पुर्चाैडीमा कोरोना नियन्त्रणमा खटिने कर्मचारीहरुको ५ लाख बिमा

389

बैतडी । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम अभियानमा खटिने स्वास्थ्यकर्मी तथा स्वासथ्यकर्मीहरुको पुर्चाैडी नगरपालिकाले पाँच लाखको जीवन बिमा गर्ने निर्णय गरेको छ ।
नगरप्रमुख रणबहादुर कुवँरको अध्यक्षतमा मंगलबार बसेको ४३ औँ नगरकार्यपालिकाको बैठकले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम अभियानका खटिने सम्पूर्ण कर्मचारीहरुको ५ लाखको जीवन बिमा गर्ने निर्णय गरिएको हो । जोखिम मोलेर कोरोना नियन्त्रण तथा रोकथाममा काम गरिरहेकाले नगरपालिकाले उनीहरुको जीवन बिमा गर्ने निर्णय गरेको नगरप्रमुख रणबहादुर कुवँरले बताउनु भयो ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा जोखिम मोलेर खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको जोखिमलाई मध्यनजर गरि ५ लाख बराबरको जीवन बिमा गरिएको हो ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि खटिने कर्मचारीहरुलाई तीन तहमा बर्गीकरण गरि प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि कार्यपालिकाले गरेको छ । अग्रपंक्तिलाई उच्च जोखिम, त्यसपछि जोखिम र न्युन जोखिम गरि तीन तहमा बर्गीकरण गरिएको हो ।
नगरपालिकाले अग्रपंक्तिमा रहेर कोरोना नियन्त्रण कार्यमा खटिएका स्वास्थ्यकर्मीहरुलाई तलबको सतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय पनि गरेको उपप्रमुख जानकी बम ऐरले बताउनु भयो । कोरोना नियन्त्रणमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरको मासिक तलबको सत प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरिएको हो । मुख्यगरी ल्याब अशिष्टेन्ट, स्वीपर लगायतका कर्मचारीहरुलाई उच्च जोखिम तहमा राखेर भत्ता उपलब्ध गराउन लागिएको हो ।
त्यस पश्चात् जोखिममा रहेका कर्मचारीहरुलाई तलबको ७५ प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरिएको सूचना अधिकारी प्रवीण धानुकले बताउनु भयो ।

उहाँका अनुसार दैनिक स्वास्थ्य सेवा प्रबाह गर्ने स्वास्थ्यकर्मीहरु जोखिम तहमा राखिएको छ । साथै क्वारेन्टाइन व्यवस्थापन लगायतका व्यवस्थापकीय क्षेत्रमा खटिएका कर्मचारीहरुलाई ५० प्रतिशतका दरले प्रोत्साह भत्ता उपलब्ध गराउने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दराज पन्तले जानकारी दिनुभयो ।
नगरकार्यपालिका बैठकले दुईओटा कार्यविधिहरु समेत पारित गरेको छ । शिक्षक दरबन्दी र विद्यालय समायोजन सम्बन्धी कार्यविधि र आर्थिक सहायता सम्बन्धी कार्यविधि २०७७ पारित गरिएको छ । नगरपालिका बैठकमा नगरपालिकाभरीमा कृषि सम्बन्धी पनि सामान्य छलफल भएको छ । नगरपालिकाभरी भर्खरै छरेको मकै उम्रिन लागेकाले उम्रिन नपाउदै किरा लागेकाले दोस्रो पटक मकै छर्न कृषकहरु बाध्य रहेको विषय पनि कार्यपालिकामा उठेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !