कालापानी दिल्लीलाई दुख्यो, काठमाण्डौंलाई दुखेन

0
707

शंकर सिंह धामी ।
देशभक्त नेता स्वर्गिय प्रेम सिंह धामीले २६ वर्षअघि ‘काठमाण्डौंलाई कालापानी किन दुख्दैन’ भनेर सिंगो देश र देशवासीलाई प्रश्न गरेका थिए । दार्चुलाको कालापानीमा भएको सिमा अतिक्रमणबारे देश र देशवासीको गम्भीर ध्यानाकर्षण गराउने क्रममा उहाँले यो प्रश्न उठाउनुभएको थियो । काठमाण्डौंबाट प्रकासित हुने जनआस्था साप्ताहिक पत्रिकाको २०५४ भदौं २५ गते प्रकासित अंकमा ‘नोट अफ डिसेन्ट’ स्तम्भमा यही शीर्षकको लेख उहाँको जीवनको अन्तिम लेख बन्न पुग्यो ।
सडक, सदन र मिडियामार्फत राष्ट्रियता, जनजीविका र सिमारक्षाको आवाज उठाउने देशभक्त नेताको निधन भएको २६ वर्ष पूरा हुँदैछ । तर निधन हुनुभन्दा दुइ दिनअघि प्रकासित यो लेख र यो प्रश्नको उत्तर अहिलेसम्म भेट्टिएको छैन । अढाइ दशकको यो अवधिमा ‘काठमाण्डौंलाई कालापानी किन दुख्दैन’ भन्ने प्रश्न धेरैपटक उठ्यो । धेरै पात्रहरुले यो विषय र सन्दर्भलाई बेलामौकामा उजागर गरे । तर यो गम्भीर प्रश्नको उत्तर कसैले पनि दिन सकेका छैनन् ।
देशभक्त नेता स्व. प्रेम सिंह धामीले कालापानी देशलाई दुख्नुपर्छ, काठमाण्डौंलाई दुख्नुपर्छ, सारा नेपालीलाई दुख्नुपर्छ तर किन दुखिरहेको छैन भन्ने सन्दर्भमा यो प्रश्न उठाएका थिए । अढाइ दशकको अवधिमा काठमाण्डौंलाई कालापानी अलिकति दुखेजस्तो पनि देखियो । यसबीचमा अतिक्रमित भूमि समेटिएको चुच्चे नक्सा सिंगो देशले एकमतका साथ प्रकासित गरेको छ । भारतसंग कुटनीतिक नोट पठाउने र वार्ताको थालनी गर्ने प्रयास पनि भए । अतिक्रमित क्षेत्र नजिकै व्यासको छाङ्गरु गागामा सशस्त्र प्रहरीको गुल्म स्थापना गरिएको छ । उत्तरतर्फको चीन सिमा नजिकको छियालेक क्षेत्रमा सशस्त्र प्रहरीको विओपी संरचना पनि निर्माण भएको छ । राप्लाको दुम्लिङ्ग, व्यास गाउँपालिका केन्द्र सुन्सेराका साथै सिमाक्षेत्र रहेका दत्तु, जोलजिवि र लालीमा सशस्त्र प्रहरीका विओपी राखिएका छन् । अतिक्रमित भूगोल नजिकका छाङ्गरु र तिंकर गाउँलाई जोड्दै चीनको सिमासम्मको दार्चुला–टिंकर सडक निर्माणमा नेपाली सेना परिचालन भएको छ ।
सिमाक्षेत्रमा भएका यी पछिल्ला केही कार्य र परिवर्तनहरुले काठमाण्डौंलाई कालापानी दुखे जस्तो लाग्नु स्वाभाविक हो । तर यी जेजति कार्य भए पर्याप्त भएनन् । उक्त लेखमा ‘कालापानी नेपालको मुटु हो’ भनिएको थियो । नेपालको मुटु नेपालीलाई, काठमाण्डौंलाई किन दुख्दैन भनेर प्रश्न गरिएको थियो । मुटु दुखे जस्तै कालापानीको विषय हरेक नेपालीलाई दुखिरहनुपर्छ भनिएको थियो । एकपटक मुटु दुख्दाको प्रतिक्रिया जस्तो गरी सिमाक्षेत्रमा माथि उल्लेखित केही कार्यहरु भएका छन् । तर सिमा आतिक्रमणको विषय सधैभरी दुःखिरहनुपर्छ । कालापानीको विषयले सधैभरी सारा नेपालीलाई घच्घच्याउनुपर्छ । निरन्तर रुपमा देश, सरकार र जनताले सिमाक्षेत्रको आवश्यकता र अवस्थाबारे संवेदनशील हुनुपर्ने हो । तर, चुच्चे नक्सा जारी हुँदा एकपटक चसक्क दुखेको कालापानी राज्य, सरकार र नेपालीलाई दुख्न छोडेको छ ।
त्रिदेशीय क्षेत्रमा सुरक्षाकर्मीको निरिह उपस्थिति र परिचालन, टिंकर सडक निर्माणको अवस्था, भारतसंगको वार्ता प्रयास, सिमा अतिक्रमणको विषय उठान र सम्बोधन आदिको अवस्था हेर्दा अहिले पनि काठमाण्डौंलाई कालापानी नदुखेको प्रष्टै देखिन्छ । सिमा अतिक्रमणको विषयलाई बेलामौकामा नेता र दलहरुले सत्तामा पुग्ने र टिकिरहने भर्याङ बनाएका छन् । सत्तामा टिकिरहने बार्गेनिङ टुल्स (औजार)का रुपमा कतै कालापानी प्रयोग भइरहेको छ कि भन्ने बुझाइ र आशंका जनस्तरमा छ ।
उता, दिल्लीलाई भने कालापानी दुखेको छ । कालापानीको विषय एकपटक जुनस्तरमा नेपाल र नेपालीले उठाए, त्यसको असर दिल्लीलाई अवश्य परेको छ । ऐतिहासिक तथ्य, आधार र प्रमाण सबै हिसाबले नेपाली भूमि ठहर हुने अतिक्रमित क्षेत्रबारे थप आवाज नउठोस् भन्ने दिल्लीको चाहना छ । दिल्लीको दिल दुखिरहेको छ किनकी सनातन धर्म र संस्कारमा कसैमाथि भइरहेको अन्यायले भित्रभित्रै पोलिरहन्छ । तर राष्ट्रिय अडानको विषय भएकोले भावनात्मक दुखाइसंग यसको सोझो साइनो हुँदैन । दिल्लीको सनातनी दिल दुखे पनि शासकीय शैलीले त्यो दुखाइलाई प्रदर्शन हुन दिदैन ।
दिल्लीले आफ्नो दिल दुखाइको उपचार भित्रभित्रै कुटिल रुपमा खोजिरहेको छ । सिमावर्ती क्षेत्रमा मोटरपुल, झोलुंगेपुल, एम्बुलेन्स गाडी, स्कुल बस, विद्यालय भवन निर्माण लगायतको सहयोग गरेर सिमा अतिक्रमणको मुद्दा ढाकछोप गर्ने प्रयासमा दिल्ली सक्रिय छ । आपसी मित्रता, सदभाव र परस्पर निर्भरताको नाममा नेपाल र नेपालीहरुलाई सानोतिनो विकास सहायतामा भुलाइरहने दिल्लीको चाल छ । दिल्लीको यो सबै प्रयास कालापानीको सिमा अतिक्रमणलाई भुलाउने वा सेलाउने ध्येयले केन्द्रीत छ ।
दिल्लीले सिमाक्षेत्रमा वार्षिक दुइचार करोडको विकास सहायता प्रदान गरिरहनुको विशेष अर्थ छ– सिमाक्षेत्रका वासिन्दालाई आफुप्रति नरम बनाउनु ।
भारत हाम्रो छिमेकी मात्र होइन, मित्रराष्ट्र हो । सामाजिक, सांस्कृतिक, आर्थिक सबै हिसाबले भारतसंग हाम्रो सर्वाधिक निकटताको सम्बन्ध छ । एउटा असल मित्रले हामीलाई, हाम्रो मागलाई सही ढंगले सम्बोधन गर्नुपर्छ । सिमा अतिक्रमण जस्तो मुद्दालाई ऐतिहासिक तथ्य, प्रमाण र आपसी हितका आधारमा टुंग्याउनुपर्छ । सिमा अतिक्रमणको विषय थाति राखेर सिमाक्षेत्रमा केही विकास सहायता गर्दैमा असल छिमेकी र मित्रताको भूमिका निर्वाह पूरा हुँदैन ।
कालापानीको मुद्दा सम्बोधन गर्ने, समाधान गर्ने विषय नेपाल र भारत दुबै देशको साँझा जिम्मेवारी हो । यो साँझा समस्या पनि हो । यो साँझा समस्या समाधान नहुँदासम्म असल मित्रता अगाडि बढ्न सक्दैन । यसका लागि दुबै देशका सरकार जिम्मेवार र गम्भीर हुनुपर्छ । सिमाक्षेत्रमा भइरहेको भारतको फुटकर विकास सहायता र नेपाल सरकारको भुलभुलैयाले कालापानीको समस्या समाधान हुँदैन ।
यो दृश्यले कालापानी दिल्लीलाई दुखेको देखिन्छ तर नेपालका शासकहरु कुर्सी दौडमै व्यस्त छन् । सत्ताको प्राप्ति र बचाउँमै रुमल्लिएका छन् । काठमाण्डौंलाई कालापानी अझै पनि गम्भीर रुपमा दुखेको छैन । दिल्लीलाई दुखेको छ तर भारतले त्यसको उपचार सही रुपमा गरिरहेको छैन । नरेन्द्र मोदीको नेतृत्वमा भारतले अमृत महोत्सवको यात्रा गरिरहदा हामी नेपालीहरु मोदी नेतृत्वको हिन्दुस्तानबाट सनातन व्यवहार र ऋषिमनको अपेक्षा गर्दछौं । जय नेपाल ।