विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकललाई सबैले कार्यान्वयन गरौं

553

मनोज भट्ट ।

विश्व समुदाय कारोना भाईरसको महामारीबाट आक्रान्त छ । त्यसका विरुद्द जुधी रहेकोछ । यही पुस १५ गते चीनमा देखा परेको कोरोना भाईरसले तीन महिनाको दौरानमा विश्वका दुई सय देशलाई रोगको चपेटामा तानेको छ । यो लेख तयार पार्दा सम्म मृत्यु हुनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ भने लाखौं व्यक्तिहरु यो रोग बाट सङक्रमित छन ।

अझ डर लाग्दो कुरा अमेरिकी प्रशासनले यो रोग बाट दुई लाख व्यक्तिहरु अमेरिकामा मृत्यु हुन सक्ने चिन्ता जाहेर गरेको छ । यसप्रकारले यो रोग संसार भरि तीव्र गतिमा फैलिरहेको छ । यो रोगका विरुद्ध विभिन्न मुलुकहरु आफनो क्षमता र साधन स्रोतका आधारमा लडिरहेका छन ।
सयुक्त राष्ट्र संघका महासचिब एन्टोनियो गुटेरेसले ,“ कोभिड १९ संयुक्त राष्ट्रसङघको गठन देखि अहिले सम्म सामना गर्नु परेको सबै भन्दा ठूलो चुनौति हो ।

यो रोग दोस्रो विश्व युद्ध पछि को सबै भन्दा ठूलो चुनौती रहेको ” कुरा स्वीकार गरेबाट पनि यसको गम्भीरता समेत प्रस्ट छ । यो रोगका विरुद्ध विश्व स्तरमै सामना गर्नु पर्ने आवश्यकता छ । त्यस दिशामा विश्व स्वास्थ्य सङगठनले नेतृत्वदायी भूमिका खेलि रहेको छ । यो रोगले पार्न सक्ने प्रभावको गम्भीरता लाई हेरेर विश्व स्वास्थ्य संगठनको आपतकालिन बैठक बसेर माघ १७ गते विश्वभरी स्वास्थ्य सङकटकालको घोषणा गरेको थियो । त्यसै गरी फागुन २८ गते कोरोना भाईरसको सङक्रमणलाई महामारीको रुपमा घोषणा गरेको छ ।

त्यो महामारीको सामना गर्नका लागि विश्वका सबै देशले महामारेी नियन्त्रण गर्न केही न केही उपाय अपनाउनका लागि विश्व स्वास्थ्य सङगठनले आवश्यक प्रोटोकल को व्यवस्था गरेको छ । विश्व स्वास्थ्य सङगठनले तयार पारेको प्रोटोकलमा विश्व समुदाय सहमत छन र त्यसको कार्यन्वयनमा जोड दिई रहेकोका छन र दिनु पनि पर्दछ । यो रोग कुनै एउटा देशको मात्र समस्या नभएर विश्वकै समस्या हो ।

विश्व स्वास्थ्य सङगठनले यो महामारीको नियन्त्रणका लागि सामाजिक दुरी कायम गर्नु (Social distance)लाई सबै भन्दा उत्तम उपायको रुपमा अगाडी सारेको छ । यही उपायको आधारमा रोगी बाट अलग बस्ने कोरन्टाईनको पद्दती मा जोड दिने गरिएको छ । अर्थात, “जो जहा छन त्यही सुरक्षित राख्ने वा रहन दिने” भन्ने नै हो ।
नेपालको सन्दर्भमा, रोग बाट बच्न सामाजिक दुरी कायम राख्ने र जो जहाँ छ त्यही सुरक्षित राख्ने वा रहन दिने नीतिलाई कार्यान्वयन गर्नाका लागि बन्दी अवस्था ( Lock down) को कार्यक्रम यही चैत्र ११ गते देखि लागु गरिएको छ । महामारी नियन्यत्रणका लागि लक डाउनको कार्यक्रम प्रभावकारी देखिएको छ ।महामारी नियन्त्रणका लागि लक डाउन गरेको अवस्थामा छिमेकी मुलुकका सिमा नाकाहरु खुला रहदा त्यसले जनताको आवागमन कायम रहने र महामारीले थप सङक्रामक रुप लिने भएको हुनाले सीमा नाकाहरु पनि बन्द गर्नु पर्ने आवश्यकता देखियो र त्यसका लागि जनस्तर, राजनैतिक दल तथा संघ संस्थाबाट पनि आवाज उठेको थियो । त्यसैले सीमा नाकाहरु बन्द गरिएका छन । सीमा नाका बन्द गर्दा स्वभाविकरुपले जो जहाँ छ त्यही सुरक्षित राख्ने वा रहने विश्व स्वास्थ्य संगठनको प्रोटोकलको पालनामा सबै मुलुकहरुले ध्यान दिनु पर्दछ र त्यसको पालना गर्नु पर्दछ ।


चीन र नेपालका बीचको आवागमन भौगोलिक विकटताले सहज छैन । त्यसैले यो महामारीमा चीन सँग हाम्रो आवागमनले समस्या पैदा हुन अवस्था छैन । यद्यपि सीमा नाका पनि बन्द गरिएकोछ । भारत सँग नेपालको १८८०किलो मीटर खुल्ला सीमा जोडिएको छ । दुईटै देशका नागरिक एकअर्काको देशमा सजीलै आवतजावत गर्न सकने भएकोले समस्या आउने गरेका छन । तर दुईटै मुलुकले यो महामारीलाई नियन्त्रण गर्नकालागि विश्व स्वास्थ्य सङगठनको प्रोटोकललाई पालना गर्ने हो भने कुनै समस्या हुदैन । जो जहाँ छ त्यहाँ सुरक्षित रहने । एकअर्का मुलुकमा भएका नागरिकको हेरचाह,औषधी उपचार र खानपिनको व्यवस्था सम्बन्धित मुलुकले गर्नु पर्ने दायित्व पुरा गर्नु पर्ने हुन्छ ।


कोरोना भाईरसको संङक्रमित रोगिले करिब १५ मीनेट भित्र झण्डै ३२०० ब्यक्तिमा भाईरस सार्न सकने खतरा हुने भएकोले भारत र नेपालले लक डाउन गरी सीमा नाका बन्द गरेको छ ।त्यस्तो अवस्थामा मान्छेहरुको आवतजावतमा नियन्त्रण नगरी रोगमाथि नियन्त्रण गर्न सकिदैन । अर्थात भारत र नेपालले समान उद्देश्यकालागि नै लक डाउन गरेको छ । तर लक डाउन गरिसके पछि जानकारी नभएको हुनाले थुप्रै नेपाली सीमानाकामा आइपुगे । सुदुरपश्चिमका विभिन्न नाकामा मात्र १ लाख ४३ हजार ३ सय ४७ जना नेपाली आइ पुगेका थिए । तिनीहरुलाइ नेपाल प्रवेशको मौका दिइयो । बन्दीअवस्थामा डंडेल्धुरा जिल्लामा मात्र ६ हजार नेपाली भित्रीएका थिए । तिनीहरुलाइ जानकारी नभएको हुनाले तात्कालिन अवस्थामा मानवीय हिसाबले प्रवेश गराउनु न्यायोचित नै थियो । तर त्यससंगै रोग पनि भित्रीने गम्भीर जोखिम नेपालले उठायो । भारतका विभिन्न ठाउबाट आएका ९०० जना नेपालीहरु सुदुरपश्चिमका विभिन्न कोरन्टाइनमा राखिएका छन ,कतिपय सम्पर्कमा आउन मानेका छैनन । यद्यपि त्यस बेलासम्म भारतमा कोरोना भाईरसको समस्या यति बृद्दि भइसकेको थिएन ।

भारतले नेपालीहरुलाई नेपाल जान उत्प्रेरित गरि रहेकोछ । भारतमा लक डाउनको अवस्थामा नेपालका विभिन्न नाकामा यति ठूलो संख्यामा नेपालीहरु भारतका विभिन्न ठाउबाट आई पुग्नुलाइ सामान्यरुपमा लिन सकिदैन । अहिले पश्चिमको दार्चुला जिल्लासंग जोडिएको भारतीय नाकाबाट नेपालीहरु नेपाल आउन खोजेको तर नेपालले आउन नदिएकोमा त्यो घटना राष्ट्रिय चर्चाको विषय बनेको छ । यो विषयले धेरै ठूलो तर∙ पैदा गरेको छ ।सीमानाकामा आई पुगेका नेपालीहरुलाई नेपाल प्रवेश गर्न नदिएकोमा सामाजिक संजालमा सरकारको चौतर्फी विरोध भैरहेको छ । त्यो बिरोधलाई भारतीय संचारमाध्यमहरुले पनि उकसाई राखेका छन । आज मात्रै प्रकाशित भएका भारतीय पत्रपत्रीकाहरुले , “नेपाल ने मुह मोडा , डिएम ने खाना परोसा ” शिर्षकमा समाचार प्रकाशन गरेका छन । अर्थात नेपाल जिम्मेवारीबाट पन्छयो ।

तर भारतीय जिल्ला अधिकारीले नेपालीहरु खाना खुवायो भनेर भारतलाई उदार र नेपाललाई कुरुप रुपमा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ । के भारतीय अधिकारी र त्यहाँका पत्रपत्रिकाहरुलाई भारत र नेपालमा लक डाउन रहेको र दुईटै देशका सीमा नाकालाई रोग फैलीन नदीनका लागि बन्द गरिएको कुरा थाहा छैन ? रोगलाई फैलीन नदिनका लागि,“ जो जहाँ छ त्यहाँ सुरक्षित रहनु” भनेर भारतीय प्रधानमन्त्रीले लगातार जोड दिदै आएका छन । भारतीय प्रशासन को यो कार्य आफ्नै प्रधानमन्त्रीको प्रतिबद्धता विरुद्ध रहेको छ । भारतमा भएका नेपालीहरुको सुरक्षा,औषधि उपचार र खानाको व्यवस्थाको जिम्मा भारत सरकारको हुन्छ भने नेपालमा भएका भारतीयहरुको जिम्मा नेपालको हुन्छ ।
कैलालीको धनगढीमा ४० जना भारतीयहरुलाई सशस्त्र प्रहरीको कोरन्टाईनमा राखिएको छ । ति भारतीय मजदुरहरु सुदुरपश्चिमका विभिन्न पहाडी जिल्लामा कार्यरत थिए । भागेर भारत तर्फ जान खोज्दा नेपाल तर्फको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर भारत जान नदिएर कोरन्टाइनमा राखिएको छ । त्यसै गरी काठमाण्डौं लगाएतका विभिन्न ठाउँमा काम गर्ने ३५२ जना भारतीय मजदुर बिरगञ्ज नाका काटेर भारत जान खोज्दा नेपाल प्रहरीले नियन्त्रणमा लिएर विभिन्न कोरन्टाईनमा राख्ने प्रबन्ध मिलाएको छ । केहि समय अघाडी वीरगञजको मितेरी पुलमा झण्डै ५०० भारतीयहरु भारत जान खोजेका थिए । तर नेपाल सरकार तिनीहरुलाइ भारत जान रोक्यो र आआफना ठाउ फिर्ता पठायो । विपदको यो अवस्थामा नेपालले पनि भारतसंग त्यस प्रकारको ब्यवहारको अपेक्षा गर्दछ ।
तर विभिन्न ठाउँमा बसि रहेका नेपालीहरु लाई भारतमै रोक्नुको सट्टा नेपाल जान प्रेरित गरेर भारतले विश्व स्वास्थ्य सङगठनको प्रोटोकलकोे उल्लंघन गरेको छ । यस्तो संवेदनशिल घडीमा नेपाल आउन चाहने व्यक्तिहरुको पवित्र र सोझो भावनालाई नेपालका केही नेताहरुले समेत सरकारको विरोध गर्ने कलाबाजीको रुपमा प्रयोग गरेको देख्दा उनीहरु कोभिड १९ को महामारीको नियन्त्रणको लागि गम्भीर नभएको देखाउछ । दार्चुला घटना सम्बन्धमा सामाजिक संजालमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले, “आफ्ना नागरिक लैजान नसक्ने हुतिहारा सरकार ” भनेर लेखेका छन । त्यसै गरी पूर्व प्रधानमन्त्री शेर बहादुर देउबाले बिज्ञप्ति जारी गर्दै “भारतका विभिन्न ठाउँमा रहेका नेपाली महाकाली पारी सयौंको संख्यामा पुगेर दार्चुला प्रवेश गर्न चाहदा उत्पन्न जटिलताको ब्यवहारीक हल खोज्न म सरकारलाई आग्रह गर्दछु । ” भनेर सुझाब दिएका छन । विपदको घडीमा भावनात्मक प्रकारले सोचेर मौजुदा गम्भीर परिस्थितिको सामना गर्न सकिदैन । हामीले भावनात्मक प्रकारले सोचने हो भने न त लक डाउनके पालना हुन सकदछ । न त समाजीक दुरी कायम राख्न सकदछौं । न त भारत र चीनसंग नाकालाई बन्द गरेर मान्छेहरुको आवतजावतलाई नियन्त्रण गर्न सकदछौ ।

त्यसको अन्तिम परिणाम यो हुने छ कि , कोरोना भाईरस बाट देशले ठूलो क्षती ब्यहोर्नु पर्ने छ । इटाली भन्दा गम्भीर अवस्थाम देश पुग्नेछ ।
अहिलेको अवस्थामा आफ्न्त होस वा अरु कोही सबै सँग सामाजिक दुरी( Social distance) कायम गर्नु, जो जहाँ छ त्यही सुरक्षित साथ रहनु वा राख्नु लगायतका विश्व स्वास्थ्य सङगठनका उपाय र प्रोटोकललाई पालना गर्नु पर्दछ । त्यसो गरेर नै हामीले शुरुवाती अवस्थामा नै रोगको सङक्रमणलाई नियन्त्रण गर्न सक्दछौं ।

तपाईको प्रतिक्रिया दिनुहोस् !