरुलाई आफ्नो भोट संरक्षणमा केन्द्रीत हुन जिल्लाभरी सर्कुलर समेत गरिएको स्रोतले बतायो ।
२०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ एमाले उम्मेदवार ठगुन्ना पराजित भए पनि समानुपातिकतर्फ भने काग्रेसको भन्दा एमालेले ४ हजार २ सय २८ मत बढी पाएको थियो । त्यतिबेला समानुपातिकतर्फ काग्रेसले २० हजार ६ सय ५५ मत र माओवादी केन्द्रले ८ हजार १ सय ९० मत पाएको थियो ।
तीन वर्षअघिको समानुपातिकतर्फको मतान्तर कायम राख्ने प्रयासमा एमाले छ । आफु पक्षधर मत संरक्षणमा सक्रिय हुन जिल्लास्तरबाट सबै कार्यकर्तालाई सर्कुलर गरिएको छ । ‘नयाँ पार्टी र अनुहारले हामीलाई केही असर गर्दैन, फराकिलो अन्तरले चुनाव जित्ने हाम्रो तयारी छ’ एमालेका जिल्ला सचिव उमेशराज जोशीले बताउनुभयो ।
एमाले नेता ठगुन्ना पहिलोपटक २०६४ मा निर्वाचन लडेका थिए । पहिलो निर्वाचनमा पराजय भए पनि एमालेको तर्फबाट त्यसपछिका हरेक निर्वाचनमा ठगुन्ना उभिदै आएका छन् । २०७० सालको अर्को संविधानसभा निर्वाचनमा तत्कालिन काग्रेस पार्टी प्रवक्ता एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूलाई पराजित गरेपछि ठगुन्नाको राजनीतिक उचाइ बढेको थियो ।
माओवादीसंगको गठबन्धनसहित २०७४ सालको चुनावमा उम्मेदवार बनेका ठगुन्ना लगातार दोस्रो पटक निर्वाचित भएका थिए । त्यतिबेला काग्रेसका उम्मेदवार विक्रमसिंह धामीलाई साढे ६ हजारको फराकिलो मतान्तरले पछि पार्दै चुनाव जितेका ठगुन्नाले ६ महिनाको लागि संघीय मन्त्री हुने अवसर पनि पाएका थिए ।
२०७९ सालको निर्वाचनमा भने काग्रेस–माओवादी गठबन्धनसंग २ हजार १ सय ३४ मतले ठगुन्ना पराजित भएका थिए । ‘यसपटक सबै पार्टी एक्लाएक्लै चुनावमा उत्रिएकाले सहजै चुनाव जितिने’ ठगुन्नाको आकलन छ । उम्मेदवारी दर्तासंगै ‘फराकिलो र शानदार मतका साथ आफुले जित्ने’ उद्घोष ठगुन्नाले गरेका छन् ।
लगातारको चुनावी प्रतिस्पर्धा र पुरानो अनुहारप्रति मतदाताहरुको वितृष्णाको मार ठगुन्नाले खेप्नुपर्ने आकलन पनि छ । राष्ट्रिय राजनीतिमा एमाले र केपी शर्मा ओलीप्रतिको प्रहारको असर पनि दार्चुलाका पर्न सक्ने प्रतिस्पर्धी पार्टीहरुले आकलन गरेका छन् ।
दार्चुलाको चुनावी इतिहासमा लगातार दुईपटक निर्वाचित हुने ठगुन्ना एक्ला नेता हुन् । २०७० मा संविधानसभा सदस्य र २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित ठगुन्ना २०७९ को निर्वाचनमा ह्याट्रिक गर्ने दाउमा थिए । तर काग्रेस–माओवादीको गठबन्धनले ठगुन्नाले ह्याट्रिक यात्रा रोकिएको थियो । यसपटक भने आफुले अन्तिम पटकको प्रत्यक्ष निर्वाचन लडिरहेको घोषणा समेत ठगुन्नाले गरेका छन् ।
भविष्यमा आफुले समानुपातिक वा राष्ट्रियसभातर्फको यात्रा गर्ने र प्रत्यक्ष चुनाव नलड्ने सार्वजनिक घोषणा नै ठगुन्नाले गरेका छन् । अन्तिम पटकको प्रत्यक्ष निर्वाचनमा मतदाताको सहानुभूति बटुल्न र बढाउन ठगुन्नाले यस्तो घोषणा गरेका हुन् । निर्वाचनपछिको सरकारमा आफु मन्त्री हुने र पार्टी राजनीतिमा पदाधिकारी समेत बन्ने उद्घोष समेत ठगुन्नाले गरेका छन् ।
पार्टीका नेता–कार्यकर्ताहरुको मनोबल बढाउन र जनमत बटुल्न ठगुन्नाले आफु मन्त्री बन्ने, पार्टी पदाधिकारी बनेर राजनीतिक उचाईमा पुग्ने तथा यसपछिको निर्वाचन नलडेर वैकल्पिक नेतृत्व अघि सार्ने घोषणा ठगुन्नाले गरिरहेका छन् ।
दार्चुलाका नौवटा स्थानीय तहमध्ये छवटा तहमा एमालेको सरकार छ । स्थानीय सत्ता र बलियो पार्टी संरचना भएकोले एमालेका उम्मेदवार ठगुन्नालाई प्रमुख प्रतिस्पर्धी ठानिएको छ । तर, एमाले नेतृत्वका स्थानीय सरकारप्रति मतदाता र एमालेकै स्थानीय नेता–कार्यकर्ताको समेत असन्तुष्टि र आक्रोस भएकोले त्यसको लाभ रास्वपा र काग्रेसलाई हुनसक्ने आकलन पनि गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here