तपाईँको नीति कार्यक्रम खोइ कमरेड ?

118

भाष्कर बडाल ।

नेकपा (एमाले)ले विधान अधिवेसन सकेसँगै दशौं महाअधिवेसनको तयारीमा जुटेको छ । विधान अधिवेसनको तामझान र संगठनिक स्वरुपले पार्टी विभाजनपछि आम नेता कार्यकर्ताहरुमा नयाँ तरङ्ग ल्याएको छ ।

संघीयता कार्यान्वयनपछि, तिनै तहको निर्वाचन सम्पन्न भएपछिको तथा संघीय संरचनाहरुमा निकट भविष्यमै निर्वाचन हुने अवस्थामा सम्पन्न हुन लागेका वडा, पालिका, प्रदेश र केन्द्रीय तहको पहिलो अधिवेसनबाट नेतृत्व चयनको अभ्यास गर्ने कुरा पार्टी कार्यकर्ताहरुका लागि उत्साहको विषय नै हो । तत्कालीन अवस्थामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि सांगठनिक कार्यहरुले नपाएको चुस्तता अब पाउने आशा आम कार्यकर्ताले लिएका छन् । बिगतमा सम्पन्न निर्वाचनमा जितेको स्थानमा जित कायम राख्ने र हारेका ठाउँका जित्ने रणनीति सहित नेतृत्वले कार्यकर्ता परिचालन गर्ने नीति लिने छ भन्ने आशा पनि अनपेक्षित होइन । बिगत लामो समयदेखि सांगठनिक कार्यहरु पाएको चुस्तता र सत्तामा रहँदा आम कार्यकर्तालाई पार्टी नेतृत्वले बिर्सिएको गुनासो पोख्ने स्थल पनि अहिलेका अधिवेसनहरु हुन् ।

हालै सम्पन्न विधान अधिवेसनपछि आम कार्यकर्तामा आएको नयाँ उमङ्गलाई नेतृत्वले सम्बोधन गर्न चुक्यो भने आगामि निर्वाचनमा अनपेक्षित उपलब्धी हाँसिल हुने कुरामा गम्भीर हुनु जरुरी छ । पहिलो पटक सम्पन्न भएको स्थानीय तहको निर्वाचनलाई गम्भीरताका साथ नलिएको थकथकि मेटाउन पनि यो पटक नेता कार्यकर्ताहरुले नयाँ जोस र रणनीतिका साथ काम गर्नु पर्ने अवस्था आएको छ । एकातिर पार्टी विभाजनको मार खेप्नु पर्ने र अर्कातिर आफ्नै नेता कार्यकर्ताले बिगारेको कामका कारण मतदातालाई आफ्नातिर आकर्षित गर्न नसकिने अवस्थालाई विशिष्ठतताका साथ लिइनु पर्दछ । आत्मसीक्षा नगर्ने हो, नेता कार्यकर्ताहरुले आम मतदातासामू आफ्ना गल्ति स्वीकार गरेर अब त्यस्तो नहुने कुराको प्रत्याभुुति नदिइने हो भने आसन्न चुनाव पनि फलामको चिउरा जस्तै सावित हुने छ । पार्टी संगठनलाई कसरी चुस्त बनाउने र त्यसमा गोलबन्ध नेता कार्यकर्तालाई कसरी अगाडि बढाउने भन्ने कुराको अहिले नै तयारी गर्नु पर्दछ ।

नेकपा एमालेको हालै सम्पन्न विधान अधिवेशनले विधानको प्रस्तावनामा उल्लेख गरेअनुसारको आचार नेता कार्यकर्ताहरुले प्रदर्शन गर्न नसक्ने हो भने पृथक र विशिष्ठ पार्टीको पहिचान गुमाउनेतर्फ आम नेता कार्यकर्ताहरु सचेत हुनु जरुरी छ । प्रस्तावनामा ‘यो पार्टी नेपाली सर्वहारा, श्रमजीवी वर्गको राजनीतिक अगुवा र प्रतिनिधि संस्था हो। यसले शारीरिक तथा मानसिक श्रम गर्ने श्रमिक, किसान, निम्न पुँजीपति, राष्ट्रिय पुँजीपतिका साथै सम्पूर्ण जाति, भाषा, संस्कृति, भूगोल, पेशा र समुदायका जनताको हितको प्रतिनिधित्व गर्दछ । यस पार्टीको नेतृत्वदायी र निर्णायक भूमिकामा सामन्ती राजतन्त्रको अन्त्य र धर्मनिरपेक्ष तथा समावेशीतासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो। यस पार्टीको अधिकतम् कार्यक्रम समाजवाद हो। यो पार्टी संविधानसभाबाट निर्माण भएको संविधानको रक्षा, प्रयोग र विकास गर्न; संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न; सामन्तवादका अवशेषहरूलाई अन्त्य गर्न; दलाल–नोकरशाही पुँजीवादी शोषण उत्पीडन र साम्राज्यवादी हस्तक्षेपलाई परास्त गर्न; राष्ट्रिय पुँजीको विकासका साथै सामाजिक न्याय र समानतामा आधारित सामाजिक–आर्थिक रूपान्तरण गर्न; जनताको बहुदलीय जनवाद कार्यान्वयन गर्दै समाजवादको आधार निर्माण गर्न र समाजवाद स्थापना गर्न प्रतिबद्ध छ । यो पार्टी समाजवाद विकसित हुँदै जाँदा मानव समाज साम्यवादसम्म पुग्नेछ भन्ने विश्वास गर्दछ । यो पार्टी संविधानको सर्वोच्चता, विधिको शासन, बहुलवादी खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जनताका प्रतिनिधिद्वारा शासन प्रणालीको सञ्चालन, स्वतन्त्र न्यायपालिका र मानवअधिकारको प्रत्याभूतिलगायत लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यताप्रति प्रतिबद्ध छ । नेपाली समाजमा दिगो शान्ति र सामाजिक आर्थिक क्षेत्रमा प्रगतिशील रूपान्तरणका लागि शान्तिपूर्ण बाटो र लोकतान्त्रिक विधि अवलम्बन गर्न प्रतिबद्ध छ ।’ भन्ने उल्लेख छ । पार्टीलाई आम सर्वहारा श्रमजीवीको पार्टी बनाउन कहाँ कहाँ चुकियो ? यो विषयमा वडाहुँदै केन्द्रसम्म वहष हुनु पर्दछ । विधानको विधि, पद्धति र सांगठनिक स्वरुपअनुसार पार्टी अगाडि बढाउँदै प्रस्तावनामा उल्लेख गरिएझैं साम्यवादसम्म पुग्न नेता कार्यकर्ताहरुको अहिले कै कार्यशैलीले सहयोग गर्नैै सक्दैन । यसका लागि धेरैले धेरैथरि त्याग गर्नु पर्ने हुन्छ । पार्टी र यसको विचार स्थापित गरी नेपाली जनतालाई दिगो शान्तिको अनुभूति गराई सामाजिक आर्थिक क्षेत्रमा प्रगतिशील रुपान्तरणको पहिल्याउन पद र प्रतिष्ठाको लडाईँ छोड्नु पर्ने हुन्छ ।

मंगलवार आयोजना गरिएको दार्चुला जिल्लाको सदरमुकाम रहेको महाकाली नगरपालिकाको नगर अधिवेसनलाई यो लेखकले गम्भीरताका साथ हेरेको थियो । जिल्लामा सञ्चालनमा रहेका आधा दर्जनभन्दा बढी रेडियोहरु, दैनिक पत्रिकाहरु र अनलाईनहरुमा आँखा–कान दौडाएको थियो कि नगरको नेतृत्व गर्ने नेताहरुले के कस्ता नीति कार्यक्रम सार्वजनिक गर्दै छन् ? विगतको निर्वाचनको समीक्षा, अहिले पार्टीको अवस्था, नगरपालिकामा नेकपा एमालेको जनमत र कार्यकर्ताको संख्यात्मक अवस्थाको समीक्षा गरी आगामि निर्वाचनमा कसरी अगाडि बढ्ने, नगर क्षेत्रमा नेता कार्यकर्ताहरुलाई उत्पादनसित कसरी जोड्ने, नगरभित्र रहेका संगठित सदस्य र आम मतदाताको संरक्षण कसरी गर्ने, युवा, विद्यार्थी र महिलाहरुलाई नागरिकको पक्षमा काम गर्ने गरी कसरी परिचालन गर्ने, प्रौड वामपन्थिहरुहरुलाई कसरी सम्बोधन गर्ने, पुराना कार्यकर्ताहरुको अनुभव र युवाहरुको जोसलाई समन्वय गरी कसरी पार्टी र संगठनको हितमा प्रयोग गर्न सकिन्छ ? भन्ने जस्ता प्रश्नहरुको उत्तरसहित नगरको नेतृत्व गर्ने नेताले कहीँ न कहीँ आफ्ना विचार, योजना, नीति तथा कार्यक्रम सार्वजनिक गर्छन् कि भन्ने विश्वास थियो । नगरअधिवेसन हुने दिनको विहानसम्म यो स्तम्भकारले यसको प्रतिक्षा गर्यो तर कहीँ कतै यस्तो सुनिएन, पढिएन । अधिवेसन स्थलमा उम्मेदवारहरुका घोषणा पत्रहरु, विचार पत्रहरु, विज्ञप्तिहरु देखिन्छन् कि विश्वासका साथ केही समय अधिवेसन स्थलमा भौतारिए तर त्यहाँ पनि त्यस किसिमका कुनै सामग्री देखिएनन् । हामी हाम्रो नेतृत्व कसलाई किन दिदैछौं ? भन्ने प्रश्नहरुको जवाफ अधिवेसन स्थलमा उपस्थित भएर सम्पर्क गरेजतिले दिन सकेनन् । यसरी विचार, नीति तथा कार्यक्रम सुन्य हुनु र आम कार्यकर्ताले समेत त्यसको सोधखोज नगर्नुले पार्टीको नेतृत्व चयन के आधारमा हुने रहेछ भन्ने ? प्रश्न यो स्तम्भकारको मनमा उठिरह्यो । अहिलेसम्म छ । आफ्नो नीति कार्यक्रम प्रस्तुत गर्ने र त्यसमा आम कार्यकर्ताको सहमति जनाएर मतदान वा सर्वसम्मतिबाट नेतृत्व लिने हो वा नेताहरुको आर्शिर्वादबाट नेतृत्व लिने हो ? आम एमाले नेता कार्यकर्ताले सोच्नु पर्ने सोध्नु पर्ने बेला आएको छ ।

प्रत्येक पालिकाको भुगोल, समुदाय, आर्थिक, शैक्षिक र उत्पादनको अवस्था समान किसिमको छैन । यी कुरा समान हुन्थे भने जिल्लाका सबै पालिकाको एउटै नीति कार्यक्रम पनि बनाएर मतदातामाझ जान सकिने अवस्था हुन्थ्यो तर जिल्लाको अवस्था त्यस्तो छैन । प्रत्येक पालिकाको विशिष्ट अवस्था भएकाले प्रत्येक पालिकामा पृथकखालको योजना आवश्यक पर्ने देखिन्छ । त्यसमाथि प्रत्येक पालिकाका नागरिकका समस्यासमेत फरक भएकाले पार्टीले प्रत्येक पालिकाको विकास र समृद्धिका लागि फरक योजना कार्यान्वनय गर्नु पर्ने हुन्छ तर सदरमुकाम रहेको नगरपालिका मै कस्तो नीति कार्यक्रम लागू गर्ने प्रतिबद्धताका साथ कसले नेतृत्वको दाबि गर्यो ? भन्ने नै देखिएन । पार्टी नेताहरुले टिका लगाएकै भरमा नेतृत्व चयन गर्ने हो भने यत्रो तामझामको कुनै आवश्यकता पर्दैन । कोठामा भेला लगाएर फलानोलाई यो पद, ढिस्कानोलाई यो पद भन्यो अधिवेसन सकियो । अहिलेको सचेत कार्यकर्ताले कोठे अधिवेसन र टिके पद चाहँदैन । धरातलीय यथार्थमा टेकेको, आम नागरिकको आवश्यकताहरुलाई सम्बोधन गर्ने, पार्टी कार्यकर्ताहरुलाई संरक्षण गर्ने नीति तथा कार्यक्रमसहित नेतृत्वको दाबि गर्ने नेतालाई मात्र नेतृत्व सुम्पने कुरामा अहिलेका सचेत कार्यकर्ता प्रतिबद्ध छन् तर त्यो आवश्यकताको महशुस नेतृत्व लिन चाहनेमा देखिएन । पार्टीले नेता बनाएकै भरमा, पार्टीले उम्मेदवार बनाए कै नाउमा नेतृत्व स्वीकार गर्नु पर्ने अवस्था अन्त्य भएको देखिएन ।

विचार, नीति तथा कार्यक्रम परै जाओस् हालै विधान अधिवेशनले तय गरेको वडा अधिवेसन, वडा अधिवेसन प्रतिनिधि परिषद्, पालिका कमिटि, पालिका अधिवेसन प्रतिनिधि परिषदको समेत ज्ञान र जानकारी अधिवेसन स्थलमा पुगेका नेता कार्यकर्तामा देखिएन । यो कुराको जानकारी आम कार्यकर्तालाई नेताहरुले दिएका हुन् कि होइनन्, कि पार्टीको सांगठिनक ज्ञानबिना नै ‘फलानोलाई नेता मान’ भनेर अधिवेसन आयोजना गरिएको हो ? नेतृत्वमा रहेको एमाले नेताहरुले जवाफ दिनु पर्दछ । अहिले यो स्तम्भकारले यस्ता कुरा उठायो । एकजनाले उठायो, कुनै महत्व नहोला तर निकट भविष्यमा प्रत्येक सचेत कार्यकर्ताले पार्टी नेतृत्वलाई, नेतृत्व गर्न चाहनेलाई यी प्रश्न गर्ने छन् । त्यतिबेला जवाफ दिन सकिएन भने आम कार्यकर्ताले टिका लगाएको नेतृत्वलाई मान्ने नै छन् भन्ने आशा गर्न सकिने ठाउँ पाइने छैन ।

सयौं युवाहरु, विद्यार्थीहरु विभिन्न कमिटिहरुमा आवद्ध भएको पार्टीको सिपाहीका रुपमा काम गर्दै आएका छन् । ती युवा विद्यार्थीहरुको राजनीतिक भविष्य मात्रै नभएर उनीहरुको पेशागत र व्यवसायगत सुनिश्चिततालाई समेत पार्टीका नीति कार्यक्रमले सम्बोधन गर्नु पर्दछ होइन भने भविष्यमा नयाँ सिपाहीहरु प्राप्त गर्न सकिने छैन । युवा र विद्यार्थीहरुलाई आफ्नो राजनीतिक उद्देश्य प्राप्तिका लागि मात्रै उपयोग गर्ने र उनीहरुको सुनिश्चित भविष्यका लागि कुनै नीति कार्यक्रम तय नगर्ने हो भने भविष्यमा नयाँ नेता कार्यकर्ता पाउन गाह्रो हुने छ । त्यति मात्रै नभएर लामो समयदेखि पार्टीप्रति आस्था राख्ने, पार्टीको सदस्यता लिएका तर नेता र नेतृत्वको अपुछाइका कारण मौन बसेका पुराना नेता कार्यकर्तालाई समेत समेट्ने नीति कार्यक्रम बनाउन नसकिने हो भने एमाले अन्य पार्टीभन्दा भिन्न रहेको गर्व एमालेजनहरुले गर्न सक्ने छैनन् । यो कुराको खोजि नेतृत्व लिन खोज्ने नेताबाट आम शुभचिन्तकहरुले राखेका हुन्छन् । कम्तिमा महाकाली नगरपालिकाको अधिवेसनमा यो कुरा देखिएन । नेताहरुले शपथग्रहण मै ‘पार्टीको सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढतताका साथ अनुशरण गर्दे पार्टी विधानलाई इमान्दारिताका साथ पालना गर्नेछु’ भन्नु पर्ने हुन्छ तर पार्टीको सिद्धान्त, कार्यक्रम र नीति के हो भन्ने नै थाहा नहुने स्थिति आएपछि त्यस्ता व्यक्तिलाई नेतृत्व मानि राख्न कुनै पनि सचेत कार्यकर्ता बाध्य हुने सक्दैन ।

तपाईको प्रतिक्रिया दिनुहोस् !