सुदूरपश्चिममा प्रधान सेनापतिको निरीक्षण भ्रमण

0
2776

दार्चुला, फागुन २८ गते ।
प्रधान सेनापति पूर्णचन्द्र थापाले सुदूरपश्चिम प्रदेशमा रहेको सैनिक ब्यारेकहरुको निरीक्षण भ्रमण गरेका छन् । प्रधान सेनापतिको जिम्मेवारी सम्हालेपछि सेनापतिले पहिलो पटक सुदूरपश्चिमबाट ब्यारेकहरुको निरीक्षण भ्रमण थालेका हुन् ।
गत भदौ महिनामा थापा नेपाली सेनाको प्रधान सेनापति बनेका हुन् । सोमबार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको कैलाली जिल्लाको सैनिक कार्यक्रममा सेनापति सहभागी बनेका थिए । मंगलवार विहानैदेखि हेलिकोप्टरमार्फत ६ जिल्लाको भ्रमण गरिएको छ ।
मंगलवार विहान धनगढीबाट दिपायल पुगेका प्रधान सेनापतिले कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाको भ्रमण गरेका छन् । मंगलवार दिउसो सेनापतिको हेलिकोप्टर दार्चुला पुगेको थियो । दार्चुलाबाट बझाङ र खप्तड हुँदै प्रधान सेनापतिको टोली दिपायल फर्किएको सैन्य स्रोतले जनाएको छ ।
बुधवार पनि सुदूरपश्चिम प्रदेशका बाँकी जिल्लाहरुको भ्रमण गर्ने कार्यक्रम छ । जिल्ला–जिल्लामा रहेका सैनिक व्यारेकहरुको स्थलगत निरीक्षणमा सेनापति निस्किएका हुन् । प्रधान सेनापतिको पहिलो र नियमित निरीक्षण भ्रमण भएको दार्चुलास्थित नेपाली सेनाको दुर्गादल गुल्मका गुल्मपति गणेश रावलले बताउनुभयो ।
प्रधान सेनापतिको ब्यारेक भ्रमणमा सैनिक इन्टेलिजेन्स निर्देशनालयका महानिर्देशक झंकरवहादुर कठायत र सुदूरपश्चिम पृतनापति वालकृष्ण कार्की सहभागी छन् । उपरथी कार्की एक महिनादेखि सुदूरपश्चिम पृतनाको कमाण्ड सम्हालिरहेका छन् भने अर्का उपरथी कठायतको सुदूरपश्चिम पृतनाबाट निर्देशनालयमा सरुवा भएको थियो ।
मंगलवार दिउसो हेलिकोप्टरमार्फत दार्चुला पुगेका प्रधान सेनापतिले झण्डै १ घण्टासम्म दुर्गादल गुल्मको सकल दर्जालाई सम्बोधन गरेका छन् । गुल्मको सकल दर्जालाई प्रधान सेनापतिबाट सम्बोधन भएको गुल्मपति रावलले जानकारी दिनुभयो ।
दार्चुलाको निरीक्षण भ्रमणकै क्रममा प्रमुख जिल्ला अधिकारी शंकरवहादुर विष्ट र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुसंग पनि प्रधान सेनापतिको टोलीले भेटघाट गरेको छ । भेटघाटका क्रममा जिल्लाको सुरक्षा अवस्थालगायतको बारेमा कुराकानी भएको प्रमुख जिल्ला अधिकारी विष्टले बताउनुभयो ।