आदि कैलाश दर्शनलाई प्रवर्द्धन

0
159

दार्चुला, जेठ २० गते ।
लिम्पियाधुरा-पश्चिममा पर्ने `आदि कैलाश´ पर्वत । अहिले यसक्षेत्रमा भारतका आन्तरिक पर्यटकहरूकाे यात्रा बढिरहेको छ । यसक्षेत्रमा गत असाेज महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले भ्रमण गरेपछि पर्यटककाे संख्या ह्वात्तै बढेको छ ।
माेदीले आदि कैलाशकाे वेशक्याम जाेलिङकाङस्थित पार्वती सराेवर र मन्दिरमा पूजापाठ गरेका थिए भने गुञ्जीमा स्थानीय र सुरक्षाकर्मीसंग भेटघाट गरेका थिए ।
गुञ्जी, नाभि र कुटी गाउँ महाकालीकाे पुर्वतर्फ अवस्थित भए पनि जाेलिङकाङ, पार्वती सराेवर र आदि कैलाश क्षेत्र भने भारतीय भूमिमा अवस्थित छन् । महाकाली नदीकाे पुर्वीक्षेत्रमा भने नेपालले आफ्नो भूमि रहेको दावी गरेको छ ।
पवित्र कैलाश पर्वतकाे जस्तै आकृति भएकोले यसलाई `आदि कैलाश´ भनिदैआएकाे छ । सुरूमा `छाेटा कैलाश´ भनिएकाेमा पछिल्लो समय `आदि कैलाश´ भन्दै प्रचारप्रसार गरिएको छ ।
चीनकाे तिब्बतमा अवस्थित पवित्र कैलाश-मानसरोवर यात्रा बन्द रहेकाे अवस्थामा भारतीय नागरिकलाई याे क्षेत्रमा यात्रा गर्न प्राेत्साहन गरिएको छ । मानसराेवरकाे प्रतिविम्बकाे रूपमा जाेलिङकाङमा पार्वती सराेवर रहेकाे छ । आदि कैलाश र पार्वती सराेवरलाई कैलाश र मानसरोवरकाे प्रतिबिम्बका रूपमा प्रवर्द्धन भइरहेको छ । याे संगै कालापानी र लिपुलेककाे मध्यभागमा पर्ने ॐ पर्वतकाे दर्शनलाई पनि महत्त्व दिइएको छ ।
यसक्षेत्रमा यात्रा गर्न भारतीय नागरिकलाई `आधारकार्ड´काे आधारमा धारचुलास्थित तहसिल कार्यालयले `इनरलाइन परमिट´ दिने गर्छ । नेपाली र अन्य विदेशीलाई भने यसक्षेत्रमा यात्रा गर्न राेक छ ।
भारतीय बजार धारचुलाबाट अहिले दैनिक ५० भन्दा बढी यात्रुवाहक जिपहरूमा दर्शनार्थीले आदि कैलाश क्षेत्रकाे भ्रमण गरिरहेका छन् । धारचुलाबाट ७० किलाेमिटरकाे सडक दूरीमा गुञ्जी गाउँ छ भने गुञ्जीबाट ३० किलाेमिटर दूरीमा जाेलिङकाङ र २२ किलाेमिटर दूरीमा ॐ पर्वत अवस्थित छ । महाकाली नदीकाे पूर्वी किनार भएर गुञ्जीबाट नाभि र कुटी गाउँ हुँदै जाेलिङकाङ पुगिन्छ ।
ॐ पर्वत दर्शनका लागि भने गुञ्जीबाट लिपुखाेलाकाे किनारैकिनारकाे सडकमार्ग भएर कालापानी र नाभीढाग पुग्नुपर्छ । नाभीढागबाट दक्षिण-पूर्वतर्फ ॐ पर्वतकाे दर्शन गर्न सकिन्छ ।
नाभीढागबाट ९ किलोमिटरको दूरीमा लिपुलेक नाका रहेको छ । काेभिड महामारी र सिमा विवादका कारण भारत र चीनले प्रयाेग गर्दैआएकाे लिपुलेक नाका विगत चार वर्षदेखि बन्द छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here