दार्चुला, फागुन १५ गते ।
दार्चुला जिल्ला अदालतमा गतवर्षदेखि थाति रहेका ६८ मध्ये ६६ मुद्दाहरुको फस्र्यौट गरेको छ । जिल्ला न्यायाधिश भुवन गिरीले गतवर्षदेखि जिम्मेवारी सरिआएका पुराना मुद्दाहरु प्राथमिकताका साथ फस्र्यौट गरिएको बताएका छन् ।
विहिवार पत्रकारहरुसंगको छलफलमा जिल्ला न्यायाधिश गिरीले गत वर्षका दुइटा मुद्दा मात्रै फस्र्यौट हुन बाँकी रहेको जानकारी दिनुभयो । चालु आर्थिक वर्षको हालसम्म ९३ वटा मुद्दा दर्ता गरिएका छन् ।
गतवर्ष र चालू वर्षका गरी १ सय ६१ मुद्दा रहेकोमा हालसम्म ९८ मुद्दाहरु फस्र्यौट भइसकेको जिल्ला अदालतको तथ्यांक छ । जिल्ला अदालतमा ६३ वटा मुद्दा मात्रै फस्र्यौट हुन बाँकी छन् ।
‘अंग पुगेका सबै मुद्दाहरु ढिलो नगरी समयमै फस्र्यौट गर्न हामी क्रियासिल छौं’ जिल्ला न्यायाधिश गिरीले भन्नुभयो । आगामी वैशाखसम्म अंग पुगेका सबै मुद्दाहरु फस्र्यौट गरिने उहाँको भनाई छ ।
आफुले जिल्ला अदालतको नेतृत्व सम्हालेपछि छिटो न्याय सम्पादन गर्ने जिम्मेवारीलाई उच्च प्राथमिकता दिएको उहाँले बताउनुभयो । जिल्ला न्याय क्षेत्र समन्वय समितिलाई सक्रिय गराएर न्यायालयको भौतिक व्यवस्थापन र फैसला कार्यान्वयनमा सुधार गर्न खोजिएको उहाँको भनाई छ ।
जिल्ला अदालत व्यवस्थापन समिति, पुस्तकालय व्यवस्थापन समिति, सुचना प्रविधि समिति लगायतका संयन्त्रहरुको सक्रियता बढाएर अदालतको कार्यसम्पादनमा सुधारको प्रयास भइरहेको जिल्ला न्यायाधिश भुवन गिरीले बताउनुभयो ।
जिल्ला न्यायाधिश गिरीले पहिलोपटक जिल्लाका पत्रकारहरुसंग भेटघाट र छलफल गरेका हुन् । विहिवारको छलफलमा पत्रकार महासंघ दार्चुलाका सचिव सुन्दर सिंह धामीलगायत दर्जन बढी पत्रकारहरुको सहभागिता रहेको थियो । न्यायक्षेत्र र सञ्चारक्षेत्रबीच समन्वय बढाउन पत्रकारहरुले सुझाव दिएका छन् ।








