दार्चुला, माघ २३ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिस्पर्धामा उत्रिएका दार्चुलाका प्रमुख तीन दलका उम्मेदवारहरुले देशभक्त नेता प्रेम सिंह धामीको सालिकमा माल्यार्पण गरेका छन् । माघ २२ गते नेपाली काग्रेसका उम्मेदवार धर्मानन्द जोशीले मालिकार्जुन गाउँपालिका–३ सिलंगैरस्थित सालिकमा माल्यार्पण गरेपछि चाँसो र चर्चा बढेको छ ।
मालिकार्जुन राष्ट्रिय धाममा विहिवारदेखि सुरु भएको शिवपुराण महायज्ञको उद्घाटनमा सहभागी भएका जोशीले मन्दिर परिसरको पूर्वतर्फ रहेको सालिकमा माल्यार्पण गरेका हुन् । माल्यार्पणपछि प्रतिक्रिया दिदै जोशीले ‘स्वर्गिय धामी कुनै पार्टीको मात्रै नेता नभएर देशकै नेता भएको’ बताएका छन् ।
स्वर्गिय नेता धामीले मालिकार्जुनमा जन्मिएर देशको सेवा गर्नुभएको जोशीको भनाई छ । दार्चुलाको विकासको लागि सशक्त आवाज उठाएको र महत्वपूर्ण योगदान गरेको भन्दै जोशीले स्मरण गरेका छन् । ‘उहाँको जन्मभूमिमा आज माल्यार्पण गर्न पाउदा गौरव महशुस गरेको छुँ’ उहाँले भन्नुभयो ।
जोशीले ‘स्वर्गिय नेता धामी राष्ट्रिय नेता भएकोले’ आफुले सम्मान गरेको बताउनुभयो । नेपाली काग्रेसका प्रत्यक्ष तर्फका उम्मेदवार जोशीसंगै समानुपातिकतर्फका उम्मेदवार करवीर सिंह कार्कीले पनि सालिकमा माल्यार्पण गरेका छन् ।
नेपाली काग्रेसका उम्मेदवार जोशीले देशभक्त नेता प्रेम सिंह धामीको सालिकमा माल्यार्पण गरेको कार्यलाई धेरैले प्रशंसा गरेका छन् । असल राजनीतिक संस्कार देखिएको भन्दै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया दिनेहरु धेरै छन् ।
यसअघि नेकपा (एमाले)का उम्मेदवार गणेश सिंह ठगुन्नाले पनि माघ ८ गते मालिकार्जुनस्थित सालिकमा माल्यार्पण गरेका थिए । माघ ६ गते खलंगामा उम्मेदवारी दर्तापछि मालिकार्जुन गाउँपालिकाका नेता–कार्यकर्ता र शुभचिन्तकहरुसंग भेटघाट गर्न ठगुन्ना पर्सिपल्ट मालिकार्जुन पुगेका थिए । मालिकार्जुनमा भेला भएका नेता–कार्यकर्ता र शुभचिन्तकहरुसंगै उम्मेदवार ठगुन्नाले सालिकमा माल्यार्पण गरेका थिए ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार लक्ष्मणदत्त जोशी माघ १२ गते देशभक्त नेता प्रेम सिंह धामीको सालिकमा माल्यार्पण गरेका छन् । मालिकार्जुन राष्ट्रिय धाममा दर्शन र पूजापाठ गरेपछि उम्मेदवार जोशीले मालिकार्जुन–३ स्थित सालिकमा नेता–कार्यकर्तासहित माल्यार्पण गरेका थिए ।
नेकपाका उम्मेदवार जोशीले माघ १५ गते सदरमुकाम खलंगास्थित सालिकमा पनि माल्यार्पण गरेका थिए । दुहुँ क्षेत्रमा भ्रमण गर्नुअघि खलंगास्थित सालिकमा जोशीले माल्यार्पण गर्दै सार्वजनिक प्रतिक्रिया पनि दिएका थिए ।
देशभक्त नेता प्रेम सिंह धामीबाट प्रभावित भएर आफुले राजनीतिमा प्रवेश गरेको जोशीको भनाई छ । आफ्नो आदर्श नेताको रुपमा स्वर्गिय धामी रहेको भन्दै नेकपाका उम्मेदवार लक्ष्मणदत्त जोशीले खलंगाको सालिक स्थापनामा समेत आफुले गरेको योगदान स्मरण गरेका छन् ।
अहिलेसम्म स्वर्गिय नेता धामीको सालिकमा माल्यार्पण नगरे पनि उहाँको योगदानलाई आफुले उच्च सम्मान गर्दैआएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजेश सिंह सामन्तले बताउनुभयो । ‘अहिले हामी चुनावी प्रचारप्रसारमा छौ, यतिबेला सालिकमा माल्यार्पण गर्ने अवसर जुरेको छैन तर हामी उहाँलाई उच्च सम्मानका साथ स्मरण गरिरहन्छौं’ उहाँले भन्नुभयो ।
राष्ट्रियता र दार्चुलाको सिमाक्षेत्रको विषयमा स्वर्गिय नेता धामीको योगदान अतुलनीय रहेकोले आफुले सधैभरी सम्मानभाव राख्दैआएको रास्वपाका उम्मेदवार सामन्तको भनाई छ । ‘विचार, आस्था र राजनीतिक दल फरक होला तर उहाँको योगदानलाई हामी सबैले कदर गर्नुपर्छ र गर्छौ’ सामन्तले भन्नुभयो ।
तीन वर्षअघि भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका क्रममा प्रदेशसभाका काग्रेस उम्मेदवार विक्रम सिंह धामीले मालिकार्जुनमा पुगेर प्रेम सिंह धामीको असली उत्तराधिकारी आफु भएको बताएका थिए ।
यसैगरी, २०७९ सालको चुनावी प्रचारप्रसार अभियान दार्चुलाबाट सुरु गर्दै नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीको मुद्दा आफु र प्रेम सिंह धामीले उठाएको बताएका थिए ।
‘काठमाडौंलाई कालापानी किन दुख्दैन ?’ भन्ने गम्भीर प्रश्नसहित स्वर्गिय नेता धामीले कालापानीको मुद्दा संसद, सदन र मिडियामा एकसाथ उठाएर स्थापित गरेका थिए । २०५३ सालमा भएको महाकाली सन्धीको बेलादेखि तत्कालिन दार्चुलाका सांसद धामीले यो मुद्दा राष्ट्रियस्तरमा उठाएका थिए ।








