सुरक्षा प्रमुखको दार्चुला भ्रमण र सीमाक्षेत्रको अपेक्षा

205

शंकर सिंह धामी
असार ३ गते बुधवार नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र थापाले दार्चुला भ्रमण गरेका छन् । दार्चुला सदरमुकामका साथै महाकाली किनारैकिनारको सीमाक्षेत्र भएर व्यास गाउँपालिकाको छाङरुसम्म भ्रमण गरिएको छ । हेलिकोप्टरमार्फत भ्रमण भए पनि बुधवार ५ घण्टाको समय दार्चुलामा विताएर दुबै सुरक्षा प्रमुखहरुले वस्तुस्थितिबारे जानकारी लिएका छन् ।
अहिलेसम्म व्यास क्षेत्रमा दह्रोसंग राज्यको उपस्थिति हुन सकेको थिएन । व्यासक्षेत्रका वासिन्दासंगै वर्षको ६ महिना मात्रै नेपाल प्रहरीको चौकीले त्यसक्षेत्रमा सुरक्षा दिदैआएको थियो । तर नयाँ नक्सा जारी प्रकरण, लिपुलेक सडक उद्घाटन र छिमेकी भारतको व्यवहारले सिंगो देश एक ठाउँमा उभियो । तिन करोड नेपाली अभिमत राष्ट्रियताका पक्षमा देखियो । नेपाली भूमि अतिक्रमणबारे देश जागेको बेला अहिलेसम्म उपेक्षित व्यासक्षेत्रले महत्व र चर्चा पाएको छ ।
व्यापक जनदबाव र माग भएपछि सरकारले आखा कान खोलेको छ । वैशाख ३१ गते लकडाउनका बीच सेनाको हेलिकोप्टरमार्फत व्यासको छाङरुमा विओपी स्थापना गरिएको छ । वर्षौदेखि दार्चुला–तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिनुपर्ने जनताको माग पनि सम्बोधन भएको छ । मन्त्रिपरिषद्ले वैशाख १४ गते यसबारे निर्णय गरिसकेको छ । स्वदेशकै भूमि भएर व्यासक्षेत्र जाने पैदल बाटो क्षतिग्रस्त भएपछि त्यसको मर्मतका लागि पनि नेपाली सेना परिचालन गरिएको छ ।
यही पृष्ठभूमिमा प्रधान सेनापति र सशस्त्र प्रहरी प्रमुखले दार्चुला भ्रमण गरेका छन् । व्यासको तिंकर, छाङरु र घाटिबगड क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति र सक्रियता छ अहिले । जिल्ला सदरमुकामबाट टाढा र विकट ती क्षेत्रमा पुगेर सुरक्षाकर्मीको मनोवल बढाउने काम यो भ्रमणले भएको छ । घाटिबगड क्षेत्रमा बाटो निर्माण गरिरहेको नेपाली सेना र छाङरु, तिंकरमा सीमा सुरक्षा गरिरहेका सुरक्षाकर्मीलाई पक्कै पनि हौसला बढेको छ ।
सुरक्षाकर्मीका साथै स्थानीय वासिन्दामा पनि आश पलाएको छ । सीमाक्षेत्रमा सुरक्षा उपस्थिति बढनु र सुरक्षा प्रमुखको भ्रमण हुनुले राज्य सीमाक्षेत्रबारे गम्भीर बनेको देखिन्छ । सीमाक्षेत्रमा सुरक्षाका साथै स्थानीय जीवनलाई सहज बनाउने काममा सुरक्षाकर्मी परिचालन भएका छन् । खासगरी, विकास निर्माणको पाटोलाई जोड्न खोजिएको छ र यसबाट जनस्तरमा ठूलो आशा जाग्दैछ । तिंकर सडक निर्माणसंगै अपिनाम्पा संरक्षण क्षेत्रको जैविक विविधता तथा वन्यजन्तु संरक्षणमा पनि नेपाली सेनाको परिचालन गरिनु आवश्यक छ ।
अहिलेसम्म सीमाक्षेत्रमा राज्यको उपस्थिति र क्रियासिलता कमजोर रहेको थियो । व्यासमा राखिएका सीमा प्रशासन कार्यालय, भन्सार कार्यालय अहिलेसम्म सञ्चालन हुन सकेका छैनन् । सुरक्षाका नाममा छाङरु र तिंकरमा मात्रै प्रहरी चौकी थियो । त्यो पनि वर्षको ६ महिना मात्रै बस्दैआएको थियो । छाङरुमा सशस्त्र प्रहरीको विओपी राखिनुका साथै भवन लगायतका पूर्वाधार निर्माणको प्रक्रिया अघि बढेको छ ।
निकट भविष्यमै जिल्ला सदरमुकाममा सशस्त्र प्रहरीको गण राख्ने र छाङरुको विओपीलाई गुल्ममा स्तरोन्नती गर्ने योजना बनेको छ । यो धेरै सान्दर्भिक गृहकार्य हो । महाकाली नदी किनारका सीमाक्षेत्रमा थप आधा दर्जन विओपी राख्ने योजना पनि बन्दैछ । तिंकर, कौवाक्षेत्र, दुम्लिङ, जौलजिवी र लालीमा विओपी स्थापनाको गृहकार्य भइरहेको सुरक्षा अधिकारीले बताएका छन् ।
सीमाक्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति हुनु भनेको राज्य पुग्नु हो । सुरक्षाकर्मीको उपस्थितिसंगै विकास निर्माण, जनताको सेवा र सहयोग पनि संगसंगै हुन्छ । प्राकृतिक प्रकोपमा उद्धार र राहत पुर्याउन, जनजीविनलाई सुरक्षित बनाउन र सीमा अतिक्रमण रोक्न पनि सुरक्षा उपस्थिति बढाउनुको विकल्प छैन ।
भारतबाट भएको भूमि अतिक्रमणलाई हटाउन केन्द्रीयस्तरबाटै पहल र अभ्यास होला । तर सीमाक्षेत्रको भूगोलमा तत्कालदेखि नै थप सुरक्षा निगरानी बढाउनु आवश्यक छ । भारतिय अतिक्रमितमा परेको कालापानी क्षेत्र नजिकको भूमि, वनजंगल र प्राकृतिक स्रोतसाधनको संरक्षण गर्नु पनि जरुरी छ । किनकी त्यसक्षेत्रमा नेपालको कुनै मानव वस्ती नहुदा भारतीय सुरक्षाकर्मी र स्थानीय वासिन्दाले नेपालको वनजंगल फडानी गर्दैआएका छन्, प्राकृतिक स्रोतसाधनको दोहन गर्दैआएका छन् ।
सुरक्षाकर्मीको उपस्थितिसंगै सीमाक्षेत्रमा गैरकानुनी क्रियाकलापमा नियन्त्रण हुन्छ । आपराधिक क्रियाकलाप हुनुपूर्व नै सुरक्षाकर्मीको उपस्थितिले त्यसलाई निरुत्साहित गर्दछ । महाकाली नदी किनारैकिनार भएर तिंकर सडक निर्माण गरिनेछ । सडक निर्माणले सीमाक्षेत्रमा विकास र सुरक्षाको एकसाथ प्रत्याभूति हुनेछ ।
सुरक्षा उपस्थिति बढाउने र विकास निर्माण एवं संरक्षण थाल्नेबारे राम्रो गृहकार्य भएको छ । अब यसको कार्यान्वयन छिटो र प्रभावकारी बनाउनुपर्छ । सुरक्षा प्रमुखहरुले जिल्ला र सीमाक्षेत्रको वस्तुस्थितिबारे जानकारी लिएका छन् । सीमाक्षेत्रको आवश्यकताअनुसार तत्काल सम्बोधन हुने अपेक्षा नागरिकले गरेका छन् । व्यासको छाङरुमा भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउनेबारे पनि सुरक्षा प्रमुखहरुले चाँसो देखाएका छन् ।
व्यासक्षेत्रका खाद्यान्न, बाटो, आकस्मिक स्वास्थ्य सेवा र हवाई उद्धार जस्ता संवेदनशील क्षेत्रमा नेपाली सेनाको भूमिका महत्वपूर्ण हुन्छ । किनकी हाल त्यसक्षेत्रमा बाटो र सडकको सुविधा नहुँदा हेलिकोप्टरबाट ढुवानी र उद्धारको एक मात्र विकल्प छ । व्यासक्षेत्रका वासिन्दा र सुरक्षाकर्मीलाई आकस्मिक स्वास्थ्य सेवा र खाद्यान्न आपुर्तिका लागि सेनाको हेलिकोप्टर उपयुक्त विकल्प हो ।
सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मी र स्थानीय वासिन्दालाई आश्वस्त पार्न सक्नुपर्छ । सम्भवतः यो कुरा सुरक्षा प्रमुखहरुले बुझेका छन् । सीमाक्षेत्रको महत्व र अवस्था, छिमेकीको प्रवृति तथा स्थानीयवासीको आवश्यकतालाई सम्बोधन हुने गरी नीतिगत तहबाटै सुधार गर्न सुरक्षा प्रमुखहरुको भूमिका महत्वपूर्ण हुनेछ । सुरक्षा संयन्त्र मुख्यतः सरकारी नीति र निर्णयको कार्यान्वयन तह हो । तर नेपाली सेना र सशस्त्र प्रहरीका प्रमुख पद नीति र निर्णय निर्माणमा पनि भूमिका खेल्न सक्ने ठाँउ हो । सीमाक्षेत्रको आवश्यकतालाई सम्बोधन गर्न, गराउन आवश्यक नीति र निर्णय गराउन तथा परिमार्जन गर्न पनि सुरक्षा प्रमुखले भूमिका खेल्नुपर्छ ।
सीमाको सुरक्षा र जनताको सेवालाई केन्द्रविन्दु राखेर नै सुरक्षा निकाय परिचालन हुन्छन् । यी दुबै पाटोलाई संगसंगै अगाडि बढाएर मुलुकको पश्चिमोत्तर क्षेत्रमा सुरक्षा निकायको सक्रियता हुने आवश्यकता छ । सीमाक्षेत्रमा सुरक्षाकर्मीहरुलाई साधनस्रोत सम्पन्न बनाउनुपर्छ । आधुनिक समयमा सुरक्षाकर्मीको हतियार भनेको बन्दुक मात्रै होइन, सञ्चार उपकरण, क्यामेरा लगायतका प्रविधिजन्य सामग्रीको महत्व धेरै हुन्छ । सुरक्षाकर्मीका लागि भौतिक पूर्वाधार व्यवस्थापन र व्यासक्षेत्रमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई प्रोत्साहन गर्नुपर्ने पाटोलाई पनि बिर्सनु हुँदैन ।

तपाईको प्रतिक्रिया दिनुहोस् !