एउटै पार्टीबाट दार्चुलाका आठजना समानुपातिक उम्मेदवार

0
29

दार्चुला, माघ २० गते ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एउटै पार्टीबाट दार्चुलाका आठजना समानुपातिकतर्फ उम्मेदवार बनेका छन् । संघीयता पक्षधर र पहिचानवादी पार्टीको रुपमा आफुलाई प्रस्तुत गरिरहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले समानुपातिकतर्फ दार्चुलाका आठजनालाई उम्मेदवार बनाएको हो ।
मोरङका कुमार लिङ्देन अध्यक्ष रहेको यो पार्टीले केन्द्रीय उपाध्यक्ष रघुवीरसिंह ठगुन्नासहित दार्चुलाका आठजनालाई समानुपातिकतर्फ उम्मेदवार बनाएको छ । उम्मेदवार बन्नेमा दुई पुरुष र ६ जना महिला छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले निर्वाचन आयोगमा समानुपातिकतर्फ १ सय १० जनाको बन्दसूची पेश गरेको छ । उक्त सुचीमा उपाध्यक्ष ठगुन्ना खसआर्य समूहको पहिलो नम्बरमा रहेका छन् । ठगुन्ना दार्चुलाको सामाजिक विकासमा सक्रिय पात्र हुन् ।
मञ्च गठन भएदेखि उक्त पार्टीमा सक्रिय रहेका ठगुन्ना दोस्रोपटक प्रतिनिधिसभाको समानुपातिकतर्फ उम्मेदवार बनेका छन् । यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि उहाँ समानुपातिकतर्फ उम्मेदवार बनेका थिए । ठगुन्ना नौगाड गाउँपालिका वडा नम्बर ३ खारका स्थानीय वासिन्दा हुन् ।
मञ्चले नौगाड गाउँपालिका वडा नम्बर २ का वीर सिंह ठगुन्नालाई पनि समानुपातिक उम्मेदवार बनाएको छ । खसआर्य समूहमा उहाँको नाम राखिएको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तर्फबाट समानुपातिक उम्मेदवार बनेका दार्चुलाका आठजना मध्ये छ जना एउटै स्थानीय तहका वासिन्दा छन् । खसआर्य समूहको महिलातर्फ नौगाड–२ का धनपति मन्याल, नौगाड–४ का रुपा महता, नौगाड–३ का हारुलीदेवी मन्याल र नौगाड–४ का पानमति ठगुन्ना उम्मेदवार बनेका छन् ।
यसैगरी, महाकाली नगरपालिका–४ का धनमति मन्याल र मार्मा–५ का पार्वती सिंह पनि समानुपातिकतर्फको उम्मेदवार बनेका छन् । मञ्चका तर्फबाट उम्मेदवार बनेका सबैजना खसआर्य समूहमा छन् ।
प्रत्यक्षतर्फ देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये मञ्चले ४१ क्षेत्रमा उम्मेदवार बनाएको छ । कर्णाली प्रदेशको जुम्लाबाट दिप धामी र सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट गगन ठगुन्ना प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्षतर्फ एक–एकजनाको मात्रै उम्मेदवारी रहेको उपाध्यक्ष रघुवीर सिंह ठगुन्नाले बताउनुभयो ।
पार्टीका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन समानुपातिक सुचीको पहिलो नम्बरमा रहेका छन् । आदिवासी–जनजाती समूहको पनि पहिलो नम्बरमा लिङ्देन छन् ।
तीन वर्षअघि २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचन र प्रदेशसभा निर्वाचनमा पनि मञ्चले दार्चुलाबाट प्रत्यक्ष उम्मेदवार उठाएको थियो । त्यतिबेला प्रत्यक्षतर्फका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेशराम लुहारले ४६ मत ल्याएका थिए । समानुपातिकतर्फ भने २०७९ सालमा मञ्चले १ सय ४७ मत पाएका थियो ।
काग्रेस–एमालेका एक–एक र राप्रपाका दुई उम्मेदवार
यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काग्रेस र एमालेले दार्चुलाका एक–एक जनालाई समानुपातिकतर्फ उम्मेदवार बनाएका छन् । काग्रेसका प्रदेश कार्य समिति सदस्य एवं जिल्ला समन्वय समितिका पूर्व प्रमुख करवीरसिंह कार्कीलाई समानुपातिकतर्फ उम्मेदवार बनाएको छ । कार्कीलाई खसआर्य समूहमा राखिएको छ ।
यसैगरी, नेकपा (एमाले)ले आदिवासी–जनजाती समूहअन्तर्गत जहेन्द्र सिंह ऐतवाललाई उम्मेदवार बनाएको छ । २०४९ र २०५४ सालमा निर्विरोध व्यास गाविस अध्यक्ष बनेका ऐतवाल लामो समयदेखि एमालेको जिल्ला नेतृत्वमा रहदैआएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला अध्यक्ष प्रकाश दयाली र महिला केन्द्रीय विभाग सदस्य धाना देवी लोहारलाई समानुपातिकतर्फको उम्मेदवार बनाएको छ । दुबैजनालाई दलित समूहअन्तर्गतको उम्मेदवार सूचीमा राखिएको छ ।
समानुपातिकतर्फका लागि जिल्लास्तरबाट उम्मेदवार सिफारिस भए पनि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले भने दार्चुलाबाट उम्मेदवार बनाएको छैन । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पनि दार्चुलाबाट समानुपातिकतर्फ उम्मेदवार छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here