वार्ताबाट किन भाग्दैछ भारत ?

298

शंकर सिंह धामी
कालापानी र सुस्ता क्षेत्रको विषयमा वार्तामार्फत समाधान निकाल्न नेपाल र भारत दशकौंअघि सहमत भएका थिए । यसका लागि दुई देशका अधिकारी सम्मिलित आयोग र समितिका संयन्त्रहरु पनि निर्माण गरिए । तर वर्षौसम्म ती संयन्त्रहरु निस्क्रिय भए । यसबीचमा सन् २०१५ मा भारतले लिपुलेक नाकाबारे चीनसंग सहमति गर्यो । नेपालले त्यसको विरोध गर्दा पनि सुनेन् । नेपालको विरोधबारे कुनै प्रतिक्रियासम्म भारतले दिएन ।
भारत आफैले विवादित भूमि भनेर स्वीकारेको नेपालको कालापानी क्षेत्रको भूभाग समेटेर गत नोभेम्बर २ मा नयाँ नक्सा जारी गर्यो । त्यसको एक हप्ता नवित्दै भारतको राजनीतिक नक्साको नवौं संस्करण प्रकासित भयो । नोभेम्बर २ मा प्रकासित नक्सा आठौं संस्करण थियो । एक हप्तामै अर्को संस्करण निकाल्नुपर्ने कारण के थियो ? त्यसको एउटै कारण थियो– आठौं संस्करणमा लिम्पियाधुराबाट बग्ने नदीलाई काली (महाकाली) उल्लेख गरिएको थियो, त्यसैलाई सच्याउन (काली रिभर लेखिएको हटाउन) मात्र नक्साको नवौं संस्करण निकालियो । दुबै संस्करणका नक्साहरु हेर्दा देखिने फरक यति हो । जबकी भारतले आफ्नो राजनीति नक्साको सातौं संस्करण सन् २०१४ र छैठौं संस्करण सन् २००० मा निकालेको थियो ।
भारतले प्रकासित गरेको नयाँ नक्साको नेपालले विरोध गरे पनि त्यसबारे कुनै सुनुवाई भएन । नेपालले पठाएको कुटनीतिक नोट (विरोध पत्र)लाई नदेखेको र नपढेको वा नबुझेको जस्तो गरियो । आफुले एकतर्फी रुपमा नयाँ नक्सा प्रकासित गरेको ६ महिना नवित्दै अतिक्रमित भूमि भएर बनाएको सडकको उद्घाटन पनि गरियो । सारा संसार कोरोनाको महामारीसंग जुधिरहेका बेला भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फसेन्समार्फत तावाघाट–लिपुलेक सडकको उद्घाटन गरे ।
सिमा विवादको एजेण्डा स्वीकार्ने, विवादित क्षेत्र भनेर स्वीकार्ने तर वार्ता नगर्ने प्रवृति भारतको नयाँ होइन । हालसम्मका सबैजसो प्रतिक्रिया र विज्ञप्तिमा भारतले ‘वार्ता गरौंला’ भन्ने शब्द चाँहि छुटाएको छैन । तर वार्ता गर्न र वार्तामार्फत समस्याको समाधान गर्न भारत कहिल्यै तत्पर भएन । भारतले वार्तामार्फत समस्या समाधान गर्न चाहेको भए यति लामो समयसम्म दुई देशबीचको मित्रतामा यो कलंक रहने थिएन ।
भारतका यी कदम र व्यवहार देखे, भोगेपछि नेपाल सरकार आफ्नो अडानलाई जीवन्त बनाउन बाध्य भयो र नक्सा जारी गर्यो । नक्सा जारीसंगै वार्तामार्फत यो समस्या समाधान गर्ने दृढता र भारतसंग वार्ताको आग्रहलाई नेपालले छोडेको छैन । दुई देशबीचको यो समस्या समाधानको विकल्प वार्ता मात्रै हो भन्ने वास्तविकतालाई नेपालले कहिल्यै पनि छोडेको छैन, भुलेको पनि छैन । अर्कोतर्फ भारतले पनि यो वास्तविकतालाई बुझेको छ तर वार्तामार्फत समस्या समाधान गर्न उ तयार छैन, इमान्दार छैन ।
तथ्य, प्रमाण, न्याय र नैतिक रुपमा आफु कमजोर बनेपछि भारतले नेपालको वार्ता प्रयासलाई नसुनेजस्तो गर्दैछ । ऐतिहासिक तथ्य, जलविज्ञानको आधार र आध्यात्मिक रुपमा समेत महाकालीको मुहान लिम्पियाधुरा हो भन्ने अन्तिम सत्यलाई भारतले पनि नबुझेको होइन । तर नेपाललाई सानो, कमजोर र निम्छरो ठान्ने भारत कालापानीको क्षेत्र वा महाकालीको मुहानबारे वार्ता गर्न तयार छैन ।
भाषण र वोलीमा नेपाली जनता र नेपाल भूमिप्रति नतमस्तक हुने मोदीजी कालापानी र सुस्ताबारे नेपालको अडानले किन बेहोस् भएका हुन् ? किन आफ्नो मित्रराष्ट्र र हितैसीसंग वार्ता गर्दैनन् ? नोभेम्बर २ को नक्सा जारीपछि नेपालले वार्ताका लागि गरेका औपचारिक र अनौपचारिक प्रस्तावलाई किन उपेक्षा गर्दैछन् ? के नेपालले तथ्य र प्रमाणका आधारमा महाकालीको मुहान निर्धारण गरौं भन्नु गल्ती हो ? नेपालले न्याय र समानताको कुरा गर्नु अपराध हो ? आफ्नो अतिक्रमित भूमि हडपिरहेको भारतले नयाँ नक्सा र सडक उद्घाटनबाट सदाका लागि निल्नखोज्दा त्यसबारे आवाज उठाउनु नेपालको गल्ती हो ? वार्ता गरौं, वार्तामा आफ्ना तथ्य प्रमाण प्रस्तुत गरौं, छलफल गरौं र सहमतिबाट समाधान गरौं भनेर नेपालले गल्ती गरिरहेको छ ?
यो पृष्ठभूमिमा भारतका सञ्चारमाध्यमहरु र केही भारतीय नागरिक नेपाल चीनको इशारामा चलिरहेको कुप्रचार गरिरहेका छन् । यसबाट भारतको नेपालप्रतिको नियत प्रष्ट हुन्छ । भारत नेपाललाई असल छिमेकी होइन, दास बनाउन चाहन्छ । नेपालसंग मित्रता होइन दासता वा भिखारीको सम्बन्ध चाहन्छ भन्ने स्पष्ट हुन्छ । रोटीबेटी, राम–जानकी, हिमालय–गंगा आदि भनेर सम्बन्धको जुनसुकै उपमा दिए पनि भारतको सोच र व्यवहारमा छुद्रता देखिन्छ । भाषण र सम्बोधनमा नेपाल र नेपालीप्रति जतिसुकै सम्मानित शब्द प्रयोग गरिए पनि हामीप्रति भारतीय शासन व्यवस्थाको नियत ठिक छैन ।
नेपाल चीनको इशारामा यस्ता कदम उठाइरहेको छ भन्ने भ्रम फैलाउन खोजिएको छ । पछिल्लो समय भारतीय मिडियामा गुञ्जिरहेको ‘चीन कि चाल’ वा ‘चीनके गोद मे नेपाल’ जस्ता प्रोपोगण्डाहरु छाइरहनुको कारण यही हो । एकातिर नेपाललाई दबाव दिइरहने र अर्कोतर्फ नेपालप्रति सद्भाव र मित्रता चाहने भारतीय जनतामा भ्रम छर्ने उद्देश्य यसमा निहित छ ।
नेपालले भारतको अहित गर्ने कुनै काम गरेको छ भने भन्नुपर्छ । वार्ताको टेबुलमा यसको फेहरिस्त पस्केर नेपाल सरकारबाट उत्तर माग्नुपर्छ । के भारत वार्तामार्फत नेपाललाई आफ्नो कुरा राख्न सक्दैन ? चीनको इशारामा नेपालले के के गलत काम गरेको छ ? कुन कुन भारतविरोधी कदम चालेको छ ? यसबारे नेपालमा मात्र होइन भारतीय जनतालाई पनि भारत सरकारले जानकारी गराउनुपर्छ । होइन भने चीनको इशारा देखाउदै नेपालको न्यायोचित मागलाई दबाउन चाहने भारतको प्रयत्न छर्लङ्ग हुन्छ र भइरहेको छ ।
भारतसंग प्रश्न गर्छु– भूअतिक्रमण गर्ने को हो ? नक्कली महाकालीको मुहान सिर्जना गर्ने को हो ? छिमेकीको भूमिमा सैनिक क्याम्प राख्ने को हो ? जनतालाई प्रलोभनमा पारी राष्ट्रियता बदल्ने को हो ? अतिक्रमित भूमिमा सडक बनाउने को हो ? अतिक्रमित भूमि भएर अन्तर्राष्ट्रिय व्यापार र मानसरोवर यात्रा गराउने को हो ? चीनसंग लिपुलेक सम्झौता गर्ने को हो ? अतिक्रमित भूमिमा अर्को देशको प्राविधिक टोलीलाई पुग्न नदिने, रोक्ने, छेक्ने को हो ? दुइ देशको विवादित क्षेत्र मान्ने तर एकतर्फी सैनिक र निर्माणका गतिविधि गर्ने को हो ? इपिजीको प्रतिवेदन दुइ वर्षसम्म नबुझ्ने को हो ?
समस्या समाधानका लागि वार्ता गर्न सहमत हुने तर वार्तामा नबस्ने को हो ? अतिक्रमित क्षेत्रको भूगोल समेटर पहिले नक्सा जारी गर्ने को हो ? नक्सा जारी गरेपछि पनि वार्तामा नबस्ने को हो ? अर्को पक्षको विरोध र असहमतिका बीच लकडाउनको समयमा सडक उद्घाटन गर्ने को हो ?
चीन कि चाल किन भन्दैछ भारत ? मोदीको मौन तपस्या चलिरहेको छ । राजनाथले मुख खोले । आदित्यनाथले धम्की दिए । नेपाललाई किन धम्की दिनुपर्यो ? सबैकुरा वार्ताको टेबुलमा राखे हुदैन ?
नेपालले गल्ती गरेको छ भने वार्ताको टेबुलमा भन्न सकिदैन ? चीनको चालमा नेपाल चलेको प्रमाण भए पेश गर्नु पर्दैन ? मिडिया आक्रमण गराउने को हो ? नेपालले सिमाक्षेत्रमा सुरक्षा पोष्ट थप्दा कुप्रचार गर्ने को हो ? केही घण्टा अघिसम्म निश्चित भइसकेको टेलिफोन सम्पर्क नगर्ने को हो ?
नेपाल आफ्नो राष्ट्रिय हित र न्यायोचित विषयमा आफ्ना भनाई राख्न स्वतन्त्र र सक्षम छ । आफ्नो सिमा सुरक्षा र राष्ट्रिय हितका लागि चीन वा अन्य कसैको भर पर्दैन नेपाल । कालापानी क्षेत्रको मुद्दा अहिलेको होइन । दशकौंदेखिको यो विषयमा नेपालले राख्दैआएको अडान चीनको आडमा हुदैहोइन । यो दुस्प्रचार गर्ने भारतीय मिडियाले भारतीय जनतामा भ्रम मात्रै छरिरहेको छैन, असत्यको प्रचार गरी अपराध पनि गरिरहेको छ । मोदी चुपचाप छन्, राजनाथ सिंहले देहरादूनको भिडियो सम्वादमा मिठा र चिल्ला कुरा बोलेका छन् । आदित्यनाथले अस्वाभाविक र नेपालीलाई अपाच्य शब्दहरु बोलेका छन् । यो पृष्ठभूमिमा ३ करोड नेपालीले बुझ्ने एउटै सन्देश हो– भारतले नेपाललाई दास मनोवृतिले हेर्छ, दास प्रवृतिले व्यवहार गर्छ र भारतीय मिडियाले मोदीको इशारामा नेपालबारे भ्रम छरिरहेको छ । मोदीलाई नेपालसंग तत्काल वार्ता गरी समस्या समाधान गर्ने सदवुद्धि प्राप्त होस् । हर हर महादेव !

तपाईको प्रतिक्रिया दिनुहोस् !