व्यासमा १२ कक्षासम्म निशुल्क शिक्षा

155

दार्चुला, चैत्र १० गते ।
व्यास गाउँपालिकाले १२ कक्षासम्मको शिक्षा निशुल्क बनाएको छ । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीबाट उठाइने मासिक शुल्क संकलनमा गाउँपालिकाले असारदेखि रोक लगाएको छ ।
चालु आर्थिक वर्षबाट कक्षा १२ सम्मको माध्यमिक शिक्षालाई निशुल्क गर्ने नीति ल्याइएको गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले बताउनुभयो । ‘कक्षा १२ सम्मको शिक्षालाई निशुल्क बनाउने विषय नीति तथा कार्यक्रममै समेटेर पारित गरेको’ उहाँले बताउनुभयो ।
व्यास गाउँपालिकाअन्तर्गत हिमालय मावि हुती र सम्पाल मावि सुन्सेरामा कक्षा १२ सम्मको पठनपठान हुँदैआएको छ । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीबाट विद्यालयले मासिक ३ सय देखि ५ सय रुपैयाँसम्म मासिक शुल्क उठाउदै आएकोमा असारदेखि शुल्क उठाउन बन्द गरिएको व्यास गाउँपालिकाका शिक्षा शाखा संयोजक नरेन्द्र सिंह बडालले बताउनुभयो ।
मावि हुतीमा हाल कक्षा ११ मा ७४ जना र कक्षा १२ मा ८१ जना विद्यार्थी छन् । सम्पाल मावि सुन्सेरामा कक्षा ११ मा ७७ जना र कक्षा १२ मा ४७ जना अध्ययनरत रहेको शिक्षा शाखा संयोजक बडालले बताउनुभयो ।
व्यास गाउँपालिकामा जम्मा २५ वटा विद्यालय रहेका छन् । १० कक्षासम्म सञ्चालित सिद्ध मावि सिना, बसन्तुपर मावि बसेडी, दुर्गास्थान मावि स्याकु रहेका छन् भने ८ कक्षासम्म सञ्चालित ३ विद्यालय ब्रह्मस्थान आवि डोकट, सिरसिन्धार आवि राप्ला र सर्वहित आवि दुम्लिङ छन् । गाउँपालिकामा ५ कक्षासम्म सञ्चालित १४ विद्यालय र ३ कक्षासम्म सञ्चालित ३ विद्यालय रहेको शिक्षा शाखाको अभिलेख छ ।
माध्यमिक तहसम्मको शिक्षालाई निशुल्क बनाउन र गुणस्तर अभिवृद्धि गर्नका लागि गाउँपालिकाबाट ४९ जना शिक्षक सहजकर्ता नियुक्त गरिएको शिक्षा संयोजक नरेन्द्र सिंह बडालले बताउनुभयो । ‘सहजकर्ता शिक्षकको तलबमा मात्रै वार्षिक १ करोड ५० लाख रुपैयाँ खर्च हुँदैछ’ उहाँले भन्नुभयो ।
गाउँपालिकाबाट नियुक्त भएका सहजकर्ता शिक्षकलाई प्रावि तहमा १५ हजार ५ सय, निमावि तहमा १६ हजार ५ सय र माध्यमिक तहको कक्षा ९ र १० मा अध्यापन गराउने शिक्षकलाई मासिक २५ हजार रुपैयाँ तलब दिइएको शिक्षा संयोजक बडालले जानकारी दिनुभयो । कक्षा ११ र १२ मा अध्यापन गराउने शिक्षकलाई मासिक ३२ हजार रुपैयाँ गाउँपालिकाबाट तलब दिइएको उहाँले बताउनुभयो ।
गाउँपालिकाबाट सहजकर्ता शिक्षक व्यवस्थापनका लागि छुट्टै कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याइएको गाउँपालिका उपाध्यक्ष विनोद सिंह कुवरले बताउनुभयो । ‘शिक्षालाई सुलभ र गुणस्तरीय बनाउन हामीले प्रयास थालेका छौ, संविधान, कानुनका व्यवस्था र अभिभावकहरुको आर्थिक अवस्थालाई हेरेर १२ कक्षासम्मको शुल्क हटाएका हौ’ उहाँले भन्नुभयो ।
व्यास गाउँपालिकाभरीमा संघीय सरकारबाट तलबभत्ता पाउने प्राथमिक तहमा ७१ जना शिक्षक कार्यरत छन् । निमावि तहमा २१ जना र कक्षा १२ सम्मको माध्यमिक तहमा १५ जना शिक्षकको व्यवस्थापन संघीय सरकारबाट भएको गाउँपालिकाको शिक्षा शाखाको अभिलेख छ ।
विद्यार्थीलाई स्थानीय ठाउँमै गुणस्तरीय विद्यालय शिक्षाको अवसर दिन गाउँपालिका सक्रिय रहेको उपाध्यक्ष कुवरको भनाई छ । विद्यालयमा नियमित शैक्षिक क्रियाकलाप सञ्चालनका साथै प्रभावकारी अनुगमनलाई पनि आत्मसात गरिएको उहाँले बताउनुभयो । ‘यो वर्षदेखि गाउँपालिकाभरीका सबै विद्यालयहरुको परीक्षामा एकरुपता ल्याइएको छ, पालिकास्तरीय परीक्षा समिति निर्माण गरेर परीक्षा सञ्चालन तथा व्यवस्थापन भइरहेको छ’ गाउँपालिका उपाध्यक्ष कुवरले भन्नुभयो ।
विद्यार्थीबाट मासिक शुल्क संकलनमा रोक लगाए पनि व्यास गाउँपालिकाअन्तर्गतका विद्यालयहरुमा वार्षिक परीक्षा शुल्क भने उठाइएको छ । विद्यार्थीबाट १ सय रुपैयाँदेखि २ सय रुपैयाँसम्म परीक्षा शुल्क उठाइएको जानकारी अनौपचारिक रुपमा पाइएको शिक्षा शाखा संयोजक नरेन्द्र सिंह बडालले बताउनुभयो ।
कक्षा १२ सम्मको विद्यालय शिक्षालाई पूर्णरुपमा निशुल्क बनाउन आगामी दिनमा परीक्षा शुल्क उठाउनमा पनि रोक लगाइने गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले बताउनुभयो । ‘विद्यार्थी वा तिनका अभिभावकबाट कुनै पनि प्रकारको शुल्क उठाउन आवश्यक छैन, स्थानीय सरकारको सक्रियतामा सर्वसुलभ र गुणस्तरीय शिक्षाको उपलब्धता गराउछौं’ उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !