हेलिकोप्टर मार्फत ल्याइयो छाङरु र तिंकरको जनगणना गरेको टोलीलाई

0
941

बिरा दत्त भट्ट

दार्चुला, मंसिर ९ गते । 

दार्चुलाको ब्यास गाउँपालिकाको वडा नं १ छाङरु र तिंकरमा जनगणना गर्न गएको टोलीलाई विहिबार नेपाली सेनाको हेलिकोप्टर मार्फत दार्चुला सदरमुकाम खलंगा ल्याइएको छ । भारतले आफ्नो क्षेत्रको सडकबाट जान नदिदाँ स्वदेशको बाटो भएर जोखिमपुर्ण यात्रा गर्दै चार दिन हिडेर जनगणना टोली उक्त क्षेत्र पुगेको थियो ।

मंसिर ३ गते दार्चुला सदरमुकाम खलंगाबाट उक्त क्षेत्रतर्फ गएको जनगणना टोली ६ गते छाङरु पुगेर जनगणना सुरु गरेको थियो । तीन दिनमा छाङरु र तिंकरगाउँमा जनगणना गरि आज दार्चुला सदरमुकाम फिर्ता भएको जनगणना गर्न गएका जनगणना कार्यालय दार्चुलाका सहायक जनगणना अधिकारी खगेन्द्रसिह कार्कीले जानकारी दिनुभयो ।

जनगणना गर्न जनगणना कार्यालय दार्चुलाका सहायक जनगणना अधिकारी खगेन्द्रसिह कार्की र कार्यालय सहयोगी लोकेन्द्र टेर गएका थिए । दुम्लिङबाट एक जना स्थानिय बाटो देखाउने मान्छे लगेर गएको कार्कीले बताउनुभयो ।

दार्चुला सदरमुकाम खलंगाबाट पहिलो दिन ब्यास गाउँपालिकाको वडा नं २ दुम्लिङ, दोस्रो दिन थी र तेस्रो दिन बुदीमा बास बसेको र चौथो दिन छाङरु पुगेको कार्कीले बताउनुभयो । ‘बाटो अधिकाशं क्षेत्रमा भत्किएको थियो, बुट्यानका मुना समात्दै केहि ठाउँमा पहाड चढेर र कुनै ठाउँमा बाटो बनाएर यात्रा गरि छाङरु सम्म पुगेका थियौ’ कार्कीले भन्नुभयो ।

दुम्लिङ भन्दा माथिल्लो क्षेत्रको मानव बस्ती छाङरुमा मात्रै छ । दुई दिन राती भेडी गोठहरुमा भेडा हेर्ने मान्छेहरु संग बसेको कार्कीले बताउनुभयो । ‘थी’ र ‘बुदी’मा भेडी खर्कमा बसेको उहाँको भनाई छ ।

जादाँ जोखिमपुर्ण यात्रा गरि चार दिन हिडेर गएका थियौ, आउँदा विभागले हेलिकोप्टरको ब्यवस्था गरिदिएर २० मिनेटमै सदरमुकाम पुग्यौ, कार्कीले भन्नुभयो ।

जोखिमपुर्ण बाटोमा जादै जनगणना टोली ,फोटोः खगेन्द्र कार्की

बाटो जोखिमपुर्ण भएकाले गणना टोलीलाई फिर्ता गर्नका लागि विभागलाई हेलिकोप्टरको ब्यवस्था गर्न जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले अनुरोध गरेका थिए । सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरले जनगणना टोलीलाई सदरमुकाम फिर्ता ल्याएको कार्यालय प्रमुख पाण्डेले बताउनुभयो ।

छाङरु र तिंकर गाउँमा रहेका १ सय १३ घरपरिवार तथा त्यहाँ स्थित एउटा सशस्त्र प्रहरी गुल्म र प्रहरी चौकीमा जनगणना गरिएको उहाँले बताउनुभयो ।
उक्त क्षेत्रमा चिसो बढेपछि तिंकरका केहि परिवार जनगणना टोली पुग्नु भन्दा पहिला नै दार्चुला सदरमुकाम खलंगा झरेका छन् । सदरमुकाम झरेकाहरुको गणक परिचालन गरेर सदरमुकाममै जनगणना गरिएको जनगणना कार्यालय दार्चुलाका खरिदार हरिस पन्तले बताउनुभयो ।

भारतीय सुरक्षाकर्मीद्धारा निगरानी

जनगणना टोली नेपालको बाटो भएर गएको खबर भारतीय प्रशासन र सुरक्षा निकायलाई पनि थियो । नेपालमा हिड्नै नसकिने बाटो भएकाले महाकाली नदीमा तुइनको प्रयोग गरि भारतीय बाटो भएर जनणना टोली जान सक्ने भन्दै भारतले सुरक्षा निगरानी बढाएको थियो । ब्यास गाउँपालिका क्षेत्रमा महाकाली नदीमाथी लगाइएका तुइनहरुमा भारतीय सुरक्षा निकायले निगरानी बढाएको बुझिएको कार्कीले बताउनुभयो ।

छाङरु र भारतको गरब्याङ गाउँ जोड्ने सीतापुल नाकामा पनि सदाझैँ भन्दा जनगणनाको समयमा तेब्बर सुरक्षाकर्मी परिचालन गरेको पाइएको उहाँको भनाई छ ।

छाङरु र तिंकरमा जनगणना गर्नका लागि भारतीय सडक भएर जान जिल्ला प्रशासन कार्यालयले गत कात्तिक २६ मा भारतको पिथौरागढ जिल्लाको धार्चुला तहशिलसँग अनुमति मागेको थियो । भारतीय प्रशासनले अनुमति नदिदाँ जनगणना प्रभावित हुन सक्ने भन्दै जनगणना कार्यालयले स्वदेशबाटै जनगणना टोली पठाएको थियो ।

ब्यास गाउँपालिका १ मा पर्ने पाँच गाउँहरू कुटी, नाभी, गुञ्जी, तिंकर र छाङरु मध्ये कुटी, नाभी र गुञ्जी भारतले अतिक्रमण गरेको छ । भारतले अतिक्रमण गरेका बाहेक तिंकर र छाङरु गाउँमा नेपालको प्रशासनिक अधिकार कायम छ ।

छाङरु पुग्ने नेपालको बाटो वर्षादको बेला महाकाली नदीको कटानले तथा भारतले विस्तार गरिरहेको धार्चुला–लिपुलेक सडकका कारण ठाउँठाउँमा अवरुद्ध छ । नेपालतर्फ बाटो जोखिमपुर्ण भएकाले स्थानीयदेखि त्यस क्षेत्रमा पुग्ने नेपाली सुरक्षाकर्मीहरुले समेत भारतीय सडक प्रयोग गर्ने गरेका छन् ।