पवित्र महाकाली स्वच्छता अभियान र सरोकारवालाहरुको भूमिका

228

शंकर सिंह धामी ।

जीवनमा राम्रो कार्य गर्न को चाहदैन ? सबै मान्छे राम्रो गर्न चाहन्छन् । राम्रो कार्य गर्नकै लागि यो जीवन हो । राम्रो कार्य गर्ने इच्छा र चाहनालाई श्रृजनात्मक रुपमा व्यवहार उतार्नका लागि हाम्रो सार्वजनिक प्रस्ताव छ । यो प्रस्ताव हो— पवित्र महाकाली स्वच्छता अभियानको ।
‘संकल्प व्यक्तिको, सेवा प्रकृतिको’ भन्ने हाम्रो स्पिरिट छ, नारा छ, मूलमन्त्र छ । पवित्र महाकाली नदी किनारमा जीवन विताइरहेको एक नागरिकको दायित्व/भूमिका के हो ? यसबारे हरेक नागरिकले सोच्नुपर्छ, गम्भीर बन्नुपर्छ र पवित्र महाकाली नदीको संरक्षणमा जुट्नुपर्छ ।

नदीले हामीलाई के दिएको छैन ? सबै कुरा दिएको छ । स्वच्छ पानी, शीतलता, प्राकृतिक आनन्द, ढुंगा, गिट्टी, वालुवा, जीविकोपार्जनको आधार आदि आदि । एक शब्दमा भन्ने हो भने महाकाली नदी भएकाले नै हाम्रो सभ्यता छ, वस्ती छ र जीवन छ ।

अभियानप्रतिको आशंका 

राम्रो र पवित्र उद्देश्यले थालिएको यो अभियानबारे आशंका पनि उठ्न सक्छन् । राजनीतिक उद्देश्यले प्रेरित हो कि ? कुनै व्यक्ति/निकायप्रति आग्रह–पूर्वाग्रहले सञ्चालित छ कि ? आर्थिक लाभको स्वार्थ छ कि ? प्रसिद्धि (प्रचार–प्रसार)को लोभ (नाम कमाउने लोभ) हो कि ? टाइमपास गर्ने मेलो हो कि ?
शंकाको सुविधा सबैलाई हुन्छ । तर, शंकालाई हाम्रा गतिविधि/व्यवहार/नतिजाबाट परीक्षण गरिनुपर्छ । शंका सार्वजनिक रुपमा अभिव्यक्त नगर्नुहोस् तर परीक्षण अवश्य गर्नुहोस् हाम्रो अनुरोध छ ।
एउटा नागरिकको दायित्व अर्थात महाकाली नदी किनारमा (खासगरी खलंगा बजार क्षेत्रमा) बसोवास गर्ने प्रत्येक नागरिकको दायित्व छ, जिम्मेवारी छ– महाकाली नदीको पवित्रता जोगाउने, स्वच्छता बनाउने र संरक्षण गर्ने । प्राकृतिक सम्पदा (नदी)को संरक्षण गर्ने भित्री ज्ञान सबैसंग छ तर सतहमा/व्यवहारमा प्रदर्शित भएको छैन । ज्ञान हुनु, बोध हुनु धेरै राम्रो पाटो हो तर व्यवहारमा कार्यान्वयन हुन नसकेको ज्ञान (अर्थात कामकाजी नभएको ज्ञान)को कुनै अर्थ हुँदैन ।
महाकाली नदीको स्वच्छता अभियानमा संलग्नता हुनु नितान्त व्यक्तिगत दायित्व र जिम्मेवारीको कुरो÷विषय पनि हो । व्यक्तिको बानी–व्यवहार, आचरण, जीवनशैली, कार्यशैली, विवेक र दैनिकीको असर महाकाली नदीको स्वच्छतासम्म जोडिएको हुन्छ । नदीमा थुक्ने (गुटका, पान, विडीचुरोट, रक्सी सेवन गर्दा थुक्ने), फोहोर फाल्ने, दिसा–पिसाव गर्ने, ढल मिसाउने काम व्यक्ति–व्यक्तिबाटै हुन्छन् । महाकालीको पवित्रता र स्वच्छता बनाइराख्नु जरुरी छ । यसका लागि हरेकले आ–आफ्नो ठाउँबाट सक्रिय बनौं, योगदान पुर्याऔं । सहकार्य गरौं, हातेमातो गरौं ।
हाम्रालागि व्यक्तिगत सरसफाई जति महत्वपूर्ण छ हामी बसोवास गरिरहेको क्षेत्र अर्थात पवित्र महाकाली नदीको स्वच्छता पनि त्यतिकै महत्वपूर्ण छ । यो कुरा मनन गरौं, आत्मसात गरौं । अरुलाई पनि यसको महत्वबोध गराऔं ।

सकारात्मक पाटाहरु

१) महाकाली नगरपालिकाको प्राथमिकतामा सरसफाई क्षेत्र छ । खलंगा बजार क्षेत्रको सरसफाईका लागि बजेट विनियोजन, जनशक्ति परिचालन र सवारीसाधन लगायतका स्रोतसाधनको व्यवस्थापन गरिएको छ । बजार क्षेत्रमा नियमित (दैनिक) रुपमा सरसफाईको कार्य हुँदैआएको छ । सरसफाइको अभ्यास र अवस्था सुधारोन्मुख छ । कोठा वा घरभित्रको फोहोरमैला नगरपालिकाले निर्धारण गरेको समय र प्रक्रियाअनुसार संकलन तथा व्यवस्थापनको अभ्यास हुन थालेको छ ।
सरसफाई कर्मचारीले सिठी बजाउने वित्तिकै फोहोरमैला बोकेर संकलन कार्यमा सघाउदै गरेको स्थानीयको अभ्यास देखिन्छ ।
२) हामी सबै सार्वजनिक जीवनका पात्र हौ । आफ्ना लागि मात्रै होइन, अरुका लागि केही राम्रो गर्ने जिम्मेवारी हामीले पाएका छौ । यो दायित्वबोध हामी सबैमा भएको छ । आजको (अन्तरक्रिया कार्यक्रमको) यो समुपस्थिति र सहभागिता पनि यसको प्रमाण हो । आ–आफ्नो ठाउँबाट सकारात्मक र रचनात्मक योगदान पुर्याउनु हरेक सार्वजनिक जीवनका पात्र र निकायको कर्तव्य हो ।
३) हामीसंग जिम्मेवारी वा दायित्व मात्रै छैन । बजेट र स्रोतसाधन पनि उपलब्ध छन् । अधिकार र कानुनहरु छन् । वैधानिक, सामाजिक र नैतिक आधारहरु हामीसंग छन् । अब हामीले नगरे अरु कस्ले गर्छ ? गर्ने वा नगर्ने ? जिम्मा हाम्रै हो । बाहिरका मान्छे र निकाय आएर यहाँको सरसफाई गरिदिने होइनन् । त्यो सम्भव पनि छैन । एक, दुई वर्षको कार्यकाल दार्चुलामा बिताएर सरुवा भइजाने कर्मचारीको पनि यो आधारभूत जिम्मेवारी होइन । यो जिम्मेवारी त यहाँका हरेक नागरिकको हो, स्थानीयवासीको हो । स्थानीय सरकारको अगुवाइमा आम नागरिक र सबै सरोकारवालाले योगदान गर्नुपर्छ ।
४) दुर्लभ मानव जीवन आत्मकल्याणका लागि प्राप्त छ । यो श्वास्वत र आध्यात्मिक आस्था हो । अर्काको भलाई अर्थात सार्वजनिक हितका कार्यले आत्मकल्याण छिटो र सहज रुपमा हुन्छ भन्ने सनातन मान्यता र विश्वास छ । हामी कर्ममा विश्वास गर्छौ र कर्मफलबाट कोही पनि टाढा छैन । असल कर्म गरेर राम्रो फल प्राप्त गर्न हामी र हाम्रो जीवन क्रियासिल छ, हुनुपर्छ ।
५) नेपालका प्रथम ऐतिहासिक जगतगुरुले पटक पटक महाकाली नदीको पवित्रता र महत्वबारे प्रकाश पार्नुभएको छ । नदीको संरक्षण गर्न, पवित्रता जोगाइराख्न र आस्था बढाउन उहाँबाट हालैको दार्चुला भ्रमणको बेला पनि आव्हान भएको छ । सनातन धर्मका अभिभावक जगतगुरुबाट आव्हान भएको यो पवित्र कार्यमा तपाई हामी सबै जुटौं । आफ्ना लागि, समाजका लागि र प्रकृति संरक्षणका लागि सक्रिय बनौं, योगदान पुर्याऔं ।
६) महाकाली नदीको उत्पत्ति र मुहानबारे पनि जगतगुरुले शास्त्रिय तथ्य प्रस्तुत गर्नुभएको छ । कुवेरको राजधानी रहेको क्षेत्र महाकालीको मुहान हो । भगवान शिवको जटाबाट महाकाली गंगाको उत्पत्ति भएको हो भन्ने पौराणिक तथ्यलाई जगतगुरुले उजागर गर्नुभएको हो । यो समय र परिस्थितिमा हामीलाई शास्त्र र पुराणको तथ्यको आधारमा वास्तविकता उजागर गरिदिने अभिभावक प्राप्त भएका छन् । सनातन धर्म र संस्कृतिका मात्रै होइनन् पवित्र नेपाल भूमिका धरोहर पनि जगतगुरु हुनुहुन्छ ।
७) महाकाली नदी किनारमा बनेको तटबन्धको संरचना नेपालकै नमुना संरचना हो । यो हाम्रालागि गौरव र अवसरको विषय पनि हो । यसको सदुपयोग, संरक्षण र उचित व्यवस्थापन गर्न सकेमा दार्चुला सदरमुकामको सुरक्षाका साथै हाम्रो सभ्यता र संस्कृतिको पनि प्रवद्र्धन हुनेछ । तटबन्धको संरचनाले भूमिको सुरक्षा मात्रै गरेको छैन, राष्ट्रिय स्वाभिमानलाई पनि उचो बनाएको छ । तटबन्धमाथि बनेको सर्भिस रोडको संरचनाले यातायातमा सहजता हुन्छ साथै नगरवासीलाई मर्निङ वाक गर्न, हिडडुल गर्न, प्र्रकृतिको आनन्द प्राप्त गर्न, भ्रमण गर्न सुविधा भएको छ । पवित्र महाकाली नदीमा स्नान, दान, पूजापाठ र दाहसंस्कार लगायतका कार्य गर्न सहज भएको छ ।
८) यसपालीको प्रजातन्त्र दिवसको अवसरमा खलंगा बजारको सरसफाई कार्यक्रम गरियो । आदरणिय प्रमुख जिल्ला अधिकारी ज्यूको अगुवाइ र पहलमा महाकाली नदी किनार क्षेत्रको फोहोरमैलाको अवस्थाबारे पनि चाँसो राखिएको छ । प्रजातन्त्र दिवसका दिन पुलघाटदेखि वसपार्कसम्मको नदी किनार क्षेत्रको सरसफाईको अवस्थाबारे अनुगमन÷अवलोकन पनि गरिएको छ । यो पहलले हामी सबैलाई गम्भीर बनाएको छ । तत्काल नदी किनारको सरसफाईका लागि केही कार्य गर्नुपर्छ भन्ने जिम्मेवारीबोध हामी सबैले गरेका छौ । प्रजातन्त्र दिवसको अवसरमा सरसफाईको रचनात्मक कार्यक्रम आयोजना एवं सञ्चालन गर्नुभएकोमा प्रमुख जिल्ला अधिकारी ज्यूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
९) पवित्र महाकाली स्वच्छता अभियानले हरेक महिनाको संक्रान्ति र पूर्णिमा तिथिको साँझ महाकाली नदी किनारमा दीप प्रज्वलन गर्दैआएको छ । यसपटक फागुन ३ गते पूर्णिमा तिथिको साँझ घाटबजारस्थित महाकाली समैजी मन्दिर परिसर र नदी किनार क्षेत्रको दीप प्रज्वलन कार्यक्रममा सहभागी भई प्रमुख जिल्ला अधिकारी ज्यू र जिल्लास्थित सुरक्षा प्रमुख ज्यूहरुले हामीलाई हौसला बढाउनुभएको छ । यसका लागि उहाँहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।

वर्तमानका प्रमुख समस्या

१) नदीप्रति श्रद्धाभाव र आस्था प्रदर्शन हामीबाट भएको छैन । आम नागरिकमा पवित्र महाकाली नदीप्रति श्रद्धा र आस्था जागृत गराउन सक्नुपर्छ । श्रद्धावान र आस्थावान नागरिकले कहिल्यै पनि नदीलाई सम्मानभावले व्यवहार गर्छ । आफु गल्ती गर्दैन र अरुलाई पनि गल्ती गर्न दिदैन ।
२) महाकाली नदी र नदी किनार क्षेत्रमा फोहोर विसर्जन गर्ने प्रवृति छ । नदी किनार छेउका घरहरुबाट निस्किने फोहोरमैला सुटुक्क (लुकाएर) र अज्ञानतावश खुल्लमखुला रुपमासमेत (नदीमा फोहोर फाल्ने बानी परेर) नदीमा फोहोरमैला मिल्काइन्छ ।
३) दिसा–पिसाबको विसर्जन: बजार क्षेत्रमा बसोवास गर्ने भारतीय कामदारहरुले नदी किनार क्षेत्रलाई दिसा–पिसाब गर्ने स्थल बनाएका छन् । दार्चुला बजार क्षेत्रमा सयौं भारतीय मिस्त्री र कामदार छन् । उनीहरु दिसा पिसाब विसर्जनका लागि खुला ठाउँ प्रयोग गर्न अभ्यस्त छन् । आफ्नो बानीका कारण घरभित्रको शौचालय प्रयोग नगरेर उनीहरु नदी किनारमा जान्छन् । केही घरधनीहरुले भारतीय कामदारलाई घरभित्रको शौचालय प्रयोग गर्न दिने नगरेको अवस्था पनि सुनिन्छ ।
नदी किनार क्षेत्रमा काम गर्ने स्थानीय र नेपाली कामदारले पनि इमरजेन्सी अवस्थामा नदी किनार क्षेत्रमै दिसा र पिसाब विसर्जन गर्ने गर्छन् । नदी किनार क्षेत्रमा पैदल हिड्ने यात्रुले पनि यदाकदा यस्तै अवस्था र अभ्यासको अनुभव गरेका छन् । (सार्वजनिक शौचालयको उपलब्धता नहुदा पनि यस्तो समस्या र अभ्यास देखिन्छ ।)
४) शौचालयको ढल विसर्जन: खलंगाको घाटबजार क्षेत्र र बंगाबगर क्षेत्रलगायत केही घरहरुको शौचालयको ढल सिधैं महाकाली नदीमा मिसाइएको छ । यो लज्जाजनक अवस्था हो । कानुनी, सामाजिक, धार्मिक र नैतिक रुपमा यो गम्भीर अपराध नै हो ।
५) नदी किनार क्षेत्रका केही घरहरुमा होटल, पसल पनि सञ्चालित छन् । ती होटल र पसलको फोहोर सिधैं महाकाली नदीमा फालिदैआएको छ । रक्सी र वियरका बोतल (सिसा) सिधैं नदीमा मिल्काइन्छ । भान्साकोठा र अन्य फोहोरमैलाको ढल नालीमार्फत नदीमा फालिनु त हाम्रालाई धेरै सामान्य कुरा/विषय बनेको छ । सबैजसोले यसलाई सामान्य र स्वाभाविक रुपमा लिन्छौ/ग्रहण गर्छौ ।
६) बजार क्षेत्रका साथै नदी किनार क्षेत्रमा पनि फोहोरमैला व्यवस्थापनको राम्रो र व्यवस्थित प्रणाली सञ्चालन हुन सकेको छैन । नगरपालिकाको स्रोतसाधन, जनशक्ति र जोडवल अहिले मुख्य सडक क्षेत्र र नदी किनार क्षेत्रभन्दा माथिल्ला वस्तीहरुमा केन्द्रीत छ । (महाकाली नदी किनार क्षेत्रमा फालिएको फोहोरमैलाको थुप्रो र त्यसक्षेत्रको दुर्गन्धले यसको पुष्टि गर्दछ) फोहोरमैला संकलन, ढुवानी र विसर्जनलगायतको स्पष्ट र व्यवस्थित प्रणाली अवलम्बन गर्नु आवश्यक छ ।
७) केही सरकारी कार्यालय/निकायहरुको फोहोरमैला र ढल सिधैं नदीमा र नदी किनारमा फालिदैआएको छ ।
८) नदी किनार क्षेत्रमा पशु वधशाला सञ्चालन गरिएको छ । खुला रुपमा पशुचौपाया र कुखराको वध गरेर मासु व्यवसायीहरुले पवित्र नदीको स्वच्छतामा प्रहार गर्दैआएका छन् ।

हाम्रो अपेक्षा

सबैबाट हामीले यस्तो अपेक्षा गरेका छौ

१) पवित्र महाकाली नदीको महत्वबोध गरौं ।
२) पवित्र महाकाली नदीको स्वच्छताका लागि प्रतिवद्ध बनौं र सक्रिय बनौं ।
३) महाकाली नदीको स्वच्छताका लागि योगदान पुर्याऔं र अरुलाई पनि प्रेरित गरौं ।
४) महाकाली नदीमा विसर्जन भइरहेको फोहोरमैला र ढलनिकासलाई प्रतिबन्ध गरौं ।
५) व्यक्ति–व्यक्तिले सचेत, सक्रिय र इमान्दार बनेपछि मात्रै समाज सभ्य बन्छ । तसर्थ महाकाली नदीको स्वच्छताका लागि व्यक्ति, घर–परिवार, टोल र वस्ती क्रमशः जिम्मेवार र सक्रिय बनौं ।
६) बजार क्षेत्रमा उत्पादन हुने फोहोरमैलाको उचित संकलन र विसर्जन प्रणाली निर्माण गरौं र त्यसको अवलम्बन गरौं ।

महाकाली नगरपालिकाबाट हाम्रो अपेक्षा

१) बजार क्षेत्रको साथै महाकाली नदी किनार क्षेत्रको सरसफाइको नेतृत्वदायी भूमिका नगरपालिकाको हुन्छ । यो जिम्मेवारीबोध गरौं ।
२) नगरक्षेत्रमा उत्पादन गरिने फोहोरमैला संकलन र विसर्जनको मुख्य जिम्मेवारी पनि नगरपालिकाकै हो । फोहोरमैला व्यवस्थापन प्रणाली सुधार गरेर महाकाली नदीमा र नदी किनार क्षेत्रमा फोहोरमैला फाल्ने कार्य बन्द गरौं, गराऔं । यसका लागि हरेक घरधुरीलाई सुचित, सजग र जिम्मेवार बनाउनुपर्छ । प्रचारप्रसार गरी घरघर र कोठाकोठामा यो सन्देश पुर्याउनु जरुरी छ कि तपाईको कोठा वा घरबाट निस्कने फोहोरमैला निश्चित ठाउँमा (यो ठाउँमा), निश्चित समयमा संकलन (जम्मा) गर्नुहोस् । तपाईको घरबाट निस्कने फोहोरमैला अन्त कतै फाल्न पाइदैन । यदि नगरपालिकाको फोहोरमैला व्यवस्थापन प्रणालीविरुद्ध नदीमा वा नदी किनारमा वा अन्त कतै पनि फोहोरमैला फालियो भने कारवाही हुने जानकारी पनि दिनुपर्छ । अटेरी र नियतवश असहयोगी बन्नेलाई कारवाही पनि गर्नुपर्छ ।
३) फोहोरमैला संकलन गर्ने (थुपार्ने) निश्चित स्थान निर्धारण गरिनुपर्छ र ती स्थानहरुमा फलामे ड्रमहरु राखिनुपर्छ । नजिक वा वरिपरीका घरहरुबाट निस्किने फोहोर त्यही ड्रममा संकलन गर्न लगाइ सरसफाईकर्मीबाट नियमित (दैनिक) ढुवानी एवं फोहोर व्यवस्थापनको कार्य गरिनुपर्छ । नदी किनार क्षेत्रको सर्भिस रोडमा केही स्थानमा पनि यस्ता फोहोरमैला संकलन गर्ने ड्रमहरु राखिनुपर्छ ।
४) पुलघाट, वसपार्क र नदी किनार क्षेत्रका केही स्थानमा सार्वजनिक शौचालय निर्माण गरी सञ्चालन गरिनुपर्छ ।
५) महाकाली नदी किनारमा शौचालयको ढल मिसाएका घरधुरीहरुको पहिचान गरी निश्चित समयसीमा भित्र सेफ्टीटंकी निर्माण गर्न लगाउनुपर्छ । यसका लागि आवश्यक छलफल र समन्वय गरिनुपर्छ । सार्वजनिक–नीजि साझेदारीमा सामूहिक सेफ्टी टंकी निर्माणको विकल्प पनि हुनसक्छ ।
६) नदी किनार क्षेत्रमा निर्माण भएको सर्भिस रोडमा घरको छतको पानी र ढलको पानी पर्ने गरी राखिएका पाइप र संरचना हटाउन लगाउनुपर्छ ।
७) केही उपयुक्त स्थानहरुमा सार्वजनिक खानेपानी धारा राखिनुपर्छ ।
८) पुलघाट, बंगाबगर, वसपार्कलगायत आवश्यक स्थानमा सिसिटिभी जडान गरी फोहोरमैला व्यवस्थापनमा निगरानी बढाउनुपर्छ । सिसिटिभीको प्रयोगले सार्वजनिक स्थल र नागरिकको सुरक्षामा पनि योगदान पुग्नेछ ।

महाकाली नदी नियन्त्रण आयोजना

१) तटबन्धको संरचनालाई असर पर्ने गरी घरभित्रको फोहोरमैला, ढल मिसाउन दिनु हुँदैन । सर्भिस रोडमा नीजि सामान राख्ने कार्य बन्द गराउनुपर्छ ।
२) तटबन्धको संरचनाभित्र ढल, फोहोरमैला र शौचालयको ढलको पाइप मिलाएर नदीमा विसर्जन गर्ने अवस्थामा रोक लगाउनुपर्छ ।
३) सदरमुकाम क्षेत्रको कोरएरियामा २÷३ वटा सार्वजनिक शौचालय निर्माण गरिनुपर्छ । यसमा नगरपालिकासंग साझेदारी पनि हुनसक्छ । सार्वजनिक उत्तरदायित्वको पाटो पनि हो कि ?
४) सर्भिसरोडको भित्तातिर वृक्षारोपण र केही ठाउँमा नमुनाको रुपमा बगैचा निर्माण गरिनुपर्छ । यसमा पनि नगरपालिकासंग सहकार्य गर्न सकिएला कि ?
५) सर्भिस रोडको केही स्थानमा विसौनी÷विश्रामस्थल निर्माण गरिनुपर्छ । पैदल यात्रुलाई केही समय आराम गर्न सुविधा हुन्छ ।
सर्भिस रोडको भित्तामा वृक्षारोपण, बगैचा निर्माण र सर्भिस रोडको किनारमा विश्रामस्थल निर्माण हुन सक्यो भने नदी किनारको सुन्दरता बढ्ने छ । नदीको स्वच्छता र संरक्षणमा पनि सकारात्मक प्रभाव पर्नेछ ।
६) तटबन्धको संरचना निर्माणका लागि ठेक्का सम्झौता भएका तर लामो समयदेखि कार्यप्रगति हुननसकेको क्षेत्रमा समयमै निर्माण कार्य सम्पन्न गर्ने, गराउने । (पुलघाट, श्रीबगड क्षेत्र)
७) यसपालीको वर्षा र वाढीले क्षतिग्रस्त भएको तटबन्धको संरचना (लञ्चिङ ब्लक) तत्काल मर्मत गर्ने, गराउने ।
८) बनेको तटबन्ध संरचनाको दीगो व्यवस्थापन र संरक्षण हुन सकोस् ।

जिल्ला प्रशासन कार्यालय, दार्चुला 

१) पवित्र नदीको स्वच्छताका लागि सरोकारवालाहरुबीच समन्वय गरिदिनुपर्छ ।
२) फोहोरमैला व्यवस्थापन प्रणाली विपरित नदी र नदी किनारमा फोहोरमैला विसर्जन गर्नेलाई कानुनी कारवाहीको दायरा ल्याउनुपर्छ ।
३) पवित्र महाकाली नदीको स्वच्छता र सरसफाईका लागि सुरक्षाकर्मी र सरकारी संयन्त्रहरुको परिचालनमा समन्वय गरिदिनुपर्छ ।
४) पवित्र महाकाली नदीको स्वच्छता अभियानमा समयसापेक्ष सुझाव, सल्लाह प्रदान होस् ।
जिल्लास्थित सुरक्षा निकायहरु ः
१) नदी र नदी किनारमा फोहोरमैला विसर्जन गर्नेमाथि निगरानी (विशेषतः नेपाल प्रहरी र सामुदायिक प्रहरी)
२) पवित्र महाकाली नदी स्वच्छता अभियानमा जनशक्ति परिचालन । (हप्तामा वा महिनामा एक दिन सार्वजनिक क्षेत्रको सरसफाई कार्यक्रम सञ्चालन)

शैक्षिक संस्थाहरु

१) पवित्र महाकाली नदीको स्वच्छताका लागि सचेतना फैलाएर योगदान ।
२) विद्यार्थीहरुलाई परिचालन गरेर नदी र नदी किनारको सरसफाई, वातावरणीय सरसफाईमा योगदान ।

सरकारी कार्यालय/सार्वजनिक निकायहरु

१) कार्यालय परिसर र कार्यालयको वरिपरी सरसफाईको नमुना अभ्यास ।
२) पवित्र महाकाली स्वच्छता अभियानमा सहभागिता ।

टोसा कार्यक्रम

१) महाकाली नदी संरक्षणको नाममा बजेट खर्च भइरहेको छ । यो बजेटले कामकाजी संरचना बनाउनुपर्छ । महाकाली नदी र नदी किनारको फोहोर व्यवस्थापनका लागि फोहोरमैला संकलन गर्ने संरचना वा ड्रमहरु यो कार्यक्रमले उपलब्ध गराओस् । सामूहिक सेफ्टीटंकी निर्माणमा पनि टोसा कार्यक्रमले सहयोग गर्न सकेमा राम्रो उपलब्धि हुन्छ ।

सञ्चारमाध्यमहरु

१) पवित्र महाकाली नदीको महत्वबोध गराउन प्रचारप्रसार ।
२) सरसफाई र स्वच्छता अभियानका गतिविधिलाई महत्व र स्थान दिएर योगदान ।
३) फोहोरमैला व्यवस्थापन प्रणालीको अनुगमन (समाचारमा फोलोअप) ।
४) सरोकारवाला निकाय र पात्रहरुको भूमिका/सक्रियतामा निगरानी गरौं ।

पवित्र महाकाली स्वच्छता अभियान निरन्तर रुपमा सञ्चालन भइरहेको नागरिक अभियान हो । व्यक्ति–व्यक्तिको संकल्प र सक्रियताले यो अभियान सञ्चालन हुनेछ । सम्भव भएसम्म सबैं सरोकारवालालाई सक्रिय बनाउने, त्यो सम्भव हुन नसके अधिकांश सरोकारवालालाई सक्रिय बनाउने, त्यो पनि सम्भव नभए केही सरोकारवालालाई सक्रिय बनाउने, त्यो पनि सम्भव नभए दुई चारजनालाई त सक्रिय बनाउने, त्यो पनि सम्भव नभए एक्लै भए पनि आफु भने सधै महाकालीको स्वच्छतामा सक्रिय भइरहने प्रणका साथ यो अभियान थालिएको छ ।
माथिको संकल्प र सक्रियताको प्रण हरेक व्यक्तिका हकमा लागू हुन सकोस् । आफ्नो ठाँउबाट सक्रिय बनौं, पवित्र महाकालीको स्वच्छतामा योगदान पुर्याऔं । धन्यवाद ।

जय महाकाली ! हर हर काली !! हर हर गोरख !!!
(पवित्र महाकाली स्वच्छता अभियान दार्चुलाले २०७८ फागुन २६ गते खलंगामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा अभियानका संयोजक शंकर सिंह धामीद्वारा प्रस्तुत कार्यपत्र)

तपाईको प्रतिक्रिया दिनुहोस् !