टिंकर सडकअन्तर्गत राप्लाको राङथलसम्मको सडक खुल्यो

0
61

दार्चुला, कार्तिक २७ गते ।
व्यास गाउँपालिकाको वडा नम्बर २ राप्लाको राङथल वस्तीसम्मको सडक सुचारु गरिएको छ । नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी–टिंकर सडकअन्तर्गत मालगाउँभन्दा अगाडिको कोठधार, सगनाडी र राङथल वस्तीसम्मको सडक सञ्चालनमा ल्याइएको हो ।
गत जेठ महिनामा पहिलोपटक राङथलसम्म टेक्टर र नेपाली सेनाको जीप पुगेको थियो । वर्षातमा अवरुद्ध भएको सडक नेपाली सेनाले सुचारु गरेको हो । सेनाले सडक निर्माण थालेको जिरो पोइन्टदेखि राङथलसम्मको ८ किलोमिटर सडक सञ्चालनमा आएको व्यास गाउँपालिका–२ का स्थानीय जनक सिंह धामीले बताउनुभयो ।
नेपाली सेनाले यसअघि गत माघ महिनाको अन्तिममा तुसारपानीदेखि मालगाउँसम्मको क्षेत्रमा गाडी पुगाएको थियो । तुसारपानीको जिरो पोइन्टदेखि मालगाउँसम्मको सडकको लम्बाई ५ किलोमिटर छ भने कोठधार, सगनाडी हुँदै राङथलसम्मको करिब ८ किलोमिटर लामो सडकमा गाडी सञ्चालन भइरहेको छ ।
राङथल क्षेत्रसम्म टेक्टर र जीपहरु सञ्चालन भइरहेका छन् । सडक निर्माणमा संलग्न नेपाली सेनाले सडक निर्माण सामग्री गाडीमा ढुवानी गरिरहेको छ । दैनिक रुपमा सुन्सेरास्थित सेनाको क्याम्पबाट गाडीमा सेनाको टोली सडक निर्माणका लागि राङथलसम्म पुग्ने गरेको मालका अर्का स्थानीय अरविन्द विष्टले बताउनुभयो ।
दार्चुला–टिंकर सडक आयोजनाका प्रमुख समेत रहेका सेनाका कर्णेल राजेश कटवालले चार दिनअघि राङथल क्षेत्रमा पुगेर सडक निर्माणको अवलोकन गरेको स्रोतले बतायो । कार्तिक २४ गते सडक खुलाउन प्रयोग गरिएको स्काइभेटर राङथल पुगेको थियो ।
गत आर्थिक वर्षमा राङथलसम्मको सडक खोलिएकोमा यो वर्ष राङथलभन्दा अगाडि दुम्लिङतर्फको सडक खोल्ने गृहकार्य भइरहेको छ । सेनाले राङथलमा स्काइभेटर मेसिन पुर्याइसकेको र दुम्लिङतर्फको सडक खोलेर टेक्टर र गाडी सञ्चालनयोग्य बनाउन लागिएको स्थानीय जनक सिंह धामीले बताउनुभयो ।
राङथलदेखि दुम्लिङसम्म करिब २ किलोमिटर लामो सडकको ट्रयाक निर्माण गरिए पनि गाडी चल्न सकेका छैनन् । नेपाली सेनाले यो वर्षको लक्ष्यअनुसार राङथलदेखि दुम्लिङतर्फको सडक स्तरोन्नती गरी गाडी सञ्चालनमा ल्याउने गृहकार्य गरेको छ ।
हाल नेपाली सेनाले तुसारपानीदेखि तम्बाकुसम्मको क्षेत्रमा करिब १५ किलोमिटर लामो सडक निर्माण गरिरहेको छ । यसमध्ये तुसारपानीदेखि राङथलसम्मको करिब ८ किलोमिटर लामो सडकमा गाडी पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here