फुलमालाले होइन, फोटोले अभिनन्दन गरियो है

0
509

शंकर सिंह धामी
दार्चुला सदरमुकाम क्षेत्रको महाकाली नदी किनारमा भइरहेको तटबन्ध निर्माणले सुरक्षा र जोखिम दुबै निम्त्याउदै छ कि भन्ने बुझाइ धेरैको छ । नेपालतर्फ झण्डै ५ किलोमिटर लामो पक्की तटबन्ध निर्माण गरिएको छ । छिमेकी मित्रराष्ट्र भारतले धारचुला मुख्य बजार क्षेत्रको नदी किनारमा करिब १ किलोमिटर लामो तटबन्ध निर्माण गरिरहेको छ । महाकालीको वहाव र कटानले सम्भावित क्षतिलाई न्युन गर्न तटबन्धको संरचना निर्माण गरिनु स्वाभाविक हुन्छ ।
सुरक्षाको नाममा भारततर्फ निर्माण भइहेको तटबन्धको संरचनाले नेपालतर्फ भने असुरक्षा हुनेमा धेरैको चिन्ता छ । नदी किनारमा हिड्ने, हेर्ने सबैजसोको प्रतिक्रिया पाइन्छ– नेपालको भन्दा बढी उचाईको तटबन्ध भारततर्फ निर्माण गरिएको छ, नदीको प्राकृतिक वहाव नेपालतर्फ धकेलिने गरी तटबन्धको संरचनामा निर्माण गरिएको छ, भारततर्फको तटबन्ध संरचनासंगै नदी किनारमा थुप्रिएर रहेको ढुंगामाटोले नदीको वहाव नेपालतर्फ फर्किरहेको अवस्थामा सुधार आउदैन, भारततर्फको तटबन्ध निर्माणका लागि नेपाली पक्षले डाइभर्सन गर्न दिए पनि नदीको डाइभर्सन हटाइदैन र यसले नेपालतर्फ थप जोखिम बढाएको छ ।
यी, माथिका चाँसो, चिन्ता र सरोकारका विषय÷सन्दर्भले जिम्मेवार निकायहरुलाई छोएको देखिदैन । नदी किनार क्षेत्रकोे वास्तविकताबारे जानकार भए पनि आवश्यक सक्रियता, सतर्कता र भूमिका नेपाली पक्षले निर्वाह गर्न सकेको छैन । छिमेकीसंग निरिहता मात्रै होइन, आफ्नोतर्फ जोखिम बढाउने गरी सहमति गर्ने, लाचारी देखाउने र छिमेकीको निर्माण कार्यमा सहयोगी मात्रै बन्ने भूमिका नेपाल पक्षको देखियो ।
प्रशासनिक, राजनीतिक र स्थानीय जनताको स्तरबाट समेत भारतीय पक्षले तटबन्ध निर्माणमा दबाव सिर्जना गरेपछि नेपाली पक्ष निरिह भएको वास्तविकता छ । नदी किनारमा भ्रमण गर्ने, अवलोकन गर्ने सामान्य नागरिकले देख्ने, बुझ्ने र प्रश्न उठाउने विषयहरुलाई लिएर मैले पनि जिम्मेवार निकायको भूमिकामाथि प्रश्न उठाएको थिए । दुई महिनाअघि लेखमार्फत दार्चुलाका प्रजिअ र महाकाली नदी नियन्त्रण आयोजना प्रमुखलाई दुइटा आग्रह गरेको थिए । एउटा, आउदो वर्खाकालसम्म तपाईहरुले दार्चुलामै बस्नुपर्छ । वर्षातमा हुने जोखिम र क्षतिको जिम्मा तपाईहरुले लिनुपर्छ भनेको थिए ।
अर्को आग्रह थियो– भारतसंग गरिएको सहमति मात्र पनि कार्यान्वयन गर्नुभयो भने दार्चुलाबाट फुलमालासहित तपाईहरुको नागरिक अभिनन्दन गरी पठाउछौं भन्ने । भारततर्फ तटबन्ध निर्माण गरिसकेको स्थानको नदी किनारमा थुप्रिएको ढुंगामाटो हटाउने कुरा थियो । भारततर्फको तटबन्ध निर्माणपछि डाइभर्सन पूर्णरुपमा हटाएर नदीलाई प्राकृतिक वहावमा फर्काउने विषय पनि महत्वपूर्ण र आवश्यक थियो । तर, भारततर्फ तटबन्ध निर्माणको कार्य सकिएको छैन । यता, दार्चुलाका प्रजिअको सरुवा भइसकेको छ ।
यसबीचमा, दुई देशका स्थानीय प्रशासन र नागरिकस्तरमा भएका छलफल र सहमतिहरु यथावत छन् । छलफल र सहमतिकै आधारमा नदीको वहाव झण्डैं ४० देखि ५० मिटरसम्म नेपालतर्फ डाइभर्सन गरेर भारततर्फ तटबन्ध निर्माण भइरहेको छ । दुई महिनाभित्रै तटबन्ध निर्माणको कार्य गरिसक्ने भारतीय प्रतिवद्धता पूरा भएको छैन । घट्टेखोलाक्षेत्रमा त तटबन्धको जगहाल्ने काम समेत पूरा भएको छैन । तर, चैत्र महिनाको दोस्रो हप्ता भइसकेको छ । हिमालय क्षेत्रमा हिउ पग्लिएर अब नदीमा पानीको वहाव बढ्दै जान्छ ।
नदीमा पानीको स्तर बढ्दै जादा भारततर्फ बनाइएको डाइभर्सन तत्काल हटाउने अवस्था आउदैन । भारतीय पक्षले डाइभर्सन हटाउन खोजे पनि पानीको वहावले डाइभर्सन हटाउन सकिनेमा आशंका छ । त्योभन्दा पहिला भारततर्फको तटबन्ध निर्माणको कार्य पनि तत्कालै सकिने अवस्था देखिदैन । तटबन्धको संरचना निर्माण सम्पन्न नगरिकन भारतीय पक्षले डाइभर्सन हटाउला र ?
भारततर्फ बनाइएको डाइभर्सन यति अग्लो छ कि नेपालतर्फको तटबन्धको पक्की संरचनाभन्दा बढी उचाईको छ । महाकालीको वहाव भारततर्फको डाइभर्सनमा ठोक्किएर नेपालतर्फ फर्किने र पक्की तटबन्धको संरचनाभन्दा माथि पुग्ने खतरा छ । अहिले नै नदीको वहाव नेपालको तटबन्धको संरचनामा ठोक्किएको छ ।
खोतिला पहिरोको सामुन्नेबाट नदीको धार पूर्णरुपमा नेपालतर्फको तटबन्धमा ठोक्किने गरी फर्काइदै छ । यसले एकातिर तटबन्धको संरचनालाई कमजोर बनाउछ भने अर्कोतर्फ भविष्यमा पनि पानीको वहाव नेपालतर्फ नै फर्किरहन्छ । भारततर्फ भने अहिले राखिएको डाइभर्सनले नै पानीको वहाव रोक्छ र नेपालतर्फ फर्काउछ । भारततर्फको पक्की तटबन्ध निर्माणमा ढिलाइ भए पनि भारततर्फको सुरक्षा डाइभर्सनले गरिहाल्छ ।
बंगाबगर क्षेत्रको नदी किनारको ढुंगामाटो हटाउने कार्यमा नेपाली प्रशासनको संलग्नता र सक्रियताले धेरै प्रश्न उठेका छन् । नेपालतर्फ जोखिम बढाउने गरी किन यो स्तरमा महाकालीको वहाव पूर्वतर्फ फर्काउने कार्य भयो ? नेपालतर्फको नदी किनारमा रहेका ठूल्ठूला ढुंगा समेत हटाउन किन दिइयो ? अहिलेलाई मात्र होइन, वर्षाकालमा धेरै जोखिम बढ्नेगरी किन नदी किनारमा खनन कार्य गर्न दिइयो ? यसको जवाफ कस्ले दिने ?
तटबन्ध निर्माणमा भारतीय पक्षसंग समन्वय र सहमति गर्नेहरुले भविष्यमा हुनसक्ने जोखिमको जिम्मा लिनुपर्छ । तटबन्धको संरचना निर्माणपछि महाकालीको वहाव मध्यभागमा फर्काइयो भने, भारततर्फ थुप्रिएका ढुंगामाटो हटाइयो भने, डाइभर्सनमा राखिएका तारजाली र ढुंगाहरु हटाइयो भने यसका लागि प्रजिअ र आयोजना प्रमुखलाई दार्चुलावासीका तर्फबाट नागरिक अभिनन्दन गरौंला भन्ने उद्घोष गरेको थिए ।
तर, प्रजिअको सरुवा भइसकेको छ । महाकालीको अवस्था जोखिममै छ । डाइभर्सन हट्छ कि हट्दैन ? निश्चित छैन । झन् आजभोलिदेखि नै नदीको वहाव नेपालतर्फ फर्किएको छ, नेपालको तटबन्ध संरचनामा ठोक्किएर नदीको पानी बगिरहेको छ । जुनसुकै नागरिकले हेर्दा पनि नेपालतर्फ जोखिम विद्यमान रहेको निस्कर्ष निकाल्छन् । नेपाल देशको प्रतिनिधित्व गरेर भारतीय पक्षसंग छलफल गर्ने, समन्वय गर्ने र सहमति गर्ने पात्रहरुले अब जिम्मा लिनुपर्छ । नेपालतर्फ हुने जोखिम र क्षतिका लागि ती समन्वयकर्ता र सहमतिकर्ताहरु जिम्मेवार हुने कि नहुने ?
फागुन १२ गते विहान मात्रै बंगाबगरको घट्टेखोला वारीको क्षेत्रमा महाकालीको वहाव पूर्णरुपमा नेपालतर्फ फर्काइएको तस्वीर सार्वजनिक भयो । भारततर्फको तटबन्ध निर्माणका लागि ५० मिटर चौडाइको डाइभर्सन बनाएपछि पनि नदीको वहाव नेपालको तटबन्ध संरचनामा ठोक्किनेगरी र जोखिम हुनेगरी खनन गर्ने कार्यले प्रश्न उठेको छ । कस्को इशारा र स्वार्थमा यस्तो कार्य भएको हो ? कस्ले जवाफ दिन्छ ? जिल्ला प्रशासन कार्यालय र यसको नेतृत्व गर्ने प्रजिअ नै मुख्य जिम्मेवारका रुपमा ठोक्किन्छन् । त्यसैगरी महाकाली नदी नियन्त्रण आयोजना पनि यसका लागि जिम्मेवार हुनुपर्छ ।
नेपाल र भारत दुबैतर्फ जोखिम नहुने गरी नदीको वहाव मध्यभागमा फर्काउनुस्, भारततर्फको तटबन्ध निर्माणपछि डाइभर्सन हटाउन लगाउनुस्, सहमतिअनुसार डाइभर्सनमा प्रयोग भएका तारजाली र ढुंगाहरु हटाउन लगाउनुस् भन्ने आग्रह थियो, अहिले पनि यही आग्रह छ । यी, आग्रहरु पूरा नभएको अवस्थामा दार्चुलाबाट सरुवा भएर जान लाग्नुभएका प्रजिअ ज्यूलाई फुलमालाले अभिनन्दन गर्न सकिएन । पछिल्ला अवस्थाहरुको चित्रण गर्ने फोटोहरुले अभिनन्दन गर्ने अवस्था आयो । दार्चुलामा नयाँ प्रजिअको जिम्मेवारी आउने पहिलो महिला प्रजिअ ज्यूलाई पनि यिनै फोटोहरुले स्वागत गर्दछु । जय मातृभूमि !