दार्चुला, वैशाख २९ गते ।
अपी–नाम्पा संरक्षण क्षेत्र कार्यालयमा नयाँ कार्यालय प्रमुख आएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सहायक संरक्षण अधिकृत विनयकुमार झालाई कार्यालय प्रमुखको जिम्मेवारीसहित खटाएको हो ।
नयाँ कार्यालय प्रमुख झाले वैशाख २७ गतेदेखि आफ्नो जिम्मेवारी सम्हालेका छन् । अपी–नाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख गोपालवहादुर घिमिरे सेवानिवृत भएपछि तीन महिनादेखि विभागले नयाँ कार्यालय प्रमुख पठाएको थिएन । कार्यालयमा कार्यरत नायब सुब्बा तोयराज जोशीले यसबीचमा निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।
नयाँ कार्यालय प्रमुख पुगेपछि कार्यालयका नियमित कामकारवाही सञ्चालनमा सहजता भएको एक कर्मचारीले बताउनुभयो । ‘यार्सागुम्बा संकलनको सिजन पनि रहेकोले यो बेला कार्यालय सक्रियता र भूमिका बढ्ने अवस्था रहेको छ’ ती कर्मचारीले भन्नुभयो ।
नयाँ कार्यालय प्रमुख झा भानुभक्त राष्ट्रिय प्राणी उद्यान तनहुबाट दार्चुला सरुवा भएका हुन् । जनकपुरका स्थायी वासिन्दा झा दार्चुलामा पहिलोपटक सार्वजनिक जिम्मेवारी सम्हालिरहेका छन् ।