स्वतन्त्र पत्रकार बन्न सम्भव छ ?

522

शंकर सिंह धामी
बेलामौकामा स्वतन्त्र र निस्पक्ष पत्रकारिता हुन नसकेकोमा प्रश्न उठ्छ । तर यस्तो प्रश्न तिनैले उठाउने गर्दछन् जो राजनीतिक दल र संगठनमा धेरै सक्रिय हुन्छन् । केही विद्वान युवाहरुले त सामाजिक सञ्जालमा सन्दर्भ आउने वित्तिकै दार्चुलाको पत्रकारिताको खेदो खन्ने गरेका छन् । स्वतन्त्र र निस्पक्ष पत्रकारिता नभएकोमा आफ्नो बुझाइ राख्नु असान्दर्भिक होइन तर तुच्छ शब्दावली प्रयोग गरी आफुलाई महान र विद्वान देखाउने प्रवृति देखेर दया लाग्दछ । र केही प्रष्टता पार्न आवश्यक ठान्दछु ।
पत्रकारिता समाजको एउटा अंग वा पाटो हो । हाम्रो समाजको अवस्था र स्तर कस्तो छ त्यसको छाया समाजका सबै क्षेत्रमा पर्दछ । पत्रकारितामा पनि वर्तमान समाज र सामाजिक स्तरको झल्को देखिन्छ । तसर्थ हाम्रो सामाजिक स्तर र चेतनाभन्दा उच्चस्तरको पत्रकारिताको अभ्यास किन भएन भन्ठान्नु गलत हो । हो, हामीले सामाजिक स्तर र पत्रकारिताको अभ्यासको विकास र स्तर माथि उठेको देख्न चाहनुपर्छ । यसका लागि भूमिका पनि निर्वाह गर्नुपर्छ । तर मौका मिल्ने वित्तिकै खेदो खन्ने प्रवृतिले सम्बन्धित पात्रको दयनिय मानसिकता र व्यवहार देखाउछ ।
आज केन्द्रको पत्रकारिता कसरी चलिरहेको छ र अगाडि बढिरहेको छ त्यसकै छाया प्रदेश, जिल्ला र गाउँसम्म देखिन्छ र पुग्ने गर्छ । केही महिनाअघि वामपन्थी पत्रकारहरुले वालुवाटारमा सपथ खाएको विषयले चर्चा र आलोचना पायो । तर संगसंगै प्रजातान्त्रिक धारका पत्रकारहरुको अभ्यास र व्यवहारबारे पनि चासो राख्नेहरु जानकार नै छन् । नेपाल पत्रकार महासंघ जस्तो साझा संगठन हुँदाहुँदै र त्यसको नेतृत्व प्रजातान्त्रिक समूहले गरिरहेकै समयमा प्रेस युनियनको स्थापना गरिएको इतिहास छ । काग्रेस पार्टीको केन्द्रीय प्रचार विभागमा रहेर योगदान गरिरहेका नेपालका वरिष्ठ पत्रकारहरुको पंक्ति पनि ठूलै छ । सरकारी नियुक्तिमा मात्र होइन सरकार सञ्चालनमा समेत आफु अनुकुलको परिस्थितिमा सबै विचार र आस्थाका पत्रकारहरुले सक्रियता देखाएकै छन् । प्रतिपक्षमा आफ्नो माउ पार्टी हुँदा त्यसैअनुसार पत्रकारिता गरिएको पनि छ । वामपन्थी र प्रजातान्त्रिक वा अन्य धारका सबै पत्रकार राजनीतिक रुपमा आ–आफ्नो कित्तामा रहेको, उभिएको सबैले देखेकै छन् । कसैले नदेखेको भए दुबै आखा खोलेर राम्ररी हेनुपर्छ, देख्नुपर्छ, देख्न सक्नुपर्छ ।
यो पृष्ठभूमिमा दार्चुलामा स्वतन्त्र पत्रकार र स्वतन्त्र पत्रकारिता भएन भनेर कराउने प्रवृति छ । स्वतन्त्र पत्रकारिताका लागि कराउने पात्रहरुले पहिले आफैलाई हेर्नुपर्छ । म कुन पार्टीको भक्त छुँ, मैले आफ्नो पक्षधरलाई जोड दिएको छुँ र ममा पूर्वाग्रह छ भनेर बुझ्नुपर्छ । आफु अनुकुलको पत्रकारिता चाहेर मात्रै स्वतन्त्र र निस्पक्ष पत्रकारिताको आवाज निकालिरहेको लज्जास्पद अवस्थालाई नदेख्ने प्रवृति छ ।
पत्रकार स्वतन्त्र हुन सक्दैन । चाहेर पनि स्वतन्त्र हुन सक्दैन । किनभने हाम्रो राजनीतिक र सामाजिक परिवेश यस्तै छ । कित्ताकाटको अवस्था छ । न्यायालय, कर्मचारीतन्त्र मात्र होइन सुरक्षा निकायको व्यवस्थापनमा समेत राजनीतिक छायाँ परिरहेको परिवेशमा पत्रकारिता मात्रै स्वतन्त्र हुन सक्दैन । राजनीतिक, सामाजिक संरचना र अवस्थाले पत्रकारिता प्रभावित हुन्छ । कसैले स्वीकारे पनि नस्वीकारे पनि पत्रकार र पत्रकारिता स्वतन्त्र हुनसक्ने अवस्था छैन । कुनै पात्रले स्वतन्त्र पत्रकारिताको अभ्यास गर्ने प्रयास गर्दा पनि अहिलेकै राजनीतिक, प्रशासनिक र सामाजिक संरचनाले त्यसको अस्तित्व नस्वीकार्ने अवस्था छ ।
स्वतन्त्र पत्रकार र पत्रकारिता सम्भव नभए पनि व्यावसायिक पत्रकारिता हुनुपर्छ, गर्नुपर्छ । एउटा विचार र आस्थाबाट प्रभावित भए पनि पत्रकारले लेख्ने समाचार तथ्यपरक हुनुपर्छ । समाचारमा तथ्य, आधार, कारण र सन्तुलन छ कि छैन ? छ भने त्यो समाचारमा दम हुन्छ । जुनसुकै आस्थाको पत्रकारले समाचार लेखे पनि समाचारका न्युनतम आधार र मापदण्ड समेटिनुपर्छ । पत्रकारितालाई व्यवसायको रुपमा लिएको पात्रले पत्रकारिताका आधारभूत मान्यता र मापदण्डलाई अनुशरण गरेको हुन्छ । आफुले लेखेको समाचारप्रति जवाफदेही हुनुपर्छ ।
समाचारले कुन विषयलाई उठाउन खोजेको छ ? कुन दृष्टिकोण (एंगल) ले समाचार लेखिएको छ ? समाचारमा पर्याप्त तथ्य र आधार छन् कि छैनन् ? समाचारमा स्रोत र कारण उल्लेख गरिएको छ कि छैन ? समाचारसंग सम्बन्धित पात्र र निकायको भनाई समेटेर सन्तुलन गरिएको छ कि छैन ? समाचारमा प्रस्तुत तथ्य, सामग्री र विषयवस्तु कति विश्वसनिय छन् ? प्रस्तुत समाचार कति महत्वपूर्ण छ ? सार्वजनिक चाँसो र सरोकारको विषयमा समाचार छ कि छैन ? लगायतका आधारमा समाचार लेख्ने पत्रकार र पत्रकारिताको मुल्यांकन गरिनुपर्छ । तर पत्रकारको पारिवारिक, सामाजिक र राजनीतिक पृष्ठभूमिका आधारमा मात्रै पत्रकारिताको उछितो काट्ने प्रवृति व्याप्त छ ।
कुनै दर्शन र विचारप्रति आस्थावान भए पनि व्यावसायिक पत्रकारले लेख्ने समाचारमा तथ्य, सन्तुलन, कारण र आधार सबै हुन्छ, हुनुपर्छ । प्रस्तुत समाचारमा केही गलत छ भने त्यसको आलोचना हुनु स्वाभाविक हो । तर हाइपावरको दलिय चश्मा लगाएर स्वतन्त्र पत्रकार र पत्रकारिता खोज्नेहरुले आफुले खोजेअनुसार र चाहेअनुसारको अवस्था भेट्टाउन सक्ने अवस्था छैन ।
पत्रकारले लेख्ने समाचार सबैलाई मन पर्नुपर्छ भन्ने छैन । सबै समाचार सबैलाई मन नपर्न सक्छन् । वा एउटै समाचार पनि धेरैलाई मन नपर्न सक्छ । तर धेरैलाई मन नपर्दैमा त्यो समाचार गलत वा पूर्वाग्रही हुँदैन । प्रस्तुत समाचारमा तथ्य, आधार, कारण र सन्तुलन छैन भने त्यसमै आलोचना गरिनुपर्छ । तर आफुलाई मन पर्ने समाचार नआउदा वा मन नपर्ने समाचार आउदा तथानाम शब्दले सराप्ने प्रवृति छ । तथ्य र विवरणमा टेकेर प्रतिक्रिया दिनु वा आलोचना गर्नु स्वाभाविक हुन्छ । तर बादर प्रवृतिभन्दा तल्लोस्तरको शब्द प्रयोगमा आजका दलिय युवापंक्ति उद्दत छ ।
प्रतिस्पर्धी शक्तिको प्रतिकुल समाचार आउदा सामाजिक सञ्जालमै लाइक, कमेन्ट र शेयर गरिन्छ । तर आफु प्रतिकुलका समाचार आउदा स्वतन्त्र र निस्पक्ष पत्रकारिता नभएको कुप्रचार गरिन्छ । पत्रकारिताले जवाफदेहिता र उच्च नैतिकता खोज्छ । तर वर्तमान परिवेशमा राजनीतिक क्षेत्र मात्रै होइन, सामाजिक, आर्थिक, प्रशासनिक सबैक्षेत्रमा जवाफदेहिता र नैतिकताको अभाव छ । नैतिक भ्रष्टिकरणको दिशामा आजको समाज अगाडि बढिरहेको छ । आफुमात्रै सुरक्षित हुने तर समाज जस्तोसुकै होस् भन्ठान्ने प्रवृतिले सबैलाई संकीर्ण बनाइरहेको छ । समाजको अवस्था र परिवेशले व्यक्ति पनि प्रभावित हुन्छ भन्ने वास्तविकतालाई आत्मसात नगर्दासम्म स्वार्थ र संकीर्णताको प्रतिस्पर्धा बढ्दै जानेछ । यो स्वार्थ र संकीर्णताको यात्रालाई छुद्र राजनीतिले थप मलजल गरिरहेको छ । समाजको अवस्था र सामाजिक संरचनाको विद्यमान अवस्थामा स्वतन्त्र पत्रकार र स्वतन्त्र पत्रकारिता देख्न चाहने चाहना उपयुक्त छैन । बरु व्यावसायिक पत्रकार र पत्रकारिताले पस्किरहेको सामग्रीलाई केलाएर वस्तुपरक प्रतिक्रिया र आलोचनामा उत्रिनुपर्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !