दार्चुला, फागुन १३ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजेश सिंह सामन्तले निर्वाचनको जनमतमा ‘अरु सबै पार्टी एकातिर र आफ्नो पार्टी अर्कोतिर’ रहेको बताएका छन् । कुल खस्ने मतमध्ये ५० प्रतिशत मत आफुले प्राप्त गर्ने उहाँको दावी छ ।
‘मतदाताले परिवर्तन चाहेका छन्, जताततै सबैतिर यसपटक मत बदल्छौं भन्ने जनताको भनाई छ’ उहाँले भन्नुभयो । दार्चुलाका ‘अत्यधिक जनताले यसपाली मत बदल्ने मन बनाइसकेको’ उहाँको दावी छ । ‘मतदाताले फागुन २१ मा मतदान गर्नेछन्, तर कस्लाई मत दिने भनेर मनस्थिति अहिलेनै बनाइसकेका छन्’ रास्वपाका उम्मेदवार सामन्तको भनाई छ ।
केही महिनाअघि मात्रै रास्वपाको जिल्ला सभापति बनेका सामन्त पहिलोपटक चुनावी मैदानमा उत्रिएका छन् । देशभरीमै रास्वपाप्रति जनताको आकर्षण देखिएकोले आफ्नो विजयको प्रमुख आधार पनि त्यहि रहेको उहाँले बताउनुभयो । ‘जनताले परिवर्तन चाहेका छन्, जताततै घण्टी बजिरहेको छ, दार्चुलामा पनि बहुमत मतदाताले घण्टीमा मतदान गर्छन्’ उहाँले भन्नुभयो ।
परिवर्तनको नेतृत्व रास्वपाले गरेकोले त्यसको लहर दार्चुला जिल्लाभरी रहेको रास्वपाका उम्मेदवार सामन्तको दावी छ । ‘हामी सबै पालिकाका गाउवस्तीहरुमा पुगेका छौं, जता पुग्यौं सबैतिर जनताको नयाँ आशा र उत्साह छ, नयाँ राजनीतिक शक्तिले राम्रो गर्छ भन्ने जनतामा आश जागेको छ’ उहाँले भन्नुभयो ।
पुराना राजनीतिक शक्तिहरुबाट निराश भएका मतदाताहरुको आकर्षण पनि रास्वपाप्रति रहेको उहाँको भनाई छ । ‘पुराना पार्टीबाट निराश र आक्रोसित भएका मतदाताले पनि हामीलाई समर्थन गर्दैछन्, तर प्रमुख कुरा परिवर्तन र नयाँ शक्तिप्रतिको आकर्षण देखिन्छ’ उम्मेदवार सामन्तले बताउनुभयो ।
सामन्तले उम्मेदवारी दर्तालगत्तै दार्चुलामा ४० हजारभन्दा बढी मत रास्वपाले पाउने दावी गरेका थिए । तर पछिल्लो समय मतदान न्युन हुने आकलन गरिएको र कुल खसेको मतमध्ये ५० प्रतिशत मत घण्टीले पाउने उहाँको दावी छ ।
परिवर्तन र सुशासनको अपेक्षा राखेर रास्वपालाई जनताले समर्थन गरिरहेको उहाँको भनाई छ । ‘हामी इमान्दार भएर काम गर्छौ, कसैलाई भेदभाव गरिदैन, सबैलाई समान सम्मान र व्यवहारका साथ क्रियासिल भइरहन्छौं’ सामन्तको भनाई छ ।
दार्चुलामा रास्वपाको साढे ७ हजार पार्टी सदस्यता रहेको बताइएको छ । मतदाताको आकर्षण, रास्वपाको चुनावी लहर र पार्टी सदस्यहरुको क्रियासिलताले चुनावी नतिजा आफ्नो पक्षमा पर्ने उम्मेदवार सामन्तको दावी छ ।








