कम्युनिस्टः अधोगतितिर !

127

सम्पादकीय ।

अघिल्लो प्रतिनिधि सभा सदस्यको निर्वाचनमा एमाले अध्यक्ष ओलीले राप्रपासँग निर्वाचनमा सहाकार्य गरे र जिते । उनलाई पार्टीभित्र र बाहिरबाट राप्रपासँग मिलेर चुनाव जितेको आरोप लाग्यो र लागिरह्यो । उनले किन राप्रपासँग साँठगाँठ गरे त्यो अर्को विषय होला तर कम्युनिस्ट पार्टीका नेताहरुमा देखिएको पछिल्ला वैचारिक स्खलनहरु अझ सोचनीय र गम्भीर छन् । केही समय पहिले तत्कालीन माओवादी क्रान्तिका प्रमुख नेतामध्ये एक किरणले राजालाई फर्काउने कुरा गरे ।

उनको त्यो अभिव्यक्ति वर्तमानमा सत्तामा रहेका कम्युनिस्टहरुको कार्यशैली र जीवनशैली प्रतिको वितृष्णा थियो वा उनमा आएको वैचारिक स्खलन, विश्लेषकहरूले समीक्षा गर्ने छन् । जसले राजतन्त्रका बिरुद्ध सशस्त्र सङ्घर्षको शङ्खघोष गरे, त्यो सङ्घर्षलाई उत्कर्षमा पुर्याए र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा मियोको रुपमा काम गरे तिनै नेताले राजालाई स्वीकार गर्नुलाई नेपालको वाम विश्लेषक र समर्थकरुले गम्भीर रुपमा लिएको हुनु पर्दछ । यदि यो वैचारिक स्खलन हो भने यसले समग्र संघीय लोकतान्त्रिक गणतन्त्रलाई अपुरणीय क्षति पुर्याउनेछ ।
पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सरिक भएका दुई कार्यक्रम र तिनमा दिएका अभिव्यक्तिहरू पनि कार्यक्रम र व्यक्तिको प्रभावका कारण आएका हुन् वा वैचारिक स्खलनका रुपमा आएका हुन् ? यसै भन्न सकिने अवस्था छैन । प्रचण्डले नेपालका कम्युनिस्टहरुका कार्यशैली र जीवनशैली नै वैचारिक र सैद्धान्तिक हुन नसकेकोले आफू यो आन्दोलनबाटै पलायन हुने विचार आउने गरेको पनि बताउँदै आएका छन् । पछिल्ला दुई दशकमा कम्युनिस्ट नेताहरु सडकदेखि उठ्दै कम्पनि मालिक हुनेसम्मका घटनाक्रमहरुले प्रचण्डलाई यी कुरा भन्न बाध्य गरेको हुनु पर्दछ तर आफू नेतृत्वमा छँदै आफ्ना र अन्य कम्युनिस्ट नेताहरुमा देखिएको दलालपूँजिवादी व्यवहार र विलासितापूर्ण जीवनशैली के कति कारणले स्थापित भएको हो र यसको व्यवस्थापनका लागि उनले केही किन गर्न सकेनन् ? भन्ने विषयमा समेत अध्ययन हुनु पर्ने देखिन्छ ।
प्रचण्डले रामदेवलाई क्रान्तिकारी देख्नु र राप्रपा झैँ आफू पनि राष्ट्रवादी भएको दाबि गर्नुका पछाडि पनि कुनै न कुनै रुपले वर्तमान राज्यसत्ताले जनपक्षीय काम गर्न नसकेको, विश्व भूराजनीतिमा आफूलाई अलगै हेर्ने दृष्टिकोण बनेको प्रतिको सुधार हुन सक्छ । प्रचण्ड र अन्य कम्युनिस्ट नेताहरुलाई अन्य मुलुक र अन्य देशका नेताहरुले हेर्ने दृष्टिकोण भिन्न हुनु नै नेपालका कम्युनिष्ट नेताहरुको पहिचान हुनु पर्नेमा कहिले राप्रपासँग चुनावी गठबन्धन गर्ने, कहिले राजा ल्याउनु पर्ने अभिव्यक्ति दिने, कहिले योगका साहारामा हिन्दुवादी राजनीति गर्नेलाई आदर्श ठान्ने कहिले राप्रपालाई राष्ट्रवादी ठान्ने कम्युनिस्ट नेताहरुका पछिल्ला अभिव्यक्ति र कार्यहरुले नेपालमा कम्युनिस्ट राजनीति अधोगतितिर गएको त देखाएको होइन ? 

तपाईको प्रतिक्रिया दिनुहोस् !