चार स्थानमा निर्वाचन प्रहरीलाई तालिम दिइदै

0
15

दार्चुला, माघ २५ गते ।
निर्वाचन प्रहरीमा छनौट भएका व्यक्तिहरुलाई प्रहरीले तालिम दिन सुरु गरेको छ । माघ १८ गतेदेखि निर्वाचन प्रहरीहरुलाई १० दिने तालिम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
निर्वाचन प्रहरीको छनौट प्रक्रियाका सम्पूर्ण चरण सदरमुकाम खलंगामा सञ्चालन गरिएका थिए । छनौट गरिएका निर्वाचन प्रहरी जनशक्तिलाई तालिम भने सदरमुकामका साथै ग्रामिण क्षेत्रका इलाका प्रहरी कार्यालयहरुमा पनि दिन थालिएको छ ।
सदरमुकाम खलंगाका साथै गोकुलेश्वर, लटिनाथ र लालीस्थित इलाका प्रहरी कार्यालयहरुमा निर्वाचन प्रहरीको तालिम सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टले बताउनुभयो । उहाँका अनुसार निर्वाचन प्रहरीहरुलाई पायक पर्ने गरी स्थान निर्धारण गरिएको छ ।
छनौट गरिएका निर्वाचन प्रहरीको प्राथमिकताअनुसार नजिकको पायकपर्ने स्थानमा तालिममा सहभागी गराइएको उहाँले बताउनुभयो । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुला जिल्लाभरी ८ सय ८४ जना निर्वाचन प्रहरी भर्ना गरिएका छन् ।
नेपाल प्रहरीतर्फ भर्ना गरिएका निर्वाचन प्रहरीमध्ये ५ सय ८७ जना पुरुष र २ सय ९७ जना महिला छन् । सशस्त्र प्रहरीअन्तर्गत ४६ जना निर्वाचन प्रहरी भर्ना गरिएका छन् । सशस्त्र प्रहरीअन्तर्गतको तालिम खलंगास्थित ४४ नम्बर गणमा सञ्चालन भइरहेको छ । सशस्त्र प्रहरीतर्फ भर्ना भएका सबै निर्वाचन प्रहरी पुरुष मात्रै छन् ।
निर्वाचन प्रहरीहरुलाई तालिममा काम, कर्तव्य र अधिकारबारे अभिमुखीकरण देखि शारीरिक र प्राविधिक तालिम पनि प्रदान गरिनेछ । निर्वाचन अवधिभरको कार्य जिम्मेवारी, अनुशासन तथा आचरणका साथै भीड नियन्त्रण, आदेश पालना र वल प्रयोग सम्बन्धि तालिम दिने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here