माछा पाल्न कहिले सिकाउने ?

187

सम्पादकीय
बालबालिकाहरुलाई विद्यालयमा खाजा खुवाइन्छ, सुत्केरीहरुलाई अण्डा दिइन्छ, खरको छाना भएकाहरुको छाना छाउन जस्तापाता दिइन्छ र खाना पकाउने ग्याँस दिइन्छ ।

यी दिने कार्यहरु कोही बिगतदेखि हुँदै आएका छन् भने कोही हालसालै सुरु भएका छन् । बालबालिकाहरुमा कुपोषण नहोस् र विद्यालय नछोडून भन्ने उद्देश्यले खाजा कार्यक्रम लागू गरियो, सुत्केरीहरुले पौष्टिक आहार पाऊन् भनेर अण्डा दिइयो, घरको छानो नचुहियोस् भनेर जस्तापाता दिइयो र सायद वनजङ्गल जोगियोस् भनेर ग्याँस सिलेण्डर दिइँदैछ । दिने पक्ष दिएकोमा मख्ख छ लिने पक्ष पाएकोमा मख्ख छ । स्कुलमा खाएको पौष्टिक खाजाले घरको छाक टार्छकि टार्दैन, सुत्केरीहरुलाई दिइएको अण्डाले उसको शरीरले मागेको पौष्टिकता सदावाहर उपलब्ध गराउँकि गराउँदैन, एक पटक दिइएको जस्तापाताले घरको छानो सधैं नचुहिने हुने र त्यसैमा टेकेर घरधनिले पक्कि छानो बनाउँछकि बनाउँदैन, एक पटक दिएको ग्याँस सिलिण्डरमा ग्याँस भर्न स्थानीयले सहजै पाउँछन् र वन जोगिन्छकि जोगिदैन ? भन्ने प्रश्नहरुको जवाफ न कसैले दिएको छ न कसैले मागेको छ । विद्यालयहरुमा उपलब्ध गराइने खाजाले अपेक्षाकृत बालबालिकालाई विद्यालयमा टिकाएको छ, सुत्केरीलाई दिइने अण्डाले उनीहरुलाई स्वस्थ्य राखेको, जस्तापाताले एक वर्षामा छाना नचुहिने भएको र एक सिलेण्डरले परिवारको आकार अनुसार एक महिनादेखि तीन महिनासम्म दाउरा नचाहिने बनाएको छ । यतिहुँदा हुँदै पनि यी कार्यक्रमहरुले पोषणको, छानाको र वन विनासको दीर्घकालीन समस्या समाधान गर्न सकेका छन् ? भन्ने प्रश्न उठाउँदा सरोकारवालाहरुले प्रतिप्रश्न गर्न सक्ने यथेष्ठ ठाउँ पाउँछन् होला तर यत्ति भन्न कत्ति पनि सङ्कोच छैन यी कार्यक्रमहरुले तात्कालिक र छोटो समयको समस्या टारे पनि दीर्घकालीन समाधान बोकेका छैनन् । विद्यालयमा उपलब्ध गराइएने खाजाको गुणस्तरका विषयमा कहिले काँही उठ्ने प्रश्नहरुलाई छोड्ने हो भने कार्यक्रमले उसको परिवारलाई स्थानीय उत्पादनबाटै पोषणयुक्त खानेकुराको जोहो गर्ने बनाउन सकेको छैन । घरपरिवारमा हुने खाद्यान्नको अभावलाई कम गर्ने उपाय दिन सकेको छैन । सुत्केरीलाई केही दिन अण्डा र कसैले कुखुरा उपलब्ध गराएका छन् सम्भवतः तिन महिनाभन्दा बढी समयसम्म तर परिवारलाई सुत्केरीलाई आफ्नै परिवारले पोषणयुक्त खानेकुरा दिन सक्ने बनाउन सकेको छैन । खरको छाना फेरिएर रङ्गीन पक्कै देखिएको छ तर जस्तापाता दिएर उसको अभावलाई टार्ने र आफै घरमा पक्कि छाना बनाउन सक्ने गरी सक्षम बनाउन सकिएको छैन । एक सिलेण्डर ग्याँस उपलब्ध गराएर वन विनास रोकिन्छकि निम्नवर्गीय परिवारको व्ययभार थपिन्छ ? उक्त सिलेण्डरले उसको परिवारमा इन्धनको गर्जो टार्ने बताउन सकिने छैन । यी माछा उपलब्ध गराउने कार्यक्रमहरु तत्काल बन्द गरेर माछा पाल्न सिकाउने कार्यक्रम तय कहिलेसम्म होलान् ?

तपाईको प्रतिक्रिया दिनुहोस् !