सिद्धान्त बिर्सेका नेताहरु !

294

सम्पादकीय

माओवादको सन्दर्भ उल्लेख गर्ने हो भने पार्टीभित्रको अन्तरविरोध पार्टीको सम्पत्ति हो, पहिचान हो र जीवन हो । लेलिनले अथ्र्याएको अन्तरविरोध पुँजीवाद र सर्वहारा जस्तो, मालिका र मजदुर जस्तो परस्पर विरोधि मान्यता र अवस्था हो ।

अहिले कम्युनिष्ट नेताहरुमा देखिएको अन्तरविरोध यी दुईमध्ये कुन हो ? नेताहरुले राजनीतिक र सैद्धान्तिक उत्तर दिन सक्ने अवस्था छैन । शिक्षाविद् विद्यानाथ कोइरालाका शब्दहरु सापट लिने हो भने ‘वर्गीय सिद्धान्त एमालेको हो । माओवादीको हो । तीभित्रका चोइटाहरुको हो । उपचोइटाहरुको हो । गुटहरुको हो । उपगुटहरुको हो ।’ यस्तो अवस्थाले नेपालमा वर्गीय राजनीति गर्नेहरुको वास्तविकता प्रष्ट पार्दछ । यद्यपि प्रजातान्त्रिक, परम्पारगत र तप्कीय सिद्धान्त मान्ने राजनीति दलहरु पनि गुटे, उपगुटे राजनीतिबाट मुक्त छैनन् । तर पछिल्लो कोलाहल आफूलाई वर्गीय राजनीतिका हिमायति मान्नेहरुको, आफूलाई माओका अनुयायि मान्नेहरुको, आफूलाई माक्र्स, लेलिनका विचारहरुको समर्थक मान्नेहरुको धेरै सुनिएको छ । सडक, सदन र सञ्चारतिर । चिया पसल, चौतारो, विद्यालय, कलेज या भनौं मानिसहरु भेला (दुई जना भएपनि) हुने ठाउँमा कहीँ न कहीँ, कुनै न कुनै रुपमा अन्तरविरोधको चर्चा छ तर त्यो सैद्धान्तिक हुन सकेको छैन । पचासको दशकको जस्तो वा कम्युनिष्टहरुको इतिहास जस्तो नीति तथा कार्यक्रममा पनि अन्तरविरोध छैन । अन्तरविरोध कसले कति खुइल्याउन सक्ने, गालि गर्न सक्ने, अरुका बिरुद्धमा कार्यकर्ता परिचालन गर्न सक्ने, कार्यकर्ता वल्लो पालबाट पल्लो पालमा तान्न सक्ने भन्नेमा केन्द्रित छ । यिनहरुका सिद्धान्त हेर्ने हो, कार्यनीति हेर्ने हो भने कार्यगत वा रणनीतिक एकताबाट माथि उठ्न सक्ने अवस्था छैन तर पार्टी एकता (!) गरे र अहिले ए कता ? को स्थितिमा छन् । पार्टी एकता किन गरेका थिए– आफ्ना सिद्धान्त अनुसार राज्य सञ्चालनको कानुन, नियम, नीति, कार्यक्रम बनाएर लागू गर्न वा सत्ताशक्तिको केन्द्रमा रहेर राजषि ठाँट बनाउन ? होटेल, कम्पनि, बैंक त परै जाओस् यिनीहरुले सञ्चालन गरेका निजी विद्यालय, निजी अस्पतालहरुले कुन राजनीतिक सिद्धान्तलाई स्थापित गर्न खोजेका हुन् ? के यिनीहरुको अन्तरविरोध यस्ता (वर्गविरोधि) कार्य निस्तेज पार्न हुन्, के अहिले देखिएको विवाद शिक्षा, स्वास्थ्य जस्ता विषयलाई निशुल्क र सर्वपहुँचको बनाउने विषयमा हो ?
पार्टीका प्रशिक्षणहरुमा राजनीतिक सिद्धान्त, कार्यनीति, रणनीति, कार्यक्रमका कुरा हुँदैनन् । आफ्नो पक्षको मण्डन गर्दै अर्को पक्षको धोतिटोपी खुस्काउने गरी खण्डन (विद्यालय स्तरमा बालबालिकाले समेत मर्यादित वादविदाद गर्छन्) हुन्छ । यो पहिचानले मास तताउन सकिएला, कार्यकर्ता हौस्याउन सकिएला, क्यामेरा र रेकर्डरहरुको थुप्रो लगाउन सकिएला तर बिर्सिएको सिद्धान्त फर्काउन सकिदैन ।


तपाईको प्रतिक्रिया दिनुहोस् !