शंकरसिह धामी
दार्चुलाको लेकम क्षेत्र अहिले जात्रामय भएको छ । लेकम क्षेत्रमा रहेका सबैजसो मन्दिर तथा धार्मिकस्थलहरुमा जात्रा पर्व भइरहेको छ । दिपावलीसंगै सुरु भएको जात्रा पर्व अबको केही दिनमा सम्पन्न हुने अवस्था छ । कार्तिक शुक्ल द्वितीयादेखि प्रारम्भ भई कार्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मन्दिरहरुमा रात्रीको समय जात्रा पर्व लाग्ने गर्दछ ।
परम्परादेखि चल्दैआएको जात्रा पर्वमा संख्यात्मक सहभागिता धेरै वृद्धि भएको छ । हाम्रा पूर्वजहरुले मनाउदै आएको पर्वलाई हामीले निरन्तरता दिएका छौ । यो सकारात्मक पक्ष हो । जात्रामा रात्रीको समय मन्दिरमा जम्मा हुने, पूजापाठ गर्ने, भेटघाट गर्ने र दमाहा नचाएर खुशीयाली मनाउने गरिन्छ । पुर्खाहरुले एकआपसमा भेटघाट गर्ने, भलाकुसारी गर्ने, समय निकालेर भगवानको चिन्तन गर्ने, पूजापाठ गर्ने र एकआपसमा खुशीयाली साट्ने अवसरका रुपमा जात्रा पर्व थालेका होलान । यद्यपि जात्रा पर्व विभिन्न देवीदेउताको मन्दिरमा फरक फरक तिथिमा हुने गर्दछ र सम्बन्धित तिथिमा देवताको विशेष पूजा गर्ने परम्परा र अवसर पनि रहेको छ ।
हाम्रा पूर्वजहरुले जात्रा पर्व मनाउदा त्यतिबेला जनसंख्या कम थियो । सबै आआफ्नो कामधन्दामा व्यस्त हुन्थे । जात्राको अवसरमा रात्रीको समय फुर्सद निकालेर भेटघाट गर्ने र भलाकुसारी गर्ने महत्वपूर्ण अवसर पनि रहेको देखिन्छ । जात्रामा आआफ्नो गाँउ, क्षेत्रको दमाहा बजाउने र अरुको भन्दा उत्कृष्ट बाजा बजाउने अभ्यास पनि हुँदैआएको छ । समय परिवर्तनसंगै जात्रा मनाउने विषयमा धेरै परिवर्तन देखिन्छ ।
पुर्खाहरु भगवानप्रति श्रद्धाभाव राख्दै पूजापाठ गर्न जात्रा मनाउथे । तर हाम्रो पुस्ता रमाइलोको लागि, मनोरञ्जनका लागि जात्रा मनाउदैछौ । उतिबेला जात्रामा चोखोभोको, पवित्र भई सहभागी भइन्थ्यो । अहिलेको पुस्ता र अहिलेको जात्रा दुर्गन्धमय बनेको छ । हामीले मदिरा, मासु, गाजा, चरेश, झैझगडालाई आत्मसात गरेका छौ । अझ युवा पुस्तामाझ केटाकेटीको भेटघाट गर्ने, जातबाटै भागेर विवाह गर्ने प्रवृति देखिएको छ । हाम्रा पुस्ताले कुन उद्देश्यले जात्राको परम्परा थालेका थिए ? र निरन्तरता दिएका थिए ? यसबारे हामी गम्भीर बनिरहेका छैनौ । जात्रामा होहल्ला गर्न, झगडा गर्न, मासु मदिरा सेवन गरी आफुलाई वलियो र शक्तिशाली देखाउन अहिलेको पुस्ता उद्दत छ । यो निकै दुखद् हो । दर्जनभन्दा बढी स्थानमा रात्रीको समय जात्रा हुने गर्दछ । तर कुनै पनि स्थानमा यी विकृति र विसंगतिले छोडेको छैन । मासु, मदिरा, झगडा, केटाकेटीपना सबै ठाँउ र क्षेत्रमा व्याप्त छ ।
यो विकृतिको दोष अहिलेको सिंगो समाज र पुस्ताले लिनुपर्दछ । साथसाथै समाजका ठुलावडा र वुढो पीढी पनि यसबारे जिम्मेवार हुनुपर्छ । नयाँ पुस्तालाई सचेत गराउन, आफ्ना सन्तानलाई सही मार्गदर्शन गर्न पुरानो पुस्ताले सक्नुपर्छ । यद्यपि अहिले वुवाआमाको भनेको मान्ने सन्तान धेरै कम छन् । तर पनि आफ्नो दायित्व वुवाआमाले भुल्नु हुँदैन ।
जात्राका लागि केही वर्षदेखि सबैजसो ठाँउमा धेरै सुरक्षाकर्मी परिचालन हुँदैआएका छन् । जात्रामा सहभागिता बढेसंगै सुरक्षा चुनौती बढ्दैआएको छ । मुख्यतः मदिराका कारण जात्रा पर्व अशान्त हुने गर्दछन् । युवाहरुबीचको विकृतिजन्य व्यवहारले पनि जात्रालाई बदनामी गराएको छ । जात्राबाटै भागेर विवाह गर्ने गलत प्रवृति देखिएको छ ।
भगवानको दैलोमा श्रद्धाभावले जानुपर्ने हो । आध्यात्मिक चिन्तन बोकेर व्यक्तिगत, पारिवारिक र सामाजिक विकासका लागि मनोकांक्षा राखेर पूजापाठमा सहभागी हुनुपर्ने हो । तर विडम्बना दुई तिहाई सहभागी होहल्ला, झैझगडा र रमाइलो गर्न जात्रामा पुग्दछन् । पुरुष मात्रै होइन महिला समेत मदिराको सेवन र विक्रीवितरणमा समेत संलग्न हुने गरेको वास्तविकता छ ।
जात्रा पर्वलाई व्यवस्थित बनाउन जरुरी छ । होइन भने संस्कृतिको रुपमा रहेको जात्रा पर्व विकृत बनिसकेको छ । रातीको समयमा मनाइदैआएको जात्रा पर्व अब दिउसोको समय बनाउनु पर्छ । तर यो कदमलाई धेरैलाई सहजै स्वीकार गर्ने अवस्था छैन । किनकी मदिरा र मासु व्यापारीले विरोध गर्दछन् । दिउसोको समय जात्रा भए मदिरा र मासुको कारोबार कम हुन्छ । युवा पुस्ताले दिउसोको समयमा मनाइने जात्राको विरोध गर्दछ किनकी गलत कार्य र होहल्ला रातीको समयमा गर्न सजिलो हुन्छ । धार्मिक तथा सामाजिक कारिन्दाले पनि रातीको जात्रालाई बढी मोह गर्दछन् किनकी मन्दिरमा चढाएको टिकाभेटी लुकाउन सकिलो हुन्छ । खल्तीमा हाल्न सहज हुन्छ । गलत मनसाय, प्रवृति भएकाहरुले रातीको समयमा मात्रै जात्रा मनाउन जोडवल गर्ने निश्चित छ । तर पनि समाजको भलाई र हित चाहने सबैले अबको नयाँ परिवेशमा दिउसोको समयमा जात्रा सञ्चालन गर्ने अभियान थाल्नुको विकल्प छैन । र समाजमा सही चिन्तन, संस्कार र अभियानको थालनी गर्न सक्नुपर्छ । दिउसोको समयमा जात्रा मनाउदा कति शान्तिपूर्ण, व्यवस्थित र फलदायी हुन्छ भन्ने उहारण श्री शैल्यशिखर दर्शन तथा पूजन जात्रालाई हेर्दा हुन्छ ।