कालापानी क्षेत्रमा काठ तस्करी घट्यो

125
कालापानीबाट बगेर आएको लिपुखोलमा हाल घटेको पानीको सतह र गुञ्जी, कौवा क्षेत्र । फोटोः अशोक सिह बोहरा ।

दार्चुला, जेठ १ गते ।
कालापानी क्षेत्रमा भारतले गर्दै आएको काठ तस्करी घटेको छ । ब्यास गाउँपालिकाको वडा नं १ छाङरुमा सशस्त्र प्रहरीको युनिट स्थापना भएदेखि माथिल्लो कौवा देखि तल्लो कौवा क्षेत्रको जङ्गलमा भारतीय पक्षबाट हुने काठ तस्करीमा कमि आएको छ ।

विगतका बर्षहरुमा भारतीय सुरक्षाकर्मी तथा स्थानियहरुले निर्वाध रुपमा  लिपुखोलामा काठेपुल लगाएर नेपाल तर्फको बन जंगल फडानी गर्ने गरेका थिए । सशस्त्र प्रहरी छाङरुमा बसेदेखि काठ तस्करीमा कमि आएको ब्यास गाउँपालिका वडा नं १ का वडाध्यक्ष अशोक सिह बोहराले जानकारी दिनुभयो ।
शनिबार बोहरा कालापानी क्षेत्र जोड्ने निर्माण भइरहेको घोरेटो बाटो अनुगमनका लागि उक्त क्षेत्रमा पुगेका हुन् । कालापानी र लिपुलेकबाट बग्ने लिपुखोलामा हाल पानी थोरै रहेको बोहराले बताउनु भयो । कालापानी बाट बग्ने नदीमा हाल पानी धेरै कम छ, पुल नभएपनि आवत जावत गर्न सकिने अवस्था छ बोहराले भन्नुभयो ।
विगतका बर्षहरुमा भारतीयहरु तथा नेपाली अतिक्रमित भूमी गुञ्जीमा रहेका भारतीय सुरक्षाकर्मीहरुले निर्वाध रुपमा महाकाली नदी र लिपुखोलामा काठेपुल लगाएर कौवा क्षेत्रको बन फडानी गर्ने गरेका थिए ।
विगतका बर्षहरुमा कौवा क्षेत्रको बनमा दाउराका लागि रुख काट्ने, काठ चिर्ने लगायतका गतिविधि हुन्थे सशस्त्र प्रहरी छाङरुमा बसेदेखि गतिविधि न्युन छ, वडाध्यक्ष बोहराले भन्नुभयो ।
कालापानी क्षेत्रबाट बग्ने लिपुखोलामा हाल पानी धेरै कम भएकाले दाउरा प्रयोजनका लागि भारतीयहरुले सुको दाउरा लगेको भएपनि विगतको जस्तो रुख ढाल्ने काम नभएको उहाँले बताउनुभयो । सशस्त्र प्रहरीले उक्त क्षेत्रहरुमा नियमित गस्ती गर्नेभएकाले बन फडानी रोकिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !