सीमा प्रशासन कहाँ छ ?

590

शंकर सिंह धामी ।
कार्यालयको साइनबोर्डका आधारमा सीमा प्रशासन कार्यालय छाङरु व्यास दुइ–दुइ स्थानमा भेटिन्छ । हाल खलंगास्थित जिल्ला प्रशासन कार्यालय परिसरमै सीमा प्रशासन कार्यालयको साइनबोर्ड टाँगिएको छ । अर्को, व्यास गाउँपालिका वडा नम्बर १ छाङरु गाउँको एउटा घरमा पनि कार्यालयको साइनबोर्ड राखिएको छ । यी दुइस्थानमा कार्यालय रहेको जानकारी छ तर सीमा कार्यालय वर्षौदेखि सञ्चालनमा छैन, अस्तित्वमा छैन ।
यो अहिलेको समस्या होइन, विगतदेखि कै हो । मुख्यतः डेढ दशकदेखि नै सीमा प्रशासन कार्यालय प्रभावकारी सञ्चालनमा छैन । यो भनिरहदा कर्मचारीले हाजिर लगाइरहेको, जिल्ला प्रशासन कार्यालयमा मासिक रुपमा प्रतिवेदन पेश गरिएको र कर्मचारीले तलब–भत्ता खाइरहेको विवरण पेश गरेर कार्यालय सञ्चालनमा रहेको देखाउन सकिन्छ । तर यसैलाई कार्यालय सञ्चालन भएको मान्न सकिदैन ।
कुनै पनि संस्था वा निकायको इतिहास हुन्छ, पृष्ठभूमि हुन्छ । व्यासको सीमा प्रशासन कार्यालयको महत्वपूर्ण र रोचक इतिहास छ । यो ऐतिहासिकता र पृष्ठभूमि बुझेर मात्रै कार्यालय सञ्चालनमा रहेको वा नरहेको सन्दर्भ उठाउनु जायज हुन्छ । तीसको दशकको सुरुमा तत्कालिन राष्ट्रिय पञ्चायत सदस्य एवं वन सहायक मन्त्री वहादुर सिंह ऐतवालले अतिक्रमित भूमिको विषय राष्ट्रियस्तर र दरबारसम्म पुर्याएका थिए । लगत्तै २०३१ सालमा टिंकर भञ्ज्याङ नजिकैको टाटाक्षेत्रमा वाङदी काण्ड भएको थियो । खम्पा विद्रोहलाई निस्तेज पार्न नेपाली सेना र नेपाल प्रहरीको टोलीले त्यो विद्रोहका कमाण्डर वाङदीलाई टाटाक्षेत्रमा मारेको थियो । त्यसपछि खम्पा विद्रोह नै समाप्त भएको थियो ।
२०३० सालतिरै नेपाल सरकारका दुइजना अधिकृतहरुले सिमा अतिक्रमणबारे स्थलगत भ्रमण गरेर सरकारलाई प्रतिवेदन दिएका थिए । अहिले पनि त्यो प्रतिवेदन एउटा महत्वपूर्ण दस्तावेजका रुपमा रहेको छ । त्यो प्रतिवेदनमा सिमा अतिक्रमणको वास्तविकता उल्लेख गरिएको छ, सरकारले तत्काल गर्नुपर्ने कार्यहरुबारे समेत सुझाव दिइएको छ ।
दार्चुलाको प्रतिनिधित्व गर्ने नेता ऐतवालको आवाज, अधिकृतहरुको प्रतिवेदन र खम्पा विद्रोह निस्तेजको पृष्ठभूमिमा सीमा प्रशासन कार्यालय व्यासको स्थापना भएको देखिन्छ । २०३४ सालमा सीमा प्रशासन कार्यालय स्थापना भएलगत्तै खलंगाबाट छाङरु हुँदै टिंकर भञ्ज्याङसम्मको ८० किलोमिटर घोरेटो बाटो त्यतिबेलै निर्माण सुरु गरिएको थियो । छाङरुबाट कालापानीसम्मको १२ किलोमिटर घोरेटो बाटो पनि त्यतिबेलै निर्माण गरिएको थियो । व्यासक्षेत्रको बाटो निर्माण गर्ने र त्यो बाटो प्रयोग गर्ने सयौं नागरिक अहिले पनि हाम्रो समाजमा जिवित छन् । उहाँहरुले त्यतिबेलाको अवस्था र परिस्थितिको अनुभव बटुलेका छन् ।
भारत र चीनसंग सिमा जोडिएको क्षेत्रमा सिमा प्रशासन कार्यालय स्थापना गर्नुको विशिष्ट महत्व र अर्थ छ । यसको सान्दर्भिकता अहिले झन–झन बढेको छ । तर, कर्मचारी सुविधाभोगी भए, सीमाको अवस्था र समस्याबारे चाँसो राख्ने कोही भएनन् । हाम्रा शासक र प्रशासक कसैलाई पनि सिमाको अवस्था र आवश्यकता महशुस भएन । कुर्सी दौडमा अर्कोले कुर्सी नखोस्दासम्म दार्चुलाका शासक भए, प्रशासक भए र समयक्रममा विदा भए । यो अहिलेसम्म राजनीतिक र प्रशासनिक पात्रहरुमा देखिएको चक्र हो ।
नेपाल सरकारले व्यास गाउँपालिकाको वडा नम्बर १ को सम्पूर्ण भूगोललाई निषेधित क्षेत्र घोषणा गरेको छ । त्यसक्षेत्रमा नेपाल सरकारको लिखित अनुमतिविना कुनै पनि विदेशीले भ्रमण गर्न पाउदैनन् । चीनको ताक्लाकोट जोड्ने टिंकर नाका त्यही पर्छ । अतिक्रमित नेपाली भूमि त्यही क्षेत्रमा छ । प्राकृतिक सम्पदाहरु धेरै छन् । वनजंगल, जटिबुटी, हिमालय क्षेत्रको दृश्यावलोकन आदिका लागि व्यासक्षेत्रमा महत्वपूर्ण छ । यिनै कारणले सरकारले साविकको सिंगो व्यास गाविसलाई निषेधित क्षेत्रमा राखेको हो ।
सीमा क्षेत्रको निगरानी गर्नकै लागि पञ्चायतकालमै साविकको व्यास गाविसमा तीनवटा प्रहरी चौकी राखिएका थिए । सिमा प्रहरी चौकी तिंकर, प्रहरी चौकी व्यास र प्रहरी चौकी सितापुल । भारतसंगको सिमानामा सुरक्षाका लागि सितापुल प्रहरी चौकी, चीनको सिमाना हेर्न सिमा प्रहरी चौकी तिंकर र थप भारतीय क्षेत्रको अतिक्रमण निगरानी गर्न कौवाक्षेत्रमा प्रहरी चौकी व्यास राखिएको थियो । थोरै जनसंख्या भएको व्यासमा पञ्चायत कालमै तीनवटा प्रहरी चौकी राखिनुले पनि त्यहाँको महत्वबारे बोध गराउछ ।
सिमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने, विदेशीहरुलाई निषेधित क्षेत्रमा जान रोक्ने, सिमावर्ती क्षेत्रका जनतालाई आवागमनको व्यवस्था मिलाउने, सिमा क्षेत्रका गतिविधिबारे पाक्षिक र मासिक रुपमा प्रजिअलाई जानकारी गराउने, सिमा स्तम्भको निरीक्षण गर्ने, सिमावर्ती क्षेत्रमा हुने अपराधहरुको नियन्त्रण गर्ने जस्ता गहनतम १७ वटा जिम्मेवारी सिमा प्रशासन कार्यालयका छन् । स्थानीय प्रशासन दीग्दर्शन २०५९ मा यी जिम्मेवारीहरु उल्लेख गरिएका छन् ।
नेपाल देशभर यस्ता सीमा प्रशासन कार्यालयहरु ७ वटा मात्र छन् । इलाम र पाँचथरमा भारतीय सीमा निगरानीका लागि कार्यालय राखिएका छन् भने ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु र दोलखाको लामाबगरमा चीनसंगको सिमा निगरानीका लागि सिमा कार्यालय उहिलेदेखि सञ्चालनमा छन् । दार्चुलाको व्यासमा रहेको सिमा प्रशासन कार्यालयले भने भारत र चीन दुबैको सीमाक्षेत्रको निगरानी गर्ने गहनतम जिम्मेवारी पाएको थियो ।
पञ्चायतकालमा सिमा प्रशासन कार्यालय प्रभावकारी रुपमा सञ्चालन गरिएको अभिलेख र अनुभव छ । दशकौंदेखि सिमा प्रशासनमा कार्यरत रही दुर्गम भूगोलमा खटिएर राष्ट्रसेवा गरेको अनुभव महाकाली नगरपालिका वडा नम्बर ८ धाप असिगडा घर भएका पूर्व शाखा अधिकृत स्वर्गिय फकिर सिंह धामीले तीन वर्षअघि सार्वजनिक गर्नुभएको थियो । महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै घरभएका पूर्व कर्मचारी (नासु) भवान सिंह ठगुन्ना अर्का जिउदा अनुभव र प्रमाण हुन् व्यासको सिमा प्रशासनबारे ।
पछिल्लो समय शासक र प्रशासक दुबै कुर्सी दौडमा व्यस्त रहे । सिमाक्षेत्रको अवस्था र आवश्यकताबारे केही बोध भएन । कोहीकसैलाई बोध भए पनि दुइ दिनको जिन्दगीमा वा जागिरे जिन्दगीमा किन टाउको दुखाउने भन्दै केही गर्ने आँट गरिएन् । नत्र वर्षको ६ महिना छाङरु र ६ महिना खलंगामा सिमा प्रशासन कार्यालय नियमित र प्रभावकारी रुपमा सञ्चालन भइरहेको हुन्थ्यो ।
सिमा प्रशासन कार्यालयका निर्धारित १७ वटा जिम्मेवारीहरु, कार्यहरु प्रभावकारी रुपमा सम्पादन भइरहेका हुन्थे । पछिल्लो समय त फाटफुट सिमा समन्वय बैठकमा सहभागी हुने, हाजिर लगाउने, मासिक प्रतिवेदन पेश गर्नेबाहेक कुनै पनि कार्यमा सिमा प्रशासन कार्यालय सक्रिय देखिएन ।
सिमा प्रशासन कार्यालय नियमित रुपमा र प्रभावकारी रुपमा सञ्चालन नहुनुमा प्रमुख जिल्ला अधिकारी जिम्मेवार हुन्छन् । किनकी सिमा प्रशासन कार्यालय जिल्ला प्रशासन कार्यालय मातहतको निकाय हो । सिमा प्रशासन कार्यालयका १७ वटा जिम्मेवारीमध्ये सबैजसो जिम्मेवारी प्रत्यक्ष रुपमै प्रजिअसंग सरोकार राख्दछन् । १७ मध्ये ३ वटा जिम्मेवारीमा ‘प्रमुख जिल्ला अधिकारी’को पद नै उल्लेख गरिएको छ ।
सजिलोगरी जागिर खान सबैले चाहन्छन् । सुविधामै बस्न चाहन्छन् । यही कारणले सिमा प्रशासन कार्यालय व्यासबाट सञ्चालन हुँदैन । अर्को महत्वपूर्ण कुरा कार्यालयले गर्नुपर्ने निर्धारित कार्यहरु प्रभावकारी रुपमा भए कि भएनन् ? निर्धारित जिम्मेवारीहरु सम्पादन हुनका लागि कर्मचारीको व्यवस्थापन र प्रभावकारी परिचालन भयो कि भएन ? यसमा स्थानीय प्रशासन र नेपाल सरकार चुकेको छ । हाम्रा शासकहरु (नेताहरु) कुर्सी दौडमा मिहिनेत गर्छन् तर सिमाक्षेत्रको यो महत्वपूर्ण कार्यालय सञ्चालनबारे बेखवर छन् ।
अब त सुधार गरौं
अहिलेसम्मको देखाइ, भोगाइ माथि उल्लेख गरियो । अब के गर्ने ? सच्चिने कि वेवास्ता गर्ने ? अरुले गरेका गल्ती र कमजोरीलाई सुधार गर्ने दायित्व पनि वर्तमानमा उभिएका पात्रहरुकै हुन्छ । हामीलाई अहिले एउटा अवसर मिलेको छ । तीन वर्षपछि टिंकर नाका खुल्दैछ । यसैक्रममा त्रिदेशीय सिमाक्षेत्रमा सरकारको दह्रो उपस्थिति गराउने अवसर छ । हालसम्म व्यवस्थित रुपमा र प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको सिमा प्रशासन कार्यालय मौसमी चक्रअनुसार व्यास र खलंगामा सञ्चालन गर्नुपर्छ । अरुले गर्न नसकेको असल कार्य अहिलेका पात्रहरुले गरेर देखाउनु छ । यो हामी सबैको कर्तव्य हो ।
अरु कर्मचारीले सहजै जागिर पकाइरहदा व्यास पुगेर जिम्मेवारी निर्वाह गर्न पक्कै पनि अप्ठेरो लाग्छ । यो मानवीय गुण पनि हो । तर राष्ट्रसेवा र पदीय जिम्मेवारी पूरा गर्नैपर्छ । अरु कामचोर छन् भनेर आफु पनि कामचोरको लाइनमा उभिने कि निर्धारित जिम्मेवारी प्रभावकारी रुपमा बहन गर्न हिम्मत गर्ने ? कोहीकुनै पात्र विशेष मेरो आग्रह वा पूर्वाग्रह केही छैन तर सिमा प्रशासन कार्यालय व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन हुनुपर्छ भन्ने पवित्र भावना र बुझाइ हो । जय मातृभूमि ।

तपाईको प्रतिक्रिया दिनुहोस् !